भारतको रोजगारी छोडेर गाउँमै तरकारी खेती, तीन सय किसान लाभान्वित

अछाम बान्निगडी जयगढ गाउँपालिकाको गाँज्राका बज्जिर सिंह सार्कीले बजारको तरकारी किनेर खान छाडेको २० वर्ष भयो । अहिले उनले पाँच रोपनी जग्गामा तरकारी लगाएका छन् ।

२०५६ सालदेखि तरकारी खेती गर्न थालेका सार्कीको सिको गरेर अहिले यो गाउँपालिकामा व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या तीन सय पुगेको छ । उनीहरु घरमा चाहिने तरकारी छुट्याएर प्रति परिवार ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् । ‘पहिले त सबै मजदूरी गर्न भारत जान्थे,’ सार्कीले भने, ‘अहिले तरकारीका कारण धेरैले भारत जान छाडे । गाउँले सबै तरकारी खेतीमै रोजगार बनेका छन् ।’

गाँज्रा पुग्ने जोसुकै पनि अहिले छक्क पर्छन् । ‘पहिले यो गाउँमा कसैको घरमा पनि हरियो तरकारी पाक्दैनथ्यो । अहिले गाडी भरेर यहीँ गाउँको तरकारी बजार पुग्छ,’ स्थानीय जेटीए निराजन स्वारले भने । यहाँका किसानले उत्पादन गरेको तरकारीले मंगलसेन, जयगढ, बयलपाटा र साँफेमा राम्रो बजार लिएको छ । स्थानीय उत्पादन बढेपछि तराईबाट आयात गरिने तरकारी बिक्न छाडेको साँफेबगर नगरपालिका–४ का वडाध्यक्ष बालगिरी कुँवरले बताए । ट्रकमा तराईबाट तरकारी आयात गर्दै आएको अछामले पछिल्ला केही बर्षयता आफ्नै उत्पादनको प्रयोग बढाएपछि किसानहरु खुसी छन् ।

पाँच वर्षदेखि तरकारी खेतीमा लागेका गाँज्राकै निरकबहादुर खड्का एक्लैले अहिलेसम्म ११ लाखको तरकारी बेचेको दाबी गर्छन् । ‘मैले हरेक वर्ष दुई लाख बढीको तरकारी बेच्छु,’उनले भने,‘लगानी मात्रै लाखौ पुगिसक्यो । अझै धेरै जग्गामा तरकारी लगाउने योजना छ ।’ सुरुमा मालिका बिकास संघ नेपालले गाउँमा निशुल्क बिउ बाडेपछि खानलाई मात्र तरकारी लगाएका उनले अहिले पाँच रोपनी जग्गामा टमाटर, काँक्रा, आलु, फर्सी, मुला, खुर्सानी, भान्टा, लौका, सिमी र प्याज लगाएका छन् ।

मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका उनले ‘अफसिजन’ मा एकैदिन दश हजारसम्मको तरकारी बेच्ने गरेको बताए । केही वर्ष यता किसानहरु व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेको बान्निगडी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए । ‘तरकारी उत्पादनलाई थप व्यवस्थित बनाउने योजना छ,’ उनले भने, ‘जसले जिल्ला नै समृद्धि बन्ने छ । सबैले घरमै रोजगारी पाउने छन्।’ गाउँ पालिकाको समन्वयमा मालिका बिकास संघ नेपालले भौतिक तथा प्राविधिक सहयोग गर्दै आएका गाँज्रा, बरदादेबी, छातासैन लगायतका ठाउँलाई तरकारीको पकेट क्षेत्रका रुपमा बिकास गर्ने योजना रहेको उनले बताए ।

त्यहाँ विशेषगरी मौसमी र बेमौसमी तरकारी उत्पादनमा लगानी बढाउने तयारी भइरहेको छ । अहिले व्यवसायिक रुपमा तरकारी खेतीमा लागेपछि यो गाउँका अधिकांश पुरुष मजदूरीका लागि भारत जान छाडेका छन् । व्यवसायिक किसान बज्जिर सार्कीले आफ्ना छोराहरुलाई भारतबाट फिर्ता बोलाएर तरकारीको व्यवसायमा लगाए ।

उनले मात्र होइन यो गाउँका दुई सय बढी परिवारका पुरुषहरु तरकारी खेतीमा रोजगार बनेका छन् । थोरै मिहेनतले धेरै आम्दानी हुन थालेपछि काम खोज्न भारत जाने केही मासिनहरु तरकारी खेतीमा लागेको स्थानीय कुलबहादुर सेठ्ठीले बताए । ‘ज्याला मजदुरी गर्ने र भारत जानेहरु तरकारी खेतीमा लागेका छन्,’उनले भने,‘जसले गर्दा मानिसहरु बेरोजगार बस्नु परेको छैन । काम खोज्दै अन्यत्र जानुपनि पर्दैन ।’

घर खर्च चलाउन हरेकले तरकारी खेती गर्ने गरेको भएपनि २४ जना किसानले ठुलै व्यवसायका रुपमा तरकारी लगाउने गरेका छन् । गाउँमै तरकारी संकलन केन्द्र स्थापना गरेयता उनीहरुलाई झन् सहज भएको छ । अहिले सबै किसानले संकलन केन्द्रमा ल्याएर तरकारी बेच्ने गरेका छन् । जसका कारण बजार धाउनुपर्ने बाध्यता पनि हटेको छ ।