छात्राहरूको सुरक्षाको ग्यारेन्टी गरियोस् : अखिल (क्रान्तिकारी)

छात्राहरूको आत्मसुरक्षा तालिमको व्यवस्थाको माग

छात्राहरूको सुरक्षाको ग्यारेन्टी गरियोस् : अखिल (क्रान्तिकारी)

फागुन १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो अन्तरगतका जिल्लाहरू रूपन्देही, पाल्पा, कपिलवस्तु, नवलपुर, नवलपरासी, अर्घाखाँची, गुल्मीले केन्द्रीय योजना अनुसार विज्ञप्ति जारी गरि विभिन्न स्थानीय निकायहरूमा सुरक्षा र आत्मसुरक्षा तालिमका लागि दुई बुँदे मागपत्र बुझाएको छ ।

विज्ञप्तिमा भनिएको छ :

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना काल देखि नै नेपालको समग्र शैक्षिक तथा राजनीतिक सवालहरूमा बलिदानीपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको कुरा सर्वविदितै छ । नेपालमा विगतमा भएको जनयुद्व। जनआन्दोलन लगायत जनताले ठूलो संघर्ष गरे पनि नेपालको सामाजिक रूपान्तरणमा रहेका गम्भिर प्रकारका समस्याहरूको अन्त्य हुन सकेन । समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरू यथावत नै रहे । विगतमा विकृति विसंगतिको रुपमा रहेको जातिय छुवाछुत तथा भेदभाव, महिला हिंसा, बलात्कार जस्ता जघन्य मानवता विरोधी अपराधका घटनामा कत्ति पनि सुधार भएन । पछिल्लो समय त झन् महिला तथा बालबालिकाहरूको सुरक्षाको अवस्था अत्यन्त कमजोर बनेको छ ।  सरकारी उदासीनताका कारण चौतर्फी समस्याहरू देखिएका छन् । निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट, रूकुमको सोती काण्ड लगायत अबोध र निर्दोष छात्र छात्राहरूको बलात्कार र हत्या घटनाले त नेपाली समाजमा विद्यमान विकृतिलाई उदाङ्गो पारिदिएको छ । व्यक्तिगत सत्ता, भ्रष्टाचार, नातावाद, कुपावाद आदीमा केन्द्रित वर्तमान सरकार यस्ता घटनाको निरिह र लाचार साक्षी बनेको छ । यस्तो अवस्थामा हाम्रो संगठन अत्यन्तै गम्भिर रुपमा निम्न मागहरू प्रस्तुत गर्दछ ।

१. निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट लगायत देशभर महिला तथा छात्राहरू माथि भईरहेको बलात्कार, हत्या हिंसामा घटनाको निष्पक्ष छानबिन गरी अपराधी दोषीहरूलाई कडा कारबाही गर्न र पिडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिन ठोस पहल गरियोस् ।

२. स्थानिय निकायमा रहेका स्कुल कलेजमा पढ्ने छात्राहरूको आत्मसुरक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् ।

छात्राहरूको आत्मसुरक्षा तालिमको व्यवस्थाको माग गर्दै अखिल (क्रान्तिकारी)ले देशव्यापी रुपमा मागपत्र बुझाएको छ ।