गोरखा जेलब्रेक : इतिहासमा कहिल्यै नअस्ताउने जून

सन्दर्भ : २१ औं जेलब्रेक दिवस

गोरखा जेलब्रेक :  इतिहासमा कहिल्यै नअस्ताउने जून


पुस्तक परिचय

महान जनयुद्धको क्रममा सर्वहारावर्गको विचारले ओतप्रोत योद्धाहरुको उच्च विचार र साहसको योगफल हो जेलब्रेक । दीर्घकालीन जनयुद्धको निरन्तरताको महान प्रक्रियाका क्रममा उदाएका महान विम्ब र आदर्शमध्येमा चर्चित नेतृ हुनुहुन्छ उमा भुजेल ‘शिलु’ । उहाँको नेतृत्वमा ६ जना महिला वीरङ्गनाहरुले २०५७ चैत १७ गते रातको १ बजे ऐतिहासिक रुपमा दुश्मनको कालकोठरी गोरखाको जेलब्रेक गर्नुभएको थियो । यो पुस्तक यही ऐतिहासिक घटनामा आधारित रहेको छ । अर्थात् क्रान्तिको इतिहासमा कहिल्यै नअस्ताउने जून हो । यो पुस्तक प्रथम संस्करणको रुपमा २०६३ असारमा प्रकाशित भएको थियो । अहिले दोस्रो संस्करणको रुपमा २०७५ असारमा रातो खबर प्रकाशन गृह प्रालीले प्रकाशित गरेको छ । यसको साधारण मूल्य ३०० रुपैया रहेको छ भने १७१ पृष्ठमा फैलिएको छ । 

पुस्तकका महत्ववारे नेकपाका महासचिव विप्लव, बाबुराम भट्टराई र प्रचण्डले भूमिकाका रुपमा आफ्नो भनाईहरु राखेका छन् । पुस्तकमा प्रकाशित उनीहरुको भनाईका केही अंशहरुलाई राखिएको छ–
“जेलब्रेक साम्यवादी सपना, आदर्श, विचार र साहसद्धारा फलामे काँढेबार, तरबार र बन्दुकको पहरामा सुरक्षित किल्ला भत्काइदिएको अभूतपूर्व परिघटना हो । यो प्रतिक्रियावादी सत्ताको विरुद्ध एउटा विद्रोह र युद्ध थियो । गोरखा जेलब्रेक त्यसकारण झनै अभूतपूर्व थियो कि त्यसको नेतृत्व महिला कमरेडहरुले गरेका थिए । ...समय बदलिएको छ, जनयुद्धको समयमा “स्याबास बहादुर छोरीहरु” लेख्ने बाबुराम भट्टराई क्रान्तिकारी आन्दोलनबाट धेरै टाढा पुगिसकेका छन् । जेलब्रेकलाई “विश्वकै विरल घटना र सङ्घर्ष” भन्ने प्रचण्ड माओवादी जनयुद्ध र क्रान्तिकारी आन्दोलन परित्याग गर्न पुगेका छन् । जेलब्रेक कृतिले उनीहरुलाई गिज्याइरहेको छ । इतिहासको प्रवाहबाट को पो टाढा जान सक्ला र ! हामी क्रान्तिमा छौं । क. शिलुले संस्मरणमा लेख्नुभएझैं संशोधनवादी घेरा तोड्दैनथ्यौं भने विश्वक्रान्तिको नेपाली मोर्चा सुनसान भइसक्थ्यो ।” –विप्लव, महासचिव, नेकपा, (२०७५ जेठ, दोस्रो संस्करणको भूमिका)

“फर्केर हेर्छु, गोरखा जेल तोडेर महासमरमा हेलिएको पनि अठार बर्ष भइसकेछ । शान्ति प्रक्रिया र त्यसपछिका अँध्यारा दिनहरुले पनि दशक नाघिसकेका छन् । हिजोका आदर्श बिम्बहरु ढलेका छन् र नयाँ आदर्शहरुको पुदरोय हुँदै गएको छ । आदर्शको मूल्य, सपनाको हत्या सहन कठीन–कठीन हुँदो रहेछ । ऐंठन हुन्छ सम्झदा पनि । आज थुप्रै प्रश्नले मलाई घेरिरहेको अनुभूति हुन्छ । अभिभावकत्व गुमाएका असरल्ल प्रश्नहरुको जवाफ दिन कठीन हुँदो रहेछ । म घेराबन्दीमा छु । जनताको घेराबन्दीमा कवि पूर्णविरामको शब्दमा यो नराधमहरुको समय हो । प्रदुषित हावा हुरी फोहोरी गीत गाउँदै, हिँडेको छ, तर म त्यस्तै गर्न सक्दिनँ । यो कृतिको पनः प्रकाशन समका प्रश्नहरुको जवाफ ठानेकी छु ।” – उमा भुजले ‘शिलु’ (२०७५ असार, दोस्रो संस्करणको भूमिका) 

“वर्तमान परिवेशमा जनयुद्धबाट जन्मिएका थुप्रै गाथा तयार भइसकेका छन् । असाध्यै व्यस्त समयमा पनि कमरेड उमा भुजेलले यो कृति तयार गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गोरखा जेलब्रेकको सन्दर्भलाई लिपिबद्ध गरेर ऐतिहासिक बिषयका जिज्ञासु पाठक तथा अध्येताहरुको जिज्ञासालाई मेटाउने काम मात्र होइन, वर्गसङ्घर्ष र आत्मसङ्घर्षमा उत्प्रेरणा गर्नुभएको छ ।” –प्रकाशकीय, रातो खबर प्रकाशन गृह प्रालि

“देशभित्र मात्र नभएर विश्वभरिका क्रान्तिकारीहरुलाई प्रेरित गर्न यो बहुचर्चित सफल जेलब्रेककी प्रमुख योजनाकार कमरेड उमा भुजेलद्धारा तयार पारिएको संस्मरण “बन्द पर्खालदेखि खुला आकाससम्म (गोरखा जेलब्रेकको अन्तरकथा)” मैले पार्टीको महत्वपूर्ण केन्द्रीय बैठकको बीचमा पढेँ । सजीव प्रस्तुति एवं विचार, नीति, योजनामा अभिव्यक्त, स्पष्टता, धैर्यता, दृढता र द्धन्द्धात्मकताको कारण यो संस्मरण आफैमा नेपाली क्रान्तिकारी साहित्यको एक महत्वपूर्ण सामग्री बन्न पुगेको महसुस मैले गरेँ र यसले क्रान्तिकारीहरुलाई निरन्तर प्रेरित गर्ने विश्वास लिएको छु ।” – प्रचण्ड, अध्यक्ष, नेकपा (माओवादी) (२०६१, माघ २२, प्रथम संस्करणमा प्रकाशित मन्तव्य)

“गोरखाको प्रतिक्रियावादी जेलका ६ जना क्रान्तिकारी महिलाहरु सुरुङ खनेर सकुशल मुक्त हुन सकेको घटना, क्रान्तिकालका केही त्यस्ता विरलाकोटीका घटनाहरुमध्येको एक हो, जले पुस्तौपुस्तामा नेपाली क्रान्तिहरुलाई मात्र होइन, विश्वभरिकै क्रान्तिकारीहरुलाई प्रेरणा र हौसला दिइरहनेछ । .....क्रान्तिकारीहरुलाई कसैको जेल र गोलघरले रोक्न सक्दैन, बरु उनीहरुजस्तै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्ने सामथ्र्य राख्नछन् भन्ने कुराको यथेष्ट पुष्टि यो घटनाले गरेको छ ।” – बाबुराम भट्टराई, (२०७६ चैत २१, प्रथम संस्करणको भूमिका)

–खोमा तरामु मगर