राजु लामा : मंगोलियन हर्टका स्पन्दन

त्यो एक जमाना थियो अडियो क्यासेटको । समय थियो, सांगीतिक ब्यान्डको । चर्चा थियो, मंगोलियन हार्टको । र, ‘डिमान्ड’ थियो राजु लामाको ।

संक्षेपमा जमाना यस्तो थियो– शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक प्रतिको मूल्य ४० देखि ८० रुपैयाँसम्म । ‘हिट’ गीतको क्यासेटलाई ८० पर्‍थ्यो । ठीकठीकैको क्यासेट ४० मै पाइन्थ्यो ।

क्यासेट प्लेयर (टेपरेकर्ड)मा राखेर एउटै क्यासेट फर्काई–फर्काई, दोहोर्‍याई-तेहर्‍याई सुन्ने गरिन्थ्यो । घर–घरमा क्यासेट जतनका साथ सजाइन्थ्यो, एकमाथि अर्को खापेर । रेडियोमा कान थापेर बस्नुपर्ने बाध्यतालाई क्यासेट प्लेयरले किनारा लगाउँदै थियो । पारखीले आफ्नो मर्जी अनुसार ‘जहाँ पनि, जुनसुकै बेला’ गीत सुन्न सक्थे ।

हाटबजार, मेलापात, बिहे–भोजमा माइक घन्काइन्थ्यो । ग्रामफोनपछि रेडियो र त्यसपछि नयाँ ध्वनि–तरंगले एक अलग साम्राज्य बनाउँदै थियो ।

पप संगीतको बजार उत्कर्षमा पुगेको त्यो बखत बैंसालुवयका दौंतरीहरू ‘सांगीतिक ब्यान्ड’मार्फत आफ्नो चिनारी खोज्दै थिए । ‘नेपथ्य’, ‘कन्दरा’, ‘ब्रोसिस’, ‘द एक्स’, ‘१९७४ एडी’, ‘द अग्लिज’, ‘कबवेब’, ‘आस्था’ जस्ता ब्यान्डहरूको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिइरहेका थिए । नेपाली लोकलय र पश्चिमा पप मिश्रित संगीतको बेजोड गुरुत्वबलले पारखीहरूको मन तानिरहेको थियो ।

यही पृष्ठभूमिमा सेलो फ्लेबरको पप गीतले आफ्नो बेग्लै वर्चस्व बनाउँदै थियो–

 ‘उँभो उँभो खास्सा म जाँदा, तातोपानी बजारमा बसेथें

तातोपानी बजार घुम्दै जाँदा, शेर्पेनी कान्छीलाई भेटेथें

शेर्पेनी कान्छी क्या राम्री, बान्की परेकी

लास्सो …।’

दृश्यमा जे देखिन्छ

एउटा सांगीतिक समूह देखापर्छ, मंगोलियन हर्ट– ‘नतानु त तानु लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘ओइ नाना’ गाउँदै । कहीं रोमाञ्चकता त कहीं प्रेम–विरहको भाकाले युवा–मनलाई झट्टै स्पर्श गर्छ । क्यासेट बजारको लस्करमा थपिन्छ, ‘मंगोलियन हर्ट भोल्युम–१, २, ३, ४, ५, ६ अनि ७ ।’

त्यसताका नेपाल टेलिभिजनबाट एकाध सांगीतिक कार्यक्रम प्रसारण हुन्छ । राजु लामाहरू त्यहीं झल्याक–झुलुक देखिन्छन् । यी गायकलाई आफ्नै घर–आँगनमा प्रत्यक्ष हेर्न/सुन्न उत्सुक छन्, असंख्य  युवा–प्रशंसक । यससँगै शुरू हुन्छ ‘मंगोलियन हर्ट’को स्टेज यात्रा ।

स्टेज अघिल्तिर उभिएर स्वरमा स्वर मिलाउनेहरूदेखि अटोग्राफ लिन आतुर प्रशंसकहरूको घेरा बाक्लिंदै जान्छ । म्युजिक अवार्ड उचाल्ने उपक्रम अरू तीव्र हुन्छ ।

अनि युग शुरु हुन्छ, मंगोलियन हर्टको ।

जो नेपथ्यमा थिए

स्कूल पढ्ने उमेरका जोशिला सहपाठीहरू छन्, गाना–बजानामा रुचि राख्ने । शुक्रबार विद्यालयमा पढाइ बाहेक अतिरिक्त क्रियाकलाप हुन्छ । कहिले अभिभावक दिवस, कहिले विद्यालयको वार्षिकोत्सव । यस्तो मौका उनीहरू हम्मेसी छुटाउँदैनथे । गिटार बजाउँछन्, स्वर खिपेर भाका हाल्छन् ।

कक्षा ८ को कुरा हो । कोही बौद्ध बस्छन्, कोही सामाखुसी । संगीतको लयले भने उनीहरूलाई एकै लहरमा उभ्याइदिन्छ ।

चाडपर्वमा भेला भएर रमझम गर्छन् । तिहार आउँछ । देउसी–भैलोको माहोल शुरू हुन्छ । देउसी भैलोमा गाउनकै लागि उनीहरूले एउटा समूह बनाउँछन् । सांगीतिक समूहको नाम जुराउँछन्– मंगोलियन हर्ट ।

यसमा सम्मिलित हुन्छन्, राजु लामासहितका आधा दर्जन सहपाठी । चन्द्र गुरुङ, वसन्त गुरुङ, राजकुमार थापा, देव गुरुङ । सामाखुसीमा बस्ने चन्द्र गुरुङका दाइ र भेना गितारका उस्ताज । उनीहरूले सिकाउँछन्, चन्द्रलाई गितार बजाउन । चन्द्रले राजुलाई । अनि उनले अरूलाई ।

सानो लस्कर लेकको साँघुरो बाटो, उकाली, ओराली, खोल्सा हुँदै, ठाउँ–ठाउँमा थकाइ मार्दै, खाजा–पानी खाँदै अगाडि बढ्छ । झमक्क साँझ परेपछि एक ठाउँमा रात कटाउने सुरसार हुन्छ । तब पो सम्झन्छन् राजु आफ्नो गाउँ । आफ्नो घर । आफ्नी आमा । ‘आमा के गर्दै होलिन्’ सम्झेर राजुलाई रुन मन लाग्छ
देउसी खेलेर पैसा जोहो गर्छन्, लगभग १८ हजार रुपैयाँ । उनीहरू गीत रेकर्ड गराउन तम्सन्छन् । एउटा गीतले पुग्दैन, ६ वा आठ वटा चाहिने भयो । कोही गीत लेख्छन्, कोही धुन खोज्छन् । छाउनीस्थित स्टुडियोमा गीत रेकर्ड हुन्छ । एल्बम तयार हुन्छ, ‘सोल्टिनी’ ।

तर, ‘सोल्टिनी’ले खास तरंग पैदा गर्न सक्दैन । फगत पूरा हुन्छ, ‘एल्बम निकाल्ने’ रहर ।

यद्यपि उनीहरूको सांगीतिक यात्राको लय टुट्दैन । ब्यान्ड प्रतिस्पर्धामा भाग लिन्छन् । स्टेजमा उक्लिन्छन् । मेला, उत्सवमा पुग्छन् । यस्तैमा एक ब्यान्ड प्रतिस्पर्धाको उपाधि जितेपछि उनीहरूको लागि म्युजिक नेपालको ढोका खुल्छ ।

म्युजिक नेपालले जिम्मा लिन्छ, रेकर्डिङ गरिदिने, क्यासेट निकाल्ने, बजारमा पुर्‍याउने, प्रचारप्रसार गर्ने । आफैंले तयार गरेको र अन्यबाट लिइएको ९ वटा गीत रेकर्ड हुन्छ । एल्बम निस्कन्छ, ‘मंगोलियन हर्ट’ । यतिबेला सरस्वती दाहिना हुन्छिन् । जताततै गीत घन्कन्छ । बजारमा क्यासेटको माग बढ्छ ।

मंगोलियन हर्टलाई सुनेर पारखीको धीत मर्दैन । अन्ततः मंगोलियन हर्ट भोल्युम–२, ३ हुँदै ७ सम्म बजारमा आउँछ । सर्वत्र छाउँछ । ब्यान्डले क्यासेट बिक्री भए अनुसार रोयल्टी प्राप्त गर्छ । प्रति क्यासेट, दुई रुपैयाँ । १० हजार प्रति क्यासेटपछि क्रमशः रोयल्टीको मूल्य बढ्दै जान्छ । मंगोलियन हर्ट चार/पाँच लाखप्रति बिक्री हुन्छ ।

लोकप्रियताको यो ग्राफ अनवरत उकालो लाग्छ । त्यसपछि मंगोलियन हर्टले पछाडि फर्केर हेर्नुपर्दैन ।

पछाडि फर्केर हेर्दा

मंगोलियन हर्टमा स्पन्दन भर्ने पात्र हुन्, राजु लामा । बाटुलो मुहार, सिल्की कपाल, गोरो वर्ण । हँसिलो स्वभाव । हाँस्दा सेता दाँतका लहर खुल्छन् र गालामा खोबिल्टा पर्छ । मृदुल, मिजासिला अनि मग्न– अर्थात् राजु लामा ।

गायक बन्नुअघि उनी के थिए ?

एउटा साधारण बालक । लेकबाट शहर ओर्लेको एक निर्दोष मन । साँगाको गल्छीबाट उपत्यका प्रवेश गरिरहँदा उनको आँखामा रंगीन सपना थिएन । त्यसबेला उनी पाँच वर्षका बालक थिए । सिन्धुपाल्चोकको एकलासे लेकमा जन्मे, हुर्केका ।

सिन्धुपाल्चोकस्थित सुनचौर उनको पुर्ख्यौली थलो । परिवारमा ९ जना लालाबाला । सात दिदीबहिनी । एक भाइ । जेठो छोरा राजु । निम्न मध्यमवर्गीय परिवार । दुःखजिलो गरेर छाक टार्न पुग्ने । सबैजना खेतीकिसानी गर्ने ।

गाउँमा मोटर बाटो पुगेको थिएन । गाडी चढ्न घन्टौं हिंड्नुपर्‍थ्यो । काठमाडौंसम्म आइपुग्न दुई दिन लाग्थ्यो, त्यसबेला । घरपायक विद्यालय थिएन । लेकका बालबालिकालाई पढ्न र लेख्नै मुश्किल ।

उनकी दिदीको विवाह काठमाडौंको बौद्धमा भयो । बुवाले राजुलाई दिदीसँगै राखेर पढाउने चाहना राखे । काठमाडौं जाने कुराले राजु फुरुंग भए । रंगीचंगी शहर, मोटर गाडी देख्ने उत्सुकताले उनलाई कताकता काउकुती लगाउँछ । उनी यसै मख्ख पर्छन् ।

अन्ततः बुवाको काँधमा चढेर उनी घर छाड्छन् । आमा छाड्छन् ।

त्यसबखत काठमाडौं जाने भनेपछि गाउँ–छिमेकका मान्छेहरू हूल बाँधेर हिंड्नुपर्ने । एक्लै–दुक्लै नहिंड्ने । गाउँभरका १०–१५ जना काठमाडौंतर्फ लाग्छन् । बुवाको काँधमा चढेर राजु पनि सो टोलीमा सम्मिलित भए । त्यो सानो लस्कर लेकको साँघुरो बाटो, उकाली, ओराली, खोल्सा हुँदै, ठाउँ–ठाउँमा थकाइ मार्दै, खाजा–पानी खाँदै अगाडि बढ्छ । झमक्क साँझ परेपछि एक ठाउँमा रात कटाउने सुरसार हुन्छ । तब पो सम्झन्छन् राजु आफ्नो गाउँ । आफ्नो घर । आफ्नी आमा । ‘आमा के गर्दै होलिन्’ सम्झेर राजुलाई रुन मन लाग्छ । रात पर्छ । खानपान गरेर सबै सुत्छन् । भोलिपल्ट धर्तीमा उज्यालो खस्न नपाउँदै फेरि यात्रा शुरु हुन्छ । उसैगरी ।

 अर्को दिनको हिंडाइपछि बल्ल घाटखोला भेटिन्छ, जहाँबाट गाडी चढ्न पाइन्थ्यो । सबैजना गाडी चढ्छन् । पहिलोपटक गाडीमा बस्दा, अझ झ्यालतर्फ बस्दा राजु दंग पर्छन् । झ्यालबाट देखिने दृश्यहरूमा एकोहोरिन्छन् । बाहिर देखिएका रूखहरू विस्तारै पछाडितर्फ दौडिन थाल्छन्, खोला, बाटो क्रमशः पछाडि छाडिन्छ ।

अनि देखापर्छ समतल शहर । खचाखच घरहरू, मान्छे नै मान्छे, यत्रतत्र गाडीहरू । हो–हल्ला, भीडभाड ।

‘पहिलो पटक काठमाडौं देख्दाको धमिलो स्मृति बाँकी छ,’ राजु सम्झन्छन्, ‘त्यो पुरानो बसपार्क, अनि बौद्ध । त्यो बेला सबै कुरा मेरो लागि अनौठो थियो ।’

राजुलाई बौद्धस्थित दिदीको घरमा छाडेर बुवा गाउँ फर्कन्छन् । शहरको रमझममा हेलमेल हुन राजुलाई सहज थिएन । गाउँमा उनले बोल्ने भाषा यहाँ धेरैले बुझ्दैनथे । अरूको कुरा उनले सजिलै नबुझ्ने । ‘मलाई त्यसबेला तामाङ भाषा मात्र बोल्न आउने, पर्वते भाषा बोल्न नसक्ने’ राजु सुनाउँछन्, ‘मेरो फुपूका छोराहरू दौंतरी थिए, उनीहरूसँग खेल्दा–बस्दा बोल्न सिकियो ।’

बौद्ध आसपास खुला ठाउँ थियो, टाढा टाढासम्म खेतका फाँटहरू देखिने । त्यहीं टोलभरका केटाकेटी भेला हुने, उन्मुक्त भएर खेल्ने । लेकको घरमा जस्तो यहाँ दुःख थिएन । स्वाद फेरेर खान र सुकिलो लगाउन पुग्ने । तर, सम्पूर्ण रूपमा पुगिसरी पनि थिएन ।

प्राथमिक तहको विद्यालय थियो, बौद्ध बोर्डिङ । राजुलाई त्यहीं भर्ना गरियो । बौद्ध आसपासका धेरै विद्यार्थी त्यहीं पढ्थे । राजु विस्तारै घुलमिल हुन, पढ्न थाले ।

‘जाडो महीनामा मात्र छुट्टी हुन्थ्यो’ राजु सम्झन्छन्, ‘त्यसबेला घर जान पाइन्थ्यो । ढुक्कले एक/दुई महीना घर बसिन्थ्यो ।’ घर छाडेर काठमाडौं फर्कन भने एकदमै नरमाइलो हुन्थ्यो । काठमाडौं आएपछि उनलाई घरको, आमाको औधी याद आउँथ्यो । घर फर्कौं–फर्कौं लाग्थ्यो । शहरको रमझममा पनि मन न्यास्रो हुने ।

तर, रहँदा बस्दा उनी त्यही परिवेशमा रमाउन थाल्छन् । साथीहरू थपिंदै जान्छन् । विद्यालयमै रमझम हुन्छ । कोही नाच्छन्, कोही गाउँछन्, कोही ख्यालठट्टा गर्छन् । राजु गाउने–बजाउने कित्तामा लाग्छन् ।

‘गायक हुन्छु वा संगीतमा लाग्छु भन्ने कुनै योजना र उद्देश्य थिएन’ राजु सुनाउँछन्, ‘रहरै रहरमा यता लागियो ।’

बाल्यकालमा कसैले सोधेनन्, ‘के बन्छौ ?’ उनले कहिल्यै सोचेनन्, ‘म के बन्छु ?’ तर, जीवनले आफैं सुर–ताल पक्रियो । लय र धुन समात्यो । अनि पो उनी गायक भए ।

****

जतिबेला गीति क्यासेटको युग थियो, त्यतिबेला राजु लामा थिए । त्यसपछि संगीतको ट्रेन्ड र बजार फेरिंदै गयो । सीडी प्लेयर हुँदै औंलाभरको डिभाइसमा समेटिएको संगीत बजार एउटा तूफानी परिवर्तनबाट गुज्रियो । यो उतार–चढावले थुप्रै गायक–स्रष्टालाई गुमनाम बनाइदियो ।

राजु लामा अनि मंगोलियन हर्ट पनि त्यसबाट अपवाद रहेन ।

क्यासेट युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगोलियन हर्ट अहिले फेरि तंग्रिएको छ । बोवी लामा, विनय महर्जन, सन्तोष थापा, बाबुराजा महर्जन, किरण नगरकोटी, पवन कपालीहरूले यसको स्पन्दन भरिरहेका छन् । र, उही र उस्तै गरी राजु लामा स्पटलाइटमा चम्कँदैछन् ।

हिमालयन टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’बाट उनले आफूलाई नवीकरण गरेका छन् । गीत रेकर्डिङ र कन्सर्टले गति लिएको छ ।

यससँगै राजुको आफ्नो छुट्टै पारिवारिक संसारमा पनि रमाइरहेका छन् । अमेरिकामा उनकी जीवनसाथी र सानी छोरी छिन् । राजु कहिले काठमाडौं त कहिले अमेरिकामा ओहोर–दोहोर गरिरहन्छन् । मूड चल्दा घुम्न निस्कन्छन् । घुम्नु उनको सोख हो ।

बेपर्वाह, निस्फिक्री पैदल यात्रा गर्दै कहिले हिमाली टाकुराको नजिक पुग्छन्, कहिले भिरालो गल्छीहरूमा । यो अविच्छिन्न यात्रा जारी छ, उनको गायकी जस्तै ।