खुल्ला सिमानाका  कारण व्यापारी मारमा

फागुन ४, बुटवल । खुल्ला सिमानाका कारण व्यवसाय दिनप्रतिदिन धाराशायी हुँदै गएको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपालको सिमामा पर्ने भारतको सुनौली बजार नेपाली उपभोक्ताका कारण गुल्जार भएपनि नेपाली बजार भने सुनसान हुँदै गएको उनीहरुले बताए ।

बुटवल उद्योग बाणिज्य संघ अन्तरगत गठिट कपडा बस्तुगत समितिको आयोजनामा भएको भेटघाट तथा फेलोशिप कार्यक्रममा व्यवसायीहरुले खुला सिमानाका कारण राजश्व तिरेर नेपालमा व्यवसाय गर्ने व्यवसायी मारमा परेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले व्यवसायीको समस्या उजागर गर्ने तथा समस्या समाधानको लागि पहल तथा पैरवी गर्दै आएपनि सरकारले त्यसलाई नसुनेका कारण समस्या जस्ताको त्यस्तै रहेको बताउनुभयो । उहाँले संघले अंगाडी सारेका कार्यक्रममा व्यवसायीको साथ तथा सहयोगको लागि समेत धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उत्तिकै साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।

त्यस्तै संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्लीले आफू संघको अध्यक्ष हुँदा नगदे बालीमा व्यवसायिकरण तथा दुग्ध प्रशोधन (डेरी) व्यबसायमा सुरु गरेको स्मरण गर्दै सुरुका दिनदेखि नै संघले अंगाडी सारेका योजनाले मूर्त रुप लिएको बताउँदै समस्या पहिचान गरेर त्यसको पैरवी गर्दै जाँदा कुनै दिन समाधान हुने विश्वास दिलाउनु भयो ।

त्यस्तैगरी संघका वरिष्ठ उपाध्यक्ष पूर्व अध्यक्ष नवराज श्रेष्ठ अध्यक्ष हुँदा नयाँ अवधारणा ल्याएर बस्तुगत समिति गठन गरिएको बताउँदै त्यसले सम्बन्धित व्यबसायको समस्या पहिचान र समाधानको लागि पहल पैरवी गर्न समेत सहज भएको भनाई राख्नुभयो ।

कपडा बस्तुगत समितिका पूर्व अध्यक्ष तथा संघका कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठले बिशेष गरेर खुला सिमाका कारण कपडा व्यबसायी बढी मारमा परेको बताउँदै यो समस्या समाधानको लागि बिशेष पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले उक्त समितिले संघले अंगाडी सारेका कार्यक्रममा विशेष सहयोग गरेको समेत स्मरण गराउँदै त्यसको मुल्यांकन गर्न संघलाई आग्रह गर्नुभयो ।

कार्यक्रम कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठको अध्यक्षता तथा सचिव सबिर मियाँको सञ्चालनमा भएको थियो ।