गुमनाम ‘कम्युनिस्ट बा’

गुमनाम ‘कम्युनिस्ट बा’

‘इतिहास जित्नेको मात्र लेखिन्छ’ हामीले थाहा पाएदेखि यो आहान सुन्दै आएका छौं । इतिहास सधैं जित्नेको पक्षमा लेखिएर होला यो आहान खुब चलेको छ । हुन पनि इतिहास सधै जित्नेहरुको पक्षमा मात्रै लेखिएको छ । जसले वर्तमान जित्छ, उसैको मात्रै भविष्य सुखद हुन्छ । इतिहास खोज्दा धेरै यस्तै भेटिन्छ । तर ‘कम्युनिस्ट बा’ किन अपवाद बने ? जो विचारमा कहिल्यै पराजित भएनन् । जो आन्दोलनमा कहिल्यै लत्रिएनन् । सामन्तवाद र साम्राज्यवादका अगाडी कहिल्यै झुकेनन् । उनको आस्था र निष्ठा ढलेन । निष्ठाको पक्षमा इतिहास किन नलेख्ने ? उनका इतिहासलाई अभिलेखीकरण किन नगर्ने ? उनको इतिहासबाट शिक्षा किन नलिने ? के इतिहासलाई गुमनाम गर्न सकिन्छ ? यही प्रश्नहरु लिएर हामी ‘कम्युनिस्ट बा’ लाई भेट्न पुग्यौं । हामी उनको कम्युनिस्ट जीवन र त्यसका जराहरूलाई उधिन्ने प्रयास ग¥यौं । 

ऊनीको टोपीभित्र पार्टी सदस्यता
‘कम्युनिस्ट बा’ अर्थात् पूर्णबहादुर थापा (रूपन्देही) । अहिले उनी उमेरले ८५ बर्ष पुगे, अर्थात् चार बीस हिउँद बर्खा पार गरे । उनी १९ बर्षको भर्भराउदो उमेरमा नेपाल पुलिसमा भर्ती भए । जतिबेला उनी नेपाली कांग्रेसको समर्थक थिए । यो २०१२ सालतिरको कुरा हो । २०१५ सालको चुनावमा उनी चुनावी सुरक्षामा खटिएका थिए । पुष्पलालको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले चुनावमा भाग लिएको थियो । त्यतिबेला किसानको पक्षमा र सामन्तहरुको विरुद्धमा कम्युनिस्ट पार्टीले पर्चा वितरण गथ्र्यो । उनी कांग्रेस भएपनि भित्रभित्रै कम्युनिस्ट पार्टीको पर्चाबाट प्रभावित भइरहेका थिए । पर्चा लुकेर पढ्थे, पर्चाभित्र उनले आफ्नो जीवन भेटे । उनी पुलिसमा जागिरे भएपनि उनका साथीहरु प्रायः भारतको बनारसमा थिए । उनी पनि छुट्टी लिएर साथीहरुलाई भेट्न बनारस गए । बनारसमा उनका साथीहरु कम्युनिस्ट पार्टीमा आबद्ध भइसकेका रहेछन्, जुन कुरा उनलाई थाहा थिएन । जब उनी बनारस पुगे, साथीहरूसँगै अचानक पुष्पलाललाई पनि सँगै भेटे । पुष्पलालसितको भेट उनका लागी संयोग थियो । यसअघि उनले पुष्पलालको नाम सुनिसकेका थिए । यो समय २०१८ सालतिर हो । जतिबेला पुष्पलालले उनीहरुको समूहलाई प्रशिक्षित गरे, उनी निकै प्रभावित भए । त्यसपछि थापाले कम्युनिस्ट पार्टीको सदस्यता लिए । त्यतिबेला देशमा पञ्चायती दमन तीव्र थियो । राजनीतिक दलमाथि प्रतिबन्ध थियो । पञ्चायतले कम्युनिस्टको ‘क’ पनि सुन्न चाहँदैनथ्यो । नेपाल फर्किदा पुष्पलालले दिएको पार्टी सदस्यता पत्र कसरी लुकाउने ? उनी निकै चिन्तित थिए । उनलाई सदस्यता पत्र भेटाए पक्राउ पर्ने चिन्ता थियो । उनले एउटा उपाय निकाले–ऊनीको टोपीको भित्री मागमा लुकाएर बाहिरबाट सिलाइदिए । उनी कम्युनिस्ट पार्टीको सदस्यताको रसिद ऊनीको टोपीभित्र लुकाएर नेपाल फर्र्किए र आफ्नो जागिरमा हाजिर भए । उनका लागी जागिर जीविकोपार्जनको बाध्यता थियो र इज्जतदार पेशा पनि । तर उनी भित्रभित्रै कम्युनिस्ट भइसकेका थिए । 

प्रहरीको जागिरे र कम्युनिस्ट पक्राउको प्रसङ्ग
एकातिर प्रहरीको जागिर र अर्कोतिर कम्युनिस्ट पार्टीमा आबद्ध भएको रोचक प्रसङ्गबारे लालदिशा टिमलाई उनले सुनाए,“म २०१७ सालसम्म कांग्रेस थिएँ । पुलिसमा जागिरे थिएँ, भित्रभित्रै कम्युनिस्टबाट प्रभावित थिएँ तर जागिरका कारण पक्रनु चाहीँ कम्युनिस्टलाई पथ्र्यो । बनारसको संस्कृत पाठशालामा पुष्पलालसित भेट भएपछि कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । त्यतिबेला पुष्पलालसितको भेट मेरो लागी निकै महत्वपूर्ण भयो ।” त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था सुरू भइसकेको थियो । राजनीतिक दलमाथि कडा प्रतिबन्ध लागिसकेको थियो । कांग्रेसीहरुको हत्या भइरहेको थियो, पञ्चायतले कम्युनिस्टको त नाम पनि सुन्न चाहँदैनथ्यो । तर उनीभित्र पञ्चायतप्रति घृणा र विद्रोह पैदा भइसकेको थियो । २०२२ सालमा जीवराज आश्रितसँग भेट भएपछि उनी गुल्मीको चन्द्रकोटमा कम्युनिस्ट पार्टीको संगठनमा आबद्ध भए । कम्युनिस्ट पार्टीभित्र विभिन्न टुटफुट र विभाजन सुरु भइसकेको थियो । २०२३ सालमा प्रहरीको जागिर छोडेर उनी पुष्पलाल समूहमा आबद्ध भएर काम गर्न थाले । त्यसपछि बामदेव गौतम, मोदनाथ प्रश्रितलगायत नेताहरुसँग नजिक रहेर सहकार्य गरे । २०३५ सालमा सीपी मैनाली महासचिव रहेको नेकपा (माले) मा आबद्ध भए । माले र माक्र्सवादी एकीकरण भएर एमाले बनेपछि पनि उनी रूपन्देहीमा सक्रिय भएर राजनीतिमा लागे । त्यतिबेला उनका सहयोद्धाहरु थिए– जीवराज आश्रित, मोदनाथ प्रश्रित, भीमनारायण थारू, तेजप्रसाद कँडेल, सिताराम हरिजन, नेत्र पन्थीलगायत । 

प्रश्रितको धोका र छातीमा मालेको सदस्यता 
मोदनाथ प्रश्रितले उनलाई निकै ठूलो धोका दिएछन् । उनी भन्छन्, “त्यतिबेला प्रश्रित शिक्षा मन्त्री थिए । गाउँमा मौजा खोलाको व्यवस्थापनका लागी ३ लाख आर्थिक दिने बाचा दिए । त्यसपछि गाउँभरी थापाले पार्टीको तर्फबाट ३ लाख पैसा दिने भनेर भाषण गर्दै हिँडेछन् । पार्टीको जिल्ला बैठकमा प्रश्रितले ‘पैसा सकियो अहिले दिन नसकिने’ बताएपछि १ घण्टा बेहोस् नै भएँ ।” प्रश्रितको कुरा सुनेपछि थापाले बैठक छोडेर निस्किएको बताए । त्यतिबेला एमालेभित्र महाकाली सन्धिको विवाद उत्कर्षमा पुगेको थियो । त्यही कारण एमाले विभाजन भयो, बामदेव गौतमको नेतृत्वमा नेकपा (माले) बन्यो । नेकपा (माले) बनेको समाचार उनले रेडियोबाट सुने । तत्कालीन एमालेमा निकै मन दुखाएका थापा पार्टी फुटेको समाचारले उनी निकै खुशी भए । उनी नेकपा मालेमा लाग्ने निधोँ गरे । त्यतिबेलासम्म उनले सीपी मैनाली महासचिव हुँदाको तत्कालीन नेकपा मालेको सदस्यतापत्र अझै सुरक्षित राखेका रहेछन् । प्रश्रितसित रिसाएर मुर्मुरिएका थापा खुशी हुँदै उनले राती नै बाकस खोतलेर पुरानै मालेको पार्टी सदस्यता पत्र छातीमा टाँसेर सुतेछन् । त्यसपछि बामदेव गौतमले रूपन्देहीको मुर्गियामा भेट्न बोलाएछन् । उनी साइकल चढेर मुर्गिया पुग्दा रूपन्देहीका भीमनारायण, बिजय पन्थी, तेजप्रसादलगायत पुराना साथीहरुलाई भेट्दा निकै खुशी भएको बताए । 

माओवादी हिमचिम र ‘कम्युनिस्ट बा’
बर्षदिनमा नै नेकपा माले र एमाले पुनः एकीकरण भएपनि उनी एमालेमा फर्किएनन् । त्यतिबेला माओवादी जनयुद्ध अगाडी बढिरहेको थियो । उनी पनि क्रमशः माओवादीतिर आकर्षित भए । स्थानीय माओवादी नेता कार्यकर्ता उनको घरमा आउनेजाने गर्न थालेपछि चिनजान र हिमचिम बढ्यो । उनी सम्झिन्छन्, “सुरूमा माओवादीका सुवास र दोर्णलगायतका १५÷१६ जना टिम मेरो घरमा बास बस्न आएका थिए । सामन्तवाद विरुद्ध सङ्घर्ष गरिरहेको बताएपछि म माओवादीबाट निकै प्रभावित भएँ ।” यो २०५३ साल अन्तिमतिरको कुरा हो । त्यसपछि निरन्तर माओवादी साथीहरु आउने जाने गर्न थालेपछि उनको घर माओवादी नेता कार्यकर्ताको नियमित सेल्टर बन्यो । उनको घरमा बास बस्न आउने नेता कार्यकर्ताले उनको नाम ‘कम्युनिस्ट बा’ राखिदिए । अर्थात् कम्युनिस्टहरुप्रतिको अगाध माया, स्नेह र निष्ठाका कारण कमरेडहरुले उनको नाम ‘कम्युनिस्ट बा’ राखिदिएका रहेछन् । उनी कमरेड पूर्णबहादुर थापाबाट ‘कम्युनिस्ट बा’ बने । उनी सम्झिन्छन्, “माओवादी जनयुद्धको कठोर र सङ्कटकालीन समयमा सयौं नेता कार्यकर्तालाई गास र बास दिएर सहयोग गरेँ । म पनि कम्युनिस्ट सिद्धान्तप्रति प्रतिबद्ध थिएँ । हामी कैयौं रात एउटै परिवार भए बस्यौं । उनीहरु आएर घरका कामदेखि सबै काम गरिदिन्थे । उनीहरुले नै मेरो नाम ‘कम्युनिस्ट बा’ भनेर राखिदिए ।” 

प्रचण्डको धोका र विप्लवलाई सुझाव
माओवादी जनयुद्धकालमा कैयौं पटक सेना प्रहरीले उनको घरमा अप्रेशन ग¥यो । घरपरिवारलाई गिरफ्तार गरेर दुःख दियो । गावै घेरा हालेर सास्ती दियो । तर उनी माओवादी विचार र आन्दोलनबाट कहिल्यै विचलित भएनन् । माओवादी विचारमा शतिसाल उभिए । उनले माओवादी जनयुद्धलाई प्रचण्ड–बाबुरामले धोका र गद्दारी गरेकोमा दुखेसो गरे । उनी भन्छन्, “माओवादी जनयुद्धलाई प्रचण्ड र बाबुरामले बदमासी गरे । सहिद र घाइते योद्धाहरुको रगतलाई कुर्सीसित साटे । उनीहरुको सपनालाई बलात् धोका दिए ।” 

माओवादी आन्दोलनमा टुटफुट विभाजनपछि उनी निरन्तर क्रान्तिकारी धारमा उभिए । प्रचण्डबाट छुट्टिएपछि बनेको तत्कालीन नेकपा–माओवादीको रुपन्देही जिल्ला सल्लाहकार भए । नेकपा–माओवादीको अकर्मण्यतापछि उनी त्यहाँपनि सन्तुष्ट भएनन् । माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्ड बाबुराममा अवसरवादको चरम अवस्थादेखि उनी अबको क्रान्तिको नेतृत्व जसले गर्छ, उसलाई समर्थन गर्छु भनेर बसे । उनी अहिले समग्र आफ्नो जीवनभरि कम्युनिस्ट आन्दोलनमा लाग्दाको समीक्षा गर्दै भन्छन्, “जनतालाई न्याय चाहिएको छ । गरिबका दुःखहरू फेरिएनन् । प्रचण्डहरुले धोका दिएपनि सहिदहरुको सपनालाई विप्लवजीहरूले उठाउनु भएको छ । विप्लवहरु दोस्रो प्रचण्ड बन्नु हुँदैन ।” उनी थप भन्छन्, “राजनीति भनेको जनताको सेवा हो, माक्र्स एङ्गेल्सले किसान र मजदुरहरुको पक्षमा घोषणापत्र लेखे । तर यसप्रति प्रचण्ड बाबुरामले इमानदारिता देखाएनन् । उनीहरुले कम्युनिस्ट नीति सिद्धान्त छोडेपनि मलाई कम्युनिस्ट आन्दोलनमा लागेकोमा कुनै पछुटो छैन । जनताले एकदिन जित्नेछन् ।”     

खोमा/बर्षा (लालदिशा)