नेकपा गुल्मीले घमिर घटनामा संलग्नलाई कारवाही गर्ने

स्थानीय जनप्रतिनिधि संलग्न भएको आरोप

नेकपा गुल्मीले घमिर घटनामा संलग्नलाई कारवाही गर्ने

माघ १०, गुल्मी । नेकपा गुल्मीले जिल्लाको मालिका गाउँपालिका घमिरस्थित देविस्थान मावि र वडा नं. ७ को कार्यालयमा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीलाई कडा कारवाही गर्ने बताएको छ । 

जिल्ला सेक्रेटरी माहुरीले शनिबार एक वक्तव्य जारी गर्दै दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारहरु संलग्न रहेको जनगुनासो आएको भन्दै यसबारे पार्टीले अनुसन्धान गर्ने बताएका छन् ।

वक्तव्यमा माहुरीले भनेका छन्, “गत मंसिर ७ गते गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित देविस्थान माविमा निर्माण भइरहेको नयाँ भवनको दिवाल अज्ञात समूहले भत्काएको थियो । उक्त घटना सरकारी योजनामा नै केही स्वार्थ समूहले नियोजित घटाएको भनि स्थानीय जनगुनासो हुँदै आएको छ ।”

वक्तव्यमा भनिएको छ, “उक्त गाउँपालिकाकै वडा नं. ७ को कार्यालयबाट असोज १० गते  ६० हजार नगद, पुष ९ गते ३० हजार नगद, एकथान ल्यापटप, माघ ७ कार्यालयमा रहेको एकथान कम्प्युटर चोरी र अन्य भौतिक सामग्रीमाथि तोडफोड भएको भनिएको छ । पटक–पटक एउटै कार्यालयबाट एउटै प्रकृतिका घटनाहरू दोहोरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराघारी फाडेको घटना समेत सार्वजनिक भएको छ । यी दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदार समेत संलग्न रहेको भनि व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाबारे यथासक्य सत्यतथ्य छानविन गरी सार्वजनिक नगरे पार्टीले अनुसन्धान गरी कडा कारवाही गर्ने जानकारी गराउँदछौं ।”