मेरो जीवनका तीन पात्र, तीन घुम्ती

म लाहुरेको छोरो । बुवा बेलायती आर्मी । तीन दाजुभाइ र एक दिदीमध्ये म कान्छो । एक त पोखराको सेरोफेरोमा जन्मिनु, गुरुङ समुदायको हुनु, लाहुरेको छोरो हुनु । यी अवस्थाले तयार गरेको मापदण्ड अनुसार हिंड्नु हो भने, म पक्कै पनि लाहुरे बन्नुपर्ने हो ।

लाहुरेहरूले अक्सर आफ्ना छोरालाई लाहुरे नै बनाउन खोज्छन् । लाहुरेको समाजमा आफ्नै ग्ल्यामर र रवाफ छ । तर, मेरो बुवाको रुचि विपरीत भइदियो ।

उहाँ चाहनुहुन्थ्यो, ‘छोराहरू सकेसम्म लाहुर नजाउन् ।’

बुवाले लाहुरमा खुब दुःख झेल्नुभएछ । उहाँ इन्डोनेसियाको सिभिल वारमा पर्नुभयो । ज्यानको बाजी थापेर लड्नुभयो । कति दुश्मनलाई मार्नुभयो । तर, तक्मा चाहिं अर्कैले पाएछ ।

बुवा त्यही कुराले विरक्तिनुभएछ । सेनाभित्र पनि यति घिनलाग्दो राजनीति हुन्छ भनेर उहाँको मनै चोइटिएछ । र, उहाँले अडान लिनुभयो, ‘आफ्ना छोराहरूलाई लाहुरे बनाउँदिनँ ।’

जुन भूगोल वा माटोसँग म बढी परिचित छु, त्यही माटोमाथि उभिएर नै मैले आफ्नो कलालाई सही ढंगले अभिव्यक्त गर्न सक्छु जस्तो लाग्छ । बाल्यकालमा हामीलाई बुवाको यही दृढताले नराम्ररी प्रभावित गर्‍यो । सानो छँदा जुन कुरा मनमा गड्छ, त्यसको असर दीर्घकालीन हुने रहेछ ।

म लाहुरे बन्ने दौडमा लागिनँ ।

बुवाको चाहना थियो, छोराहरू किसान बनुन् । खेती–किसानी गरुन् । आफ्नै माटोमा रमाउन् । अहिलेको रूपा गाउँपालिकामा हाम्रो घर थियो । त्यही जन्मियौं, हुर्कियौं । ग्रामीण परिवेश । सबैजसो खेतीकिसानीमै रमाइरहेका ।

तर, म किसान पनि बन्न सकिनँ ।

जीवनमा के बन्ने ? लक्ष्य थिएन । भाग्यले जता डो¥याउँछ उतै जान्छु भन्ने थियो । सुदूर भविष्यको कुनै खाका बनाइएको थिएन । पढ्दै थिएँ, पढ्नकै लागि तालबेसीमा झरें । आनन्द ज्योति माविमा पढ्न थालें । त्यहाँ मेरो हितैषी थिए, ओमप्रकाश गुरुङ ।

उनी बडो रसिक मान्छे । कला–चेत भएका । पोखरामा बसेर पढ्थे । चाडपर्वको बेला गाउँमा आएर नाचगान गर्थे । नाटक मञ्चन गर्थे । नाच सिकाउँथे । ओमप्रकाशलाई नाटकका लागि कलाकार चाहिने । त्यो रिक्त ठाउँमा उनले मलाई रोज्थे । यसरी म गाउँघरका नाटकमा अभिनय गर्न थालें ।

यहाँसम्म आइपुग्दा पनि थाहा थिएन, म के बन्छु ?

तर, जसै नाटक खेल्न थालियो अभिनयमा रस बस्दै गयो । आफूलाई यही क्षेत्रमा पो फलिफाप हुन्छ कि भन्ने लाग्न थाल्यो । अभिनय गर्दा बेग्लै ऊर्जा आउने । शरीरका अवयव स्वस्फूर्त तंग्रिने । तब लाग्यो, ‘म खास यही कुरामा फिट छु ।’

अनुप बरालको शिष्य

संयोग कस्तो भने, म पोखरा झर्नु र अनुप बरालले अभिनय सिकाउन थाल्नु उही समय पर्‍यो । एसएलसी सिध्याएर म ‘पढ्नका लागि’ पोखरा झरेको थिएँ । अनुप सर भारतको नेशनल स्कूल अफ ड्रामामा पढेर पोखरा फर्किएका थिए । म अभिनय सिक्ने मनसाय बोकेर भौंतारिरहेको । अनुप सर अभिनय सिकाउने मेलोमेसो मिलाइरहनुभएको थियो ।

त्यसबेला त्रिवेणी कल्चर सेन्टर थियो । त्यहाँ अनुप सरले अभिनय सिकाउँथे ।

मैले अनुप सरलाई पहिलोपटक त्यहीं भेटें । भेट्दा मलाई निकै असहज लागेको थियो । नर्भस भएँ । उहाँको घर्षणले मलाई अभिनय–कला सिक्न, बुझ्न, महसूस गर्न सहज बनाइदियो । चरित्र निर्माण र त्यसको आयामभित्र बाँध्न सिकाउनुभयो ।

सँगै मैले अभिनय सिकें । त्यसबेला पोखरामा नाटकको नयाँ लहर नै चलिरहेको थियो । हामीले स्थानीय दौंतरीहरूसँग मिलेर एउटा समूह बनायौं, दीर्घजीवी नाट्य समूह । यसैअन्तर्गत हामी धमाधम नाटक तयार र मञ्चन गथ्र्यौं ।

२०५६ साल ! प्रज्ञा भवनमा नाटक महोत्सव चलिरहेको थियो । त्यसताका देशभरबाट नाटक लिएर आउनेहरूको मेला लाग्थ्यो । जस्तो धरानबाट अनाम, सर्वनाम नाट्य समूह आउँथे । हामी भने पोखराबाट ‘मलामी’ नाटक लिएर गएका थियौं ।

यसलाई सरुभक्तले लेखेका थिए । अनुप बरालले निर्देशन गरेका । नाटकमा मेरो गाउँले बुढाको भूमिका थियो । सो नाटकले मलाई ‘उत्कृष्ट अभिनेता’को अवार्ड दिलायो । यसबाट मैले आफ्नो चिनारी बनाउन पाएँ ।

नवीन सुब्बाको अफर

प्रज्ञा भवनमा नाटक मञ्चन भइरहँदा नवीन सुब्बा पनि नाटक हेर्न आउनुभएको रहेछ । उहाँले मेरो अभिनय ‘नोटिस’ गर्नुभएछ । केही समयपछि उहाँले ‘दलन’ टेलिशृंखला बनाउनुभयो । त्यसमा मलाई एउटा भूमिकाका लागि ‘अफर’ गरियो । दलनको कास्टिङ डाइरेक्टर अनुप सर नै हुनुहुन्थ्यो ।

नवीन सुब्बा नेपाली सिनेमाकै एक उच्च कोटिका निर्देशक । सिनेमाको आयामलाई गहिराइमा बुझेका व्यक्ति । उहाँसँग संगत गरेपछि मैले सिनेमालाई धेरै फराकिलो ढंगले बुझ्न थालें । विश्व सिनेमा हेर्ने, मन्थन गर्ने अभ्यास शुरू भयो ।

सिनेमाको विषयमा दाइले पढाउनु, बुझाउनुहुन्थ्यो । दलनमा मलाई सतमानको भूमिका दिइएको थियो । जुन निकै घतलाग्दो चरित्र थियो ।

‘दलन’ले मेरो करिअरमा एउटा बेग्लै फ्रेम तयार गरिदियो । अन्ततः त्यही फ्रेमभित्रको भूमिकामा मेरो खोजी हुन थाल्यो ।

रामबाबु गुरुङले ‘कवड्डी’को सिक्वेल बनाउने भए । त्यसका लागि मलाई एउटा भूमिका दिइयो । रामबाबुसँग जोडिएपछि मेरो सिने–यात्रा अविच्छिन्न रह्यो ।
त्यसैले दलनलाई म आफ्नो सिनेमा करिअरको प्रस्थानविन्दु मान्छु ।

हुन त पोखरामा पनि बेलाबखत भाषिक एवं क्षेत्रीय सिनेमा बन्थे । खासगरी भिडियो चलचित्रमा झिनोमसिनो भूमिका गरियो । त्यसमा केवल चार–पाँच सेकेन्डको रोल गरिन्थ्यो । वर्षमा अत्यन्तै थोरै भिडियो सिनेमा बन्ने भएकाले पनि धीत मरुञ्जेल अभिनय गर्न पाइन्थ्यो ।

रामबाबु गुरुङसँग पारिवारिक साइनो

दलनपछि ‘कृपा’ नामको गुरुङभाषी सिनेमामा काम गरियो । क्षेत्रीय सिनेमाकै वृत्तमा घुम्न थालियो ।

नवीन सुब्बा दाइले इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) चलाउनुहुन्थ्यो । त्यहाँ भाषाभाषी चलचित्रमा काम गर्ने फिल्मकर्मीहरूको जमघट हुन्थ्यो । सोही क्रममा सिनेमा सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने भयो, नगरकोटमा । हामी त्यहाँ एक हप्ताजति बस्यौं । त्यसबेला रामबाबु र म साथी–साथी थियौं । हिंड्थ्यौं, खान्थ्यौं, रमाउँथ्यौं ।

पछि रामबाबु गुरुङले ‘कवड्डी’को सिक्वेल बनाउने भए । त्यसका लागि मलाई एउटा भूमिका दिइयो । रामबाबुसँग जोडिएपछि मेरो सिनेमा–यात्रा अविच्छिन्न रह्यो । ‘कवड्डी–कवड्डी’ पछि ‘पुरानो डुंगा’ मा काम गरियो ।

पुरानो डुंगाको कथा म आफैंले लेखें । यसअघि कर्णदासको गीतमा अभिनय गरेको थिएँ, ‘पुरानो डुंगा, पानीको छाल ।’ यो छोटो गीति भिडियोमा माझीको सम्पूर्ण कथा समेट्न संभव थिएन । यद्यपि मेरो अवचेतन मनमा माझीको कथाव्यथा भने अल्झिरहेकै थियो । पछि त्यसैलाई विस्तृतमा समेट्नका लागि ‘पुरानो डुंगा’को प्लट तयार गरियो ।

यसरी रामबाबुसँग जोडिएँ । सिनेमाले हामीलाई पारिवारिक सम्बन्धमा जोडिदियो । उनी मेरा भाञ्जेज्वाइँ हुन् ।

भावनात्मक, पारिवारिक र कार्यगत एकताले गर्दा रामबाबुसँग काम गर्न सहज भइदियो । पहिलो पटक ‘कवड्डी’ बनाउँदा ‘मामा फलानो रोल गरिदिनुपर्‍यो’ भने । तर, म अर्कै काममा व्यस्त भएकाले गर्न सकिनँ । त्यसको सिक्वेलमा ‘लालकाजी शेरचन’को भूमिका गरें । त्यो भूमिकाले मलाई अरू थुप्रै निर्माता–निर्देशकसँग जोड्ने काम गर्‍यो । यसरी व्यावसायिक कलाकारको रूपमा मलाई स्थापित गर्नमा रामबाबुको साथ र सहयोग छ ।

आफैंलाई पर्दामा हेर्दा लाज पनि लाग्छ

सिनेमामा अभिनय गरेपछि आफूलाई पर्दामा कस्तो देखियो भनेर उत्सुकता जाग्नु स्वाभाविकै हो । सिनेमा हेरिन्छ । कतिपय ठाउँमा ठिकै गरिएको छ भन्ने लाग्छ । कतिपय ठाउँमा चाहिं आफ्नै अभिनय चित्त बुझ्दैन । त्यसमा अझ राम्ररी अभिनय गरेको भए के नै बित्थ्यो र भनेजस्तो लाग्छ । कतिपय दृश्यमा आफैंलाई लाज लाग्छ । हैट्, के गरेको होला जस्तो लाग्छ ।

बजारग्रसित सिनेमा

म अभिनयका साथै निर्देशन पनि गरिरहेको छु । अक्सर आफ्नै भाषाको सिनेमा बनाउँछु । यसका लागि आफ्नै परिवेश र पात्र छनोट गर्छु । जुन भूगोल वा माटोसँग म बढी परिचित छु, त्यही माटोमाथि उभिएर नै मैले आफ्नो कलालाई सही ढंगले अभिव्यक्त गर्न सक्छु जस्तो लाग्छ ।

आफ्नो जीवन भोगाइ, परिवेश भन्दा धेरै टाढा गएर कुनै पनि कथा भन्न गाह्रो हुन्छ । त्यसैले मैले बनाउने अधिकांश सिनेमा गुरुङ परिवेशसँग जोडिएका छन् । पछिल्लो समय ‘दयारानी’ सिनेमा बनाएको छु । कतिपय विदेशी मुलुकमा प्रदर्शन पनि भइसकेका छन् ।

गुरुङ कला, संस्कृति, रीतिथितिलाई म सिनेमाको माध्यमबाट अभिव्यक्त गर्न चाहन्छु । कुनै पनि भाषाभाषीको वा क्षेत्रीय सिनेमालाई ‘अलगधार’ भनेर छुट्याउने गरिएको छ । म अलगधार र मूलधारको ‘काइते’ बहस गर्न रुचाउँदिन । सिनेमाको कुनै धार हुँदैन भन्ने लाग्छ ।

पछिल्लो समय हामीकहाँ मूलधार भनेर बनिरहेका चलचित्र बजारबाट ग्रसित देख्छु । सिनेमालाई निर्देशकले होइन, बजारले निर्देशित गरेको छ ।

हामीसँग अनगिन्ती कथा छन् । हरेकसँग कथा छ । तर, त्यो कथा कसले भन्ने, कसले उप्काउने ? के हामी आफ्नै कथाहरूलाई मौलिक ढंगले भन्न सक्दैनौं ? खोज्नुपर्ने बेला भएको छ ।

माओत्से गुरुङ