एलआइसीद्वारा बिमा दाबी रकम हस्तान्तरण

स्वर्गीय ज्ञानराज बलको परिवारलाई बिमा दावी हस्तान्तरण

एलआइसीद्वारा बिमा दाबी रकम हस्तान्तरण

बुटवल, ३ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका बिमीतका परिवारलाई जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहा निबासी स्वर्गीय ज्ञानराज बलको परिवारलाई सोमबार बीमा दावी बापत ३ लाख ८४ हजार ३६४ रुपियाँ बिमा दावी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक गिरिराज घिमिरे, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता कल्पना बस्नेतले बीमा दावीबापतको रकम स्वर्गीय ज्ञानराजकी श्रीमती हिरा पेग्नीलाई हस्तान्तरण गरेका थिए ।

मृतक ज्ञानराजले तीन वर्षअघि ३ लाख रुपियाँको जीवन आनन्द बीमा गरेका थिए । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख गिरिराज घिमिरेले आफुहरुले प्रदान गरेको उक्त रकमले मृतकको परिवारको घाउमा मलमको काम गर्ने बताए । एजेन्सी म्यानेजर यमबहादुर राना मगरले आवश्यक कागजात पत्रचार गरेको मृत्यु भएको दुई महिनामा दावी रकम हस्तान्तरण गरेको भन्दै कम्पनीको विश्वसनीयता बारे आफ्नो धारणा राखेका थिए ।

बीमित ज्ञानराज बलको कोरोना संक्रमणका कारण उपचारको क्रममा गत मंसिर २० गते काठमाडौंमा निधन भएको थियो । बीमा रकम बुझेपछि ज्ञानराजकी पत्नी हिराले संकटको बेला बीमा बापत पाएको रकमले ठुलो राहत पुगेको बताइन् ।