‘झुण्ड्याउँदा झुण्ड्याउँदै’ पुस्तकमाथि दृष्टि

फ्युचिकबारे संक्षित चर्चा

‘झुण्ड्याउँदा झुण्ड्याउँदै’ पुस्तकमाथि दृष्टि

जुलियस फ्युचिकको संक्षिप्त परिचय
चेकोस्लाभाकियाको एउटा साधारण मजदुर परिवारमा १९०३ फरवरी २३ मा जुलियस फ्युचिकको जन्म भएको थियो । उनी बालककालदेखि नै कारखानामा मजदुरी गर्ने र अध्ययनलाई पनि सँगसँगै अगाडी बढाएका थिए । १३/१४ बर्षको उमेरमा नै फ्युचिक मजदुर आन्दोलनमा होभिएका थिए । कारखानामा कडा परिश्रम र विद्यालयमा कडा अध्ययनले उनी सानो उमेरमा नै अत्यन्तै शिक्षित, अनुशासित र अदम्य साहसी बनायो । उनी मजदुरहरुको बीचमा काम गर्दागर्दै र विद्यार्थीहरुको बीचमा अध्ययन र आफ्ना मौलिक अधिकारका बारेमा आन्दोलन र संघर्ष गर्दागर्दै उहाँ मजदुर र विद्यार्थी दुवैका नेताका रुपमा स्थापित भए । मजदुर र विद्यार्थी सङ्घर्षको क्रममा उनी चेकोस्लाभाकिया कम्युनिस्ट पार्टीमा संगठित भएका थिए । जतिखेर उनी एकजना कामदारको रुपमा आफ्नो जीविका गर्दै थिए । उनले विश्वविद्यालयमा साहित्य, सङ्गीत र कलाको अध्ययन गरेको थिए । 

फ्युचिकले संसारभरिका गरिब, शोषित, पीडित मजदुरहरुको जनजीविका र पीडाको बारेमा गहिरो अध्ययन गर्दै समाजवादी विचारसँग सम्बन्धित विभिन्न लेखहरु लेखे । सन् १९२९ मा उहाँ त्योरब (सृष्टी) नामको पत्रिकाको सम्पादक बनेर पत्रकारको रुपमा काम गर्न थालेका थिए । उनले चलाएको उक्त पत्रिका चेकोस्लाभाकियामा स्थापित हुनुपुग्यो । पछि उक्त पत्रिका चेकोस्लाभाकिया कम्युनिस्ट पार्टीको मुखपत्र हुँदै फ्युचिक त्यसको सम्पादक बने । फ्युचिक त्यसपछि कुशल संगठक, नेता र भाषणकर्ता बने । उनको व्यक्तित्व देखेर कायर प्रतिक्रियावादी चेक सरकार तिल्मिलायो र फ्युचिकलाई गिरफ्तार गर्ने र अनेक दुःख दिन थाल्यो । चेक सरकारले चेकोस्लाभाकिया कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि उनी बाध्य भएर भूमिगत भएर काम गर्न थाले । त्यतिबेलासम्म चेकोस्लाभाकिया कम्युनिस्ट पार्टीले क्रान्तिको तयारी गरिरहेको थियो । यसक्रममा फ्युचिकलाई प्रतिक्रियावादी गेष्टापो सरकारले गिरफ्तार गर्यो र २५ अगस्त १९४३ का दिन मृत्युको सजाय सुनायो । त्यो दिन आउन अब १४ दिन मात्र बाँकी थियो । 

झुण्ड्याउँदा झुण्ड्याउँदै
झुण्ड्याउँदा झुण्ड्याउँदै जुलियस फ्युचिकद्धारा लेखिएको पुस्तक हो । यो पुस्तक नाजी सेनाले देशभक्तहरुलाई झुण्ड्याउने पासोमुनि लेखिएको हो । १४ दिनपछि मरिने थाहा पाएर पनि उनी अलिकति पनि विचलित नभई चेक सरकारको फासीवादी दमनका विरुद्ध फ्युचिकले यो पुस्तक लेखेका थिए । जेलको कालकोठरीमा लेख्ने कापी कलम त सम्भव नै थिएन । एकजना सेन्ट्रीले उनको अत्यन्तै शिष्टता, सभ्य र साहस देखेर प्रभावित भएपछि गोप्य रुपमा लुकाएर कागज र पेनसिल ल्याईदिन थाल्यो र ती कागजका टुक्राहरु जेल बाहिर पुर्याउने काम गर्न थाल्यो । ती कागजका टुक्राहरु नै अन्ततः कालजयी पुस्तक बन्यो–झुण्ड्याउँदा झुण्ड्याउँदै । यो पुस्तकको नेपाली अनुवाद वाचस्पति देवकोटाले गरेका छन् । यसको प्रथम संस्करण २०२९ सालमा प्रकाशित भएको हो । 

म यहाँ पुस्तकको सारलाई संक्षिप्त रुपमा प्रस्तुत गर्दछु । जुलियस फ्युचिक चेकोस्लाभाकिया कम्युनिष्ट पार्टीका सदस्य थिए । हिटलर शासन भएको देश जर्मनीले चेकास्लाभाकियालाई कब्जा गरेपछि कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाइएको थियो । केन्द्रिय समितिका सदस्यहरु लगभग पक्राउन परेका छन् र मारिएका छन् । छिन्न भिन्न भएको कम्युनिष्ट आन्दोलन र प्रतिरोध आन्दोलनलाई अगाडी बढाउन निकै कठिन अवस्था हुन्छ । त्यतिवेला जुलियस फ्युचिकले गोप्य रुपमा पत्रिका प्रकाशन गर्छन् । प्रतिरोध आन्दोलन अगाडी बढ्दै जान्छ । तर एकदिन फ्युचिक गेष्टापो (नाजी सेना) द्धारा समातिए । गेष्टापोको भयङ्कर यातनागृहमा उनले असिमित यातना भोग्न थाले । कठोर यातनाले पनि नगलेपछि उनलाई मृत्युदण्द दिने निर्णय गरियो । आफ्नो मृत्युको दिन आफैे वस्नु जस्तो भयङ्कर र कठोर दिन सायदै अरु हुन्छ होला ! त्यति नै वेला फ्यूचिकको चेक सेन्टरी ए.कोलिस्कोसँग सम्बन्ध कायम भयो । ति सेन्टरीले उनलाई हरेक दिन कागत र पेन्सिल पु¥याईदिन थाले । फ्युचिकले गोप्य रुपमा त्यो कालको दुरीमा मृत्यु कुर्दै आफ्नो डायरी लेख्न सुरु गरे । सन् १९४३ सेप्टेम्वर ८ मा उनको हत्या गरियो । हिटलरको पतनपछि फ्युचिकको श्रीमति आगस्तिना फ्युचिकले ति कागजहरु खोजिन् र पुस्तक प्रकाशित गरिन् । उक्त पुस्तकको नाम हो “झुण्ड्याउदा–झुण्ड्याउदै” । झुण्डिदा–झुण्डिदै लेखिएको उक्त पुस्तकमा कतै पनि निराशा र शोकको छिरा परेको छैन । आफ्नो मृत्यु कुरिरहेको फ्युचिकमा भविष्यप्रति सुन्दर आशा भइरहन्छ । उनी लेख्छन्–“नाजीवादको जीत होला कि हार ? ...के तिमी सोच्दछौ कि यो सरकार सधै चलिरहला ?” जीवनको अन्तिम क्षणतिर इच्छापत्र लेखिरहँदा पनि उनमा शोकको कुनै अंश भेटाउन सकिन्न । उक्त इच्छापत्रमा उनले लेखेका छन् “हामी सुखको लागी जीवित रह्यौं त्यसैको निम्ति हामी युद्ध गर्न लाग्यौं र अव त्यसैको निम्ति हामी प्राण दिइरहेका छौं । शोकको हाम्रो नाउँसित कुनै सम्बन्ध नहोस् ।” 

आगस्तिना फ्युचिकले पुस्तकको भूमिकामा लेखेकी छन्–“मेरो पति जुलियस फ्युचिकलाई बर्लिनको एउटा नात्सी अदालतले २५ अगस्त १९४३ को दिन ज्यान सजाय सुनाएको कुरा मैले रेबेन्स बुकको कन्सेन्ट्रेसन क्याम्पमा एकजना कैदी साथीबाट सुनेकी थिएँ । म मेरो लोग्नेको अन्त्यको बिषयमा जान्न चाहन्थेँ, तर मेरा प्रश्नहरु जेलका अग्ला अग्ला पर्खालहरुबाट ठक्कर खाएर फर्के । .....मैले त्यो सेन्ट्रीसित भेटेँ र मेरो पतिले पैंक्रट्स जेलमा लेखेर जानु भएका ती स्मरणहरु बटुलेँ । सिलसिलेवार नम्बर लेखेका ती कागजहरु धेरैजसो विश्वासी मान्छेहरुकहाँ लुकाएर राखेकी थिएँ । ती सबैलाई एकगठ गरियो र अब जुलियस फ्युचिकको जीवन कार्यको यो आखिरी अध्याय पाठकहरु समक्ष प्रस्तुत छ ।” 

पुस्तकको सन्देश
१. यो पुस्तकले जीवन र भविष्यप्रति आशा र विश्वास देखाएको छ भने प्रतिक्रियावादी सत्ताको फासिष्ट दमनप्रति घृणा पैदा गरेको छ । 
२. फ्युचिक मार्क्सवादी हुन् । मार्क्सवादले समाजलाई गतिशील ठान्दछ । त्यसकारण फ्युचिक आफ्नो मृत्यको नजिक पनि सुन्दर भविष्यको परिवर्तन देख्छन् र बलिदानप्रति गौरवबोध गरेका छन् ।
३. दर्शनको गहन अध्ययन, सङ्घर्ष र वैज्ञानिक दर्शनले मात्र लेखकलाई आशावादी, सङ्घर्षशील र बलिदानी भावनाले ओतप्रोत पात्रहरुको निर्माणमा सहयोग गर्दछ । असल लेखकले दर्शनको गम्भीर अध्ययन गर्नुपर्दछ । 

(लालदिशा)