चीनबाट माओत्सेतुङको भूमि हेर्दा

हरेक चिनियाँको हृदयमा छन्- माओ।

चीनबाट माओत्सेतुङको भूमि हेर्दा

चेतनाथ आचार्य/आज डिसेम्बर २६ तारिख, १२७औं माओ जयन्ती। नयाँ चीनका संस्थापक माओ चतोङलाई विश्वले अध्यक्ष माओका नामले चिन्ने गर्छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा माओ लामो समयसम्म अध्यक्ष रहे। उनको देहान्तपछि सीपीसीले अध्यक्ष पद नै हटायो र माओलाई सम्मानस्वरूप सधैंका लागि अध्यक्षको मान्यता दियाे। 

तपाईं चीन भ्रमणमा आउनुभएको भए थाहा पाउनुभएकै होला- यहाँ उनको लोकप्रियता। पर्यटकको भीड लाग्ने बेइजिङको केन्द्रभाग थिआनआनमन क्षेत्रआसपासका पसल माओकै मूर्तिले भरिभराउ हुन्छन्। पर्यटकलाई लक्ष्य गरी माओको चित्रअंकित खाकीका टोपी उत्तिकै छन्। टिसर्ट, लकेट, प्लेट, कलम, चुरोट, तास, डायरी, क्यालेन्डर, झोला, ज्याकेट जेमा पनि माओकै तस्बिर। हिजोआज बिजुली जडान गरिएका चमकदार र आकर्षक सजावटमा पनि माओ नै। ग्रेटवाल पुग्नुभयो भने ‘ग्रेटवाल चढेको व्यक्ति मात्र बहादुर हुन्छ’ भन्ने माओको भनाइ उल्लेख गरिएका उपहार छ्यासछ्यास्ती देख्नुहुनेछ।

चीनका पुस्तक पसलमा कुनै एक व्यक्तिबारे लेखिएका धेरै किताब छन् भने ती माओकै हुन्। सांस्कृतिक क्रान्तिको समय सन् १९६६ देखि १९७६ सम्म १० वर्षमा माओका निर्देशन र भनाइ संकलित ‘रातो किताब’ चीनका दूरदराजका किसान र मजदुरका हातहातमा पुगेको थियो। जतिबेला विवाहमा समेत त्याे किताब अनिवार्य मानिन्थ्यो। अहिले पनि चिनियाँ भाषामा मात्र होइन, अन्य विभिन्न भाषामा ‘रातो किताब’ प्रशस्त पाइन्छन्।

हरेक चिनियाँको हृदयमा छन्- माओ। आफ्नो देशका १ अर्ब ४० करोड नागरिकको मनमा मात्र होइन, चीन भ्रमणमा आउने हरेक विदेशीका दिलमा समेत बस्न सफल छन्, उनी। माओलाई सधैं सम्झना गराइरहने र सबैले साथमा लिएर हिँड्नुपर्ने एउटा कारण हो- चिनियाँ मुद्रा। चिनियाँ कागजी नोटमा १ युआनदेखि माथिका नोटमा माओको तस्बिर हुन्छन्। चीनमा १ युआनभन्दा साना नोट पनि हुन्छन्, तर तिनमा माओको चित्र होइन, किसान, मजदुर, अल्पसंख्यक नागरिकका तस्बिर राखिएका हुन्छन्।

चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको ७१ वर्ष नाघेको छ। सात दसकभन्दा लामो समय अध्यक्ष रहेका माओको सम्मान कस्तो छ भन्ने कुराको उदाहरण मैले सन् २०१९ मा तिब्बत जाँदा देखेको थिएँ। हुन त सन् २००६ मा म पहिलोपटक तिब्बत भ्रमणमा गएको थिएँ। तर त्यतिबेला खासै वास्ता गरेको थिइँन। १३ वर्षपछि दोस्रोपटक त्यहाँ जाँदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने तिब्बती किसानका घरमा माओको रंगीन तस्बिर ठूलो फ्रेममा सजाएर राखिएको देखें।

पृष्ठभूमिमा पाँचतारे चिनियाँ राष्ट्रिय झन्डा रहेको त्यस तस्बिरमा ५ व्यक्ति थिए- सबैभन्दा माथि माओ त्यसपछि थोरै तल दाहिनेपट्टि तङ स्याओ फिङ, अलिकति तल देब्रेतिर च्याङ चमिन, त्यसभन्दा तल दाहिनेपट्टि हु चिनथाओ र देब्रेतिर पुछारमा सी चिनफिङ। चिनियाँ कम्युनिस्ट पार्टीको ७ दसकको शासन सत्तामा तिनै ५ नेताको भूमिका प्रमुख थियो भन्ने कुरा तस्बिरले बताउँछ। त्यो तस्बिर कुनै नेता वा कार्यकर्ताका घरमा होइन, तिब्बतको दुर्गम गाउँका किसान र पशुपालकका घरमा साजसज्जाका साथ राखिएको देखेपछि चीनमा माओलगायत चिनियाँ कम्युनिस्ट पार्टीका नेताप्रति कति श्रद्धा र माया रहेछ भन्ने कुरा थाहा पाएँ।

चीनका गाउँगाउँमा माओ कति लोकप्रिय छन् भन्ने अर्को उदाहरण हो-  संग्रहालयहरू। सन् १९२७ अगस्ट १ तारिख चीनमा माओको नेतृत्वमा जनयुद्ध सुरु भएको थियो। त्यसबेला माओ हिँडेका बाटो, बास बसेका सेल्टर, सुतेका ओछ्यान, उनले खाना खाएका थालबटुका, माओले चलाएका कलम, प्रयोग गरेका चपस्टिक्स, पढेका पुस्तक सबै संरक्षण गरेर यथास्थानमै राखिएका छन्, जसलाई ‘लालपर्यटन’ अर्थात् ‘रेड टुरिजम’का रूपमा विकास गरिएको छ।

म सन् २०१७ जुनमा चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको भ्रमणमा गएको थिएँ। जसको दक्षिणमा रहेको काननान तिब्बती स्वायत्त प्रिफेक्चरस्थित एक घरमा हामीलाई अवलोकनका लागि लगिएको थियो। वरिपरि अग्ला र भव्य भवनहरूका बीचमा एउटा पुरानो होचो घर थियो। काठको भर्‍याङ चढेर घरको माथिल्लो तलामा पुगेपछि थाहा भयो- युद्धकालमा माओ त्यो कोठामा ३ दिन बसेका रहेछन्। त्यहाँ उनका ओछ्यान, लुगा र अन्य सामग्री सजाएर राखिएका रहेछन्। माओ सधैं लेखपढमा व्यस्त रहने भएकाले उनले प्रयोग गरेका कापी/कलम पनि थिए, त्यहाँ। अनि उनी तारन्तार चुरोट तान्ने हुनाले एउटा रिकापीमा चुरोटका थुप्रै खिली पनि थिए।

कान्सु प्रान्तको काननान भन्ने स्थान उच्च भूभागमा पर्ने भएकाले जुन महिनामा पनि निकै चिसो थियो। माओ बस्ता कोठा न्यानो बनाउन चुल्होमा दाउरा बालिएकोलगायत चिज अहिले पनि उस्तै जतनसाथ राखिएका रहेछन्। जम्मा ३ दिन सेल्टर लिएको ठाउँलाई त त्यसरी संरक्षण गरिएको छ भने पल्लो सान्सी प्रान्तको यानआन कस्तो होला ?! जुन ठाउँमा युद्धकालमा चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा लामो समय हेडक्वाटर राखिएको थियो। माओ जन्मिएको हुनान प्रान्तको सावोसानको घरलाई पनि संग्रहालयका रूपमा संरक्षण गरिएको छ।

नेपालमा पनि माओ चतुङ निकै लोकप्रिय भएका थिए। १०-१२ वर्षअघि टेलिभिजनमा कुनै विदेशी च्यानल हेर्दै गर्दा नेपालमा १० वर्ष चलेको माओवादी विद्रोहको डकुमेन्ट्री हेरेको थिएँ। डकुमेन्ट्री सञ्चालक कुनै युरोपेली व्यक्ति खासाबाट चीनको स्वायत्त प्रदेश तिब्बत प्रवेश गरेपछि भन्दै थिए- ‘अहिले माओवादीको मुलुकबाट माओको मुलुकमा जाँदै छु।’ उनको भनाइबाट पुष्टि हुन्थ्यो- नेपाल माओवादीको मुलुक भनेर चर्चित भइसकेको छ। ती उद्घोषकले भनेजस्तै म पनि माओवादीको मुलुकबाट माओको मुलुकमा रहेछु, यतिबेला।

हुन पनि कुनै बेला नेपालमा माओवादी पुच्छर गाँसिएका राजनीतिक दलको संख्या झन्डै दर्जन पुगेको थियो। एकै समय माओवादी विचार बोकेका यति धेरै पार्टी एउटै देशमा हुनु आश्चर्य हो। यसैले होला- नेपालमा ‘माओवाद’ अत्यन्त लोकप्रिय छ भनेर चिनियाँ पत्रिकामा पनि पढेको थिएँ, ५ वर्षअगाडि।

माओको जन्मजयन्तीकै दिन पारेर २०३५ पुस ११ गते ‘नेकपा माले’ स्थापना गरिएको थियो। जतिबेला माओको निधन भएको २ वर्ष मात्र भएको थियो। नेकपा मालेले आफ्नो स्थापना दिवस मनाउने क्रममा भए पनि नेपालमा माओलाई सम्झिने क्रम सुरु भयो। पछि त्यही माले एमाले भयो र दक्षिण एसियामा पहिलो निर्वाचित कम्युनिस्ट सरकारका रूपमा २०५१ सालमा सत्तारोहण गर्‍यो। २०५२ सालदेखि नेपालको अर्को कम्युनिस्ट समूहले माओवादीका नाममा सशस्त्र विद्रोह सुरु गर्‍यो। दसवर्षे विद्रोहको अवतरणसहित नेपाल गणतन्त्रको यात्रामा अगाडि बढ्यो। हो, त्यही क्रममा नेपालमा असारे च्याउसरी माओवादी पुच्छर झुन्ड्याइएका राजनीतिक दल देखापरेका हुन्। यसरी नेपालमा माओवादी नामका पार्टी प्रशस्त देखिए पनि माओको विचार अनुसरण गर्ने भने कोही देखिएनन्।

नेपालका कम्युनिस्टहरूको वर्तमान अवस्थाबारे त केही बताउनै परेन। माओको जन्मजयन्तीमा स्थापित राजनीतिक दल र माओकै विचार अँगालेर शसस्त्र विद्रोह गरेको पार्टीबीच एकता भएको थियो। तर त्यो अब इतिहास बनिसकेको छ। अध्यक्ष माओले सधैं भन्थे, ‘जनताका निम्ति काम गर, किसान र मजदुरको हितमा जीवन समर्पण गर’। तर नेपालका किसान र मजदुरको अवस्था झन् झन् खराब हुँदै गएको छ।

सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको सावोसानमा जन्मिएका माओको देहान्त १९७६ सेप्टेम्बर ९ का दिन बेइजिङमा भयो। तर उनको शव अहिलेसम्म सुरक्षित छ। बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन क्षेत्रको दक्षिणपट्टि माओ स्मारक भवनमा माओ सुतिरहेका छन्। उनको निधन भएको अढाई महिनापछि १९७६ नोभेम्बर २४ मा स्मारक भवन निर्माण सुरु गरिएको थियो। सन् १९७७ मे २४ मा तयार भएको भवन निर्माण क्रममा चीनका विभिन्न प्रान्तका ७ लाख नागरिकले सांकेतिक रूपमा स्वयंसेवा गरेका थिए। भवनमा चीनका विभिन्न प्रान्तका फरक-फरक वस्तु प्रयोग भएका छन्।

सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटोको प्लेट, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बीउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्यान्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा स्मारक भवनमा मिसाइएका छन्। अनि सीमामा उभिएको भए पनि नेपालको शान विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ढुंगाको नमुना ल्याई भवनमा प्रयोग गरिएको छ।

माओ स्मारक भवनको प्रमुख प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा टल्किरहेछ- ‘अध्यक्ष माओ स्मारक हल’। जुन भवन मंगलबारदेखि आइतबारसम्म बिहान ८ बजेदेखि दिउँसाे १२ बजेसम्म खुला रहन्छ। माओको जन्मदिन डिसेम्बर २६ र निधन भएको दिन सेप्टेम्बर ९ मा चाहिँ दिउँसो २ देखि ४ बजेसम्म पनि हल खुला गरिन्छ। यी २ दिन त्यहाँ माओप्रति श्रद्धा अर्पण गर्न आउने मानिस अन्य बेलाभन्दा कैयौं गुणा बढी हुन्छन्।

‘सधैं जनतालाई प्राथमिकता दिनुपर्छ।’ चीनका वर्तमान राष्ट्रपति सी चिनफिङले दोहोर्‍याइरहने विचार हो यो। जनताका पीरमर्का बुझेर उनीहरूका निम्ति काम गर्नुपर्छ भन्ने संस्कारको सुरुवात अध्यक्ष माओले गरेका हुन्। देश र जनताको सेवा नै राजनीतिको मियो हो भन्ने विचारलाई सबै चिनियाँ नेताले दरिलोगरी अँगालेका छन्।

नेपालका राजनीतिक दल तथा तिनका नेताले अझै सच्चा माओवाद अर्थात् माओ विचार बुझ्न सकेका छैनन्। नाममा माओवाद झुन्ड्याएर मात्र माओवादी भइन्न। साँच्चै माओवादी हुन त जनताको सेवा गर्नुपर्छ। त्यो नै माओ चतोङको सम्मान हो र माओवाद बुझ्नु हो। जनताका नेता माओको १२७औं जन्मजयन्तीमा हार्दिक श्रद्धाञ्जली !

Nepalkhabar