नेकपा धौलागिरीद्धारा इन्चार्ज फिल्टरलाई रिहा गर्न चेतावनी

फिल्टरको गिरफ्तारीप्रति घोर आपत्ति : राजन

नेकपा धौलागिरीद्धारा इन्चार्ज फिल्टरलाई रिहा गर्न चेतावनी

फागुन १४, म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिनाशर्त रिहा गर्न चेतावनी दिएको छ । ब्युरो इन्चार्ज राजनले शुक्रबार एव वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज फिल्टर रिहा गर्न माग गर्दै रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने बताएका छन् । 

राजनले वक्तव्यमा जिल्ला इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिका–४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै त्यस घटनाप्रति घोर आपत्ति एवं खेद प्रकट गरेका छन् । 

राजनले वक्तव्यमा भनेका छन्, “२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिका–४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवं खेद प्रकट गर्दछ । कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना शर्त रिहाइको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौं ।”

वक्तव्यमा राजनले नागरिकका मौलिक अधिकार गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार अलपत्र पारिएको भन्दै “अरूलाई अरू कामको पीर, घर ज्वाइँलाई खानकै पीर” भनेझैं वली सरकार कम्युनिस्ट राजनीतिमा समर्पित नेता र कार्यकर्ताको गिरफ्तार, यातना र हुर्मत लिनमै बहादुरी ठानिरहेको बताएका छन् । ब्युरो इन्चार्ज राजनले देश काण्डैकाण्डमा फसिरहेको भन्दै यो जनताको व्यवस्था नआउँदासम्म यो ब्रम्हलुट नरोकिने बताएका छन् ।