कम्युनिस्ट पार्टी र अनुशासनको प्रश्न

कम्युनिस्ट अनुशासन पार्टीको गहना हो ।

कम्युनिस्ट पार्टी र अनुशासनको प्रश्न

भौतिक जगत् सञ्चालनको आफ्नै नियम हुन्छ । त्यो जथाभाबी चल्दैन । त्यसैगरी प्राणी जगत्को पनि जीवन निर्वाह गर्ने आफ्नै नियम छ । प्राकृतिक रूपमा नै तिनीहरू निश्चित नियम र शैलीमा ढलेका हुन्छन् । समाजको गतिसँगै अझै गतिशील परिवर्तनशीलका साथै रूपान्तरण हुँदै विकास र विनास हुने गर्छ । हामी आज दलाल संसदीय व्यवस्थामा आउँदा दासयुग, सामन्ती युग, पुँजीवादी युग पार गरेर आजको साम्राज्यवाद र समाजवादी क्रान्तिको युगसम्म आइपुगेका छौँ । समाज वर्गीय छ । सर्वहारा वर्गको दर्शनले समाजवाद, विकृत पुँजीवादका विरुद्ध लड्यो । त्यसले वैज्ञानिक समाजवादी अनुशासनको पक्षपोषण गर्छ । अनुशासन, नैतिकता, अत्याचारजस्ता विषय दार्शनिक र सैद्धान्तिक भए पनि यसले व्यवहारद्वारा आफ्नो वस्तुगतताको प्रमाणीकरणको माग गर्छ । त्यसैले कम्युनिस्ट अनुशासन पार्टीको गहना हो ।

कम्युनिस्ट हुनु भनेको जनताको सेवा गर्ने उद्देश्यले अध्ययनशील, गतिशील, क्रियाशील, लगनशील, दृढसङ्कल्प, आँखाको नानी बन्नु, दुस्मनका सामु आँखाको कसिङ्कर हुनु नै हो । कतिपय बुर्जुवाहरूले कम्युनिस्ट कार्यकर्ताको प्रशंसा गरेको उदाहरण पाइन्छ । भारतका दिवंगत प्रधानमन्त्री जवाहरलाल नेहरू भारतीय राष्ट्रिय काङ्ग्रेसका कार्यकर्तालाई कम्युनिस्ट अनुशासन पालन गर्न आफ्ना कार्यकर्तालाई प्रेरित गर्दथे । फलामे अनुशासन नभएको कम्युनिस्ट मणिहीन नागजस्तै अर्थहीन र असुन्दर हुन्छ । त्यस विषयमा यहाँ सानो चर्चा गरिनेछ । विश्वका कम्युनिस्ट पार्टीहरूले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई आजसम्म सङ्गठन सञ्चालनको आधारस्तम्भ मान्दै आएका छन् जसअनुसार सम्पूर्ण सदस्य आफ्नो समितिप्रति, सम्पूर्ण समिति महाधिवेशनप्रति, तल्लो समिति माथिल्लो समितिप्रति, अल्पमत बहुमतप्रति र महाधिवेशन जनताप्रति जबाफदेही हुन्छन् । यसमा सामूहिक निर्णय र व्यक्तिगत जबाफदेही अथवा पहलकदमी त्यसको मर्म रहन्छ । सर्वहारा वर्ग, देशहित, जनताको सेवाभावसँग जोडिएका मुद्दा नै कम्युनिस्ट आचरणसँग जोडिएको हुन्छ । कम्युनिस्ट अनुशासनको चर्चा गर्दा नीति, कार्यक्रम र सूचनाको गोपनीयता संवेदनशील विषय हो । कम्युनिस्ट पार्टीको सूचना प्राप्त गर्न प्रतिक्रियावादीहरूले सम्पूर्ण तारतम्य मिलाउँछन् । सङ्गठनात्मक, सामरिक, सैन्य, प्रशासनिकजस्ता भित्री कुरा चोर्न सबै हथकण्डा प्रयोग गर्छन् । संवेदनशील सूचना सार्वजनिक भएमा वा दुस्मनसमक्ष पुगेमा पार्टीका सबै तह, योजना र क्षेत्रमा क्षति पुग्छ । त्यसैले गोपनीयता कम्युनिस्ट अनुशासनको महत्वपूर्ण अङ्ग हो । होटेल, यात्रा, गफगाफ, भेटघाट, ठट्टाको अवस्थामा गम्भीरताको अभाव वा विश्वास लागेको व्यक्तिसँग गुनासो वा असन्तुष्टिका रूपमा अनावश्यक रूपमा विषयहरू ओकल्दा पनि सूचना र योजना चुहिने गरेका छन् । “एक कान, दुई कान, मैदान” भनेझँै भएको पत्तै हुँदैन । 

अर्काेतिर फोन, मेल,सामाजिक सञ्जाल सत्ताको नियन्त्रणमा हुन्छ । पार्टीको सम्पूर्ण चित्र हेरेर, ढुकेर दुस्मन बसिरहेको छ । यी सबै पक्षमा हाम्रो ध्यान पुग्नुपर्छ । जनयुद्धको समयमा फलामे अनुशासन थियो । पार्टी गोपयीनताका लागि कार्यकर्ताले ज्यान अर्पण गरे तर झुकेनन् । अनुशासनहीनता, पछाडि कुरा काट्नु, अराजकता, असम्बन्धित उठबस, ढाप मार्ने प्रवृत्ति, चुच्चे टोपी र खेदो खन्ने शैली सबै पुँजीवादी चिन्तन र प्रभावका अभिव्यक्ति हुन् । यस्ता व्यवहारमा ती प्रकट हुन्छन् । त्यसैले त ‘संशोधनवाद बाजा बजाएर आउँदैन’ भनिन्छ । जनयुद्धकालमा कतिपयले आत्मसमर्पण गरेर दुस्मनलाई सूचना दिँदा, अनुशासनमा नबस्दा सम्बन्धित व्यक्ति र पार्टीलाई ठूलो क्षति भएको अनुभव हामीसँग छ । तसर्थ यी विषयमा आवेग र आग्रह–पूर्वाग्रह होइन, क्रान्तिको तयारीकै अर्थमा प्रशिक्षण अभियान चलाउन आवश्यक छ । प्रतिक्रियावादी सत्तासँग आर्थिक, प्राविधिक र सैनिक श्रेष्ठता रहन्छ तर पनि जनता, मजदुर, किसान र साना देशसँग पराजित हुँदै आएका छन् । अकण्टक, अजर, अमर ठानिएको जार रुसी मैलाधैला मजदुरसँग हा¥यो । चिनियाँ किसान र विदेशमा बसेर नपढेका, बेइजिङमा प्राध्यापन नगरेका, पछौटे आरोप लगाइएका माओत्सेतुङको नेतृत्वसमक्ष जापान हा¥यो । भियतनामका जङ्गली भनी हेलाहोचो गरिएका भियतनामी जनतासामु अमेरिकी फौज र प्रविधि धुलो चाट्न बाध्य भयो । यस्तो विस्मयकारी परिघटना कसरी सम्भव भयो त ? त्यसका धेरै कारण होलान् त्यसमध्ये पार्टी र कार्यकर्ताको फलामे अनुशासन एउटा मुख्य कारण हो । बेपत्ता, मृत्यु, जेल, कालकोठरी, यातना, अनेक बलिदान पार गरेर, त्यसमाथि विजय हासिल गरेर मात्र त्यो विजय प्राप्त भएको हुन्छ । त्यो आत्मअनुशासन मात्र नभएर बलिदानको विषय हो जसबाट प्रतिक्रियावादीहरूले आफ्नो नैतिक बल गुमाउने गर्छन् । चीनमा गोपनीयता रक्षा गर्दा ‘बेइजिङ अपेरा’ की नायिका ल्यु हुलानले १४ वर्षको उमेरमा सहादत प्राप्त गरेको उच्च आदर्शका प्रस्तुतिहरू पढ्न सकिन्छ । ती साहित्य चिनियाँ आन्दोलनको वस्तुगत यथार्थका प्रतिबिम्ब थिए । ती कोरा कल्पना मात्र थिएनन् । यस्तै घटना कोरिया, भियतनाम, रुस जताततै थिए । यसको अनुकरण गर्न आवश्यक छ । हामी कम्युनिस्टहरू उच्च आदर्शका साथ चरित्रवान् समाजका कुशल व्यक्ति, परिश्रमी, सरसङ्गत, आनीबानी र व्यवहार अनुकरणीय देख्न सकिने अपेक्षा गरिन्छ । उसले समाजलाई सङ्घर्ष र विचारमा मात्र होइन, व्यवहारमा, संस्कार, संस्कृति र आचरणमा पनि समाजभन्दा एक कदम अगाडि बढेर नेतृत्व गर्नुपर्छ । हामी निडर र आक्रामक हुन सक्छौँ । हामी प्रतिरोधको राजनीति गर्दैनौँ । हामी वर्गशत्रुप्रति नझुक्नुलाई अनुशासनकै रूपमा ग्रहण गर्दछौँ । हामी सरल जीवन, उच्च विचारको अनुसरण गर्दछौँ । महिला, दलित, गरिब र निमुखाप्रति हिंसात्मक व्यवहार गर्दैनौँ । असहिष्णु र अनैतिक कर्म गर्दैनौँ । यो व्यवहारको विषय मात्र नभएर वैचारिक विषय हो । किनकि खराब आचरण र व्यवहार खराब चिन्तनकै परिणाम हुन् । खराब आचरण र व्यवहारका विरुद्ध आआफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्छ । दब्बुपन, पिछलग्गुपन, निरीहता, स्वाभिमानको अभाव, स्वार्थकेन्द्रित सोचाइ कम्युनिस्ट आदर्शका प्रतिकूल विषय हुन् । पहिले आवेदन भर्दा रगत निकालेर त्यसले औँठाछाप लगाउनुपथ्र्याे । आज त्यसको स्थान पैसा र प्रलोभनले लिन खोज्दैछ । कसरी राम्रो पार्टी बन्छ त ? कम्युनिस्ट दर्शन जन्मिनेबित्तिकै बूढो युरोपका पोप, पादरी र बौद्धिक महारथीहरूलाई भूतले झैँ तर्साएको थियो । एसियाली कम्युनिस्टलाई अमेरिकी गठबन्धनले जङ्गली जनावरझैँ गरेका थिए । नानाथरी रूपले बदनाम गर्ने प्रयत्न गरेका थिए । तर इमानदार र जनसेवक भएर, सर्वहारा अनुशासन पालन गरेर उनीहरूले यसलाई पराजित गरे । आज समस्या र सीमाहरूका बीचमा कम्युनिस्ट नै श्रमजीवी जनताका बीचमा सबैभन्दा बढी स्थापित छन् । अनुशासनहीन भएको भए त्यो गौरव हामीलाई प्राप्त हुने थिएन । त्यसैले यो सामान्य विषय होइन । क्रान्तिकारी विचार प्रवाह गर्नु, जनमत निर्माण गर्नु, जनसेवा गर्नु उसको कर्तव्य हो । विचारबाट पतन हुनु आफैँमा अनुशासनहीन काम हो । 

आफ्ना विचार, भावना रअनुसन्धानहरू पार्टी समितिमा प्रस्टसँग राख्नुपर्छ । सन्ध्याभाषा, द्विअर्थी भनाइ, अलमल कम्युनिस्ट अनुशासनलाई फितलो पार्ने विषय हुन् । असम्बन्धित समिति, पार्टीबाहिर र तल्ला समितिमा फरक मत भए पनि नराख्ने प्रचलन छ । तर त्यहीँनेर फितलोपन देखिनु अनुशासन नमान्नु वा नबस्नु हो । आफ्ना मतहरू तल होइन, माथि लग्नुपर्छ । मतहरू राख्न सक्ने वातावरण पार्टीमा बनाइनुपर्छ । हामी वर्गीय समाजमा छौँ । समाजमा वर्गहरू रहेसम्म पार्टीमा त्यसका प्रतिनिधिहरू घोषित–अघोषित रूपमा आउन सक्छन् । त्यो दुई लाइन सङ्घर्षका रूपमा आउने गर्छ । यद्यपि भिन्नताहरू सहवर्गीय तत्वहरू हुन् कि शत्रुतापूर्ण–विरोधी हुन् भन्नेचाहिँ हेर्नुपर्छ । हामीले अनुशासन मिचेर होइन, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार समाधानको उपाय खोज्नुपर्छ । पुँजीवादी पार्टीहरूमा हरेक विषय अराजक हुने गर्छन् । त्यसो गर्दा पार्टीभित्र दुस्मन खेल्न पाउँछ । पार्टीका कमजोरी थाहा पाएर कमजोर बिन्दुमा आक्रमण गर्छ । प्रतिशोध जन्मन्छ र फुट झन् बढ्न जान्छ । त्यसैले कम्युनिस्ट पार्टीले समस्यालाई भित्रै राखेर निश्चित विधिद्वारा समाधानको प्रयास गर्छन् । माओले अनुशासनलाई तीन गर र तीन नगर अर्थात् ‘छलछाम र षड्यन्त्र नगर, खुला र स्पष्ट होऊ, माक्र्सवाद लागू गर, संशोधनवाद होइन’ भन्नुभएको छ । त्यसैगरी उहाँले पालन गर्नुपर्ने तीन कुरा र ध्यान दिनुपर्ने आठ कुरामा अनुशासन र कर्तव्यलाई सूत्रबद्ध गर्नुभएको छ । एक्लै रकम उठाउने, एक्लै योजना बनाउने, एक्लै सङ्गठन बनाउने, समिति र समूह एउटा भन्छ, व्यक्तिले अर्कै गर्ने त्यो कम्युनिस्ट शैली हुन सक्दैन । त्यो त कम्युनिस्टका नाममा पुँजीवाद लागू भएको अवस्था हुन्छ । कार्ल माक्र्सले ‘मानव जातिले आफूखुसी आफू र आफ्नो वरिपरिको वातावरण परिवर्तन गरेपछि मानवजाति विश्व साम्यवादमा पुग्नेछ’ भन्नुभएको छ । अनुशासन पालना र कर्तव्यबोध दबाव दिएर हुँदैन । भित्री मनदेखि आउनुपर्छ । दबाव र देखावटी होइन, भित्री मनदेखि आफूबाटै सुरु गरेर समाज परिवर्तनमा योगदान गर्नुपर्छ । एक दिन त्यसप्रकारको कर्तव्यबोध गर्न सक्ने र स्वअनुशासित समाजको उदय हुनेछ । त्यसबेला हामी विश्व साम्यवादी समाजमा प्रवेश गर्नेछौँ । दबाब र नक्कली अनुशासन धेरै दिन टिक्न सक्दैन । नेपाली उखानै छ ‘उचालेको कुकुरले मिर्ग मार्दैन ।’ त्यसैले अनुशासनलाई प्राविधिक विषय बनाउनु हुँदैन । पार्टी अनुशासन सबै समिति र सदस्यमा समान स्तरमा लागू हुने विषय हो ।

कार्यकर्ताले मात्र वा तल्ला समितिले मात्र मान्नुपर्ने विषय होइन । संविधानभन्दा माथि, बहस र आलोचनाभन्दा माथि त सामन्ती सम्राटहरू हुन्थे । पुँजीवादले त आलोचनालाई विज्ञान प्रयोग गरेर समाधान गर्छाैं । पार्टी काममा भाग लिनु, आर्थिक सहयोग गर्नु, पार्टीनीति र कार्यक्रम मान्नु हरेक पार्टी सदस्यको प्रारम्भिक अनुशासन हो । हाटबजारको व्यापारीजस्तो आए पनि नआए पनि हुने, जता फर्केर पसल थापे पनि हुने, चाँडै गए पनि ढिलो आए पनि हुने, बहानाबाजी गर्ने शैली गैरकम्युनिस्ट शैली हो । यो पछौटे उत्पादन सम्बन्धको उपज हो । रुसमा बोल्सेभिक र मेन्सेबिकका बीचमा पार्टी अनुशासनका विषयमा पेचिलो बहस भएको पाइन्छ । त्यसप्रकारको बहसमा बोल्सेभिकहरूले विजय प्राप्त गरेका थिए । त्यसैले हामीले पार्टी सदस्यता प्रदान गर्ने समयदेखि नै बोल्सेभिक अनुशासन पालन गर्ने, गराउने विषयमा सतर्क हुनुपर्छ । क्षणिक फाइदाका लागि अथवा स्वार्थका लागि अनुशासनको दायरा फितलो बनाउनु भनेको क्रान्ति भन्दै प्रतिक्रान्ति रोप्दै गरेजस्तो हुनजान्छ । पार्टी लाइन र राजनीतिप्रति इमानदारी पहिलो अनुशासन हो । जिम्मेवारी पूरा नगर्नु, आदेश पालन नगर्नु, निर्णयप्रति अरूचि अनुशासन बाहिरका विषय हुन् । राजनीतिक रूपले गल्ती भए पनि अन्य गल्लीहरूको ढोका खुल्छ । तसर्थ राजनीतिक रूपले गल्ती नगर्न सचेत हुनुपर्छ । कमजोरी भएमा, गरेमा उपचार गर्ने, रोग लागेकालाई सुधार गर्ने हाम्रो नीति हुनुपर्छ । पार्टी र नेतृत्व (हरेक तहको सन्दर्भमा) ले कसैमाथि न प्रतिशोध गर्न सक्छ, न त अन्तिम कोसिस गर्दा पनि सकिएन भने अकर्मण्य भएर सर्वहारा वर्गको पार्टीलाई बुर्जुवाकरण गर्न सक्छ । हामी नेपाली क्रान्तिलाई विश्वमा कतै नभएको नजिर र अनुभवका बीचमा नयाँ कार्यदिशाअनुसार अघि बढ्दैछौँ । विश्वका पुराना मूल्य र अनुशासन मात्रले अबको अनुशासित नयाँ पार्टी बनाउन सम्भव छैन । यस क्षेत्रमा पनि नयाँ आविष्कारहरूको आवश्यकता छ । रुस, चीन, कोरिया, भियतनाम, क्युबाका महान् अनुभवहरू हाम्रासामु छन् । त्यसकारण यस क्षेत्रमा पनि नयाँ खोज र अनुसन्धानको आवश्यकता छ । एकीकृत जनक्रान्तिको कार्यदिशाले हाम्रो काँधमा त्यस दिशामा मेहनत गर्न प्रेरित गरिरहेको छ ।