सरकारले नेकपामाथि प्रतिबन्ध लगाउनु गलत हो : किरण

नयाँ पत्रिकामा किरणसितको अन्तर्वार्ता

सरकारले नेकपामाथि प्रतिबन्ध लगाउनु गलत हो : किरण


नयाँ पत्रिकामा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणसितको अन्तर्वार्ता

'प्रतिनिधिसभा विघटन केपी ओलीको महामूर्ख कदम'

मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा क्रान्तिकारी माओवादी 

मोहन वैद्य (किरण) उमेरले सत्तरीको दशकमा हिँड्दै छन् । नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव उनी संगठन विस्तारमा सक्रिय छन् । पार्टीको केन्द्रीय समितिको बैठकका लागि मोरङको लक्ष्मीमार्गमा आएका वेला शुक्रबार नयाँ पत्रिकाले प्रतिनिधिसभा विघटन र वर्तमान राजनीतिबारे उनीसँग गरेको संक्षिप्त कुराकानी :

सत्ताधारी दल नेकपाभित्र भइरहेको दुई समूहको संघर्षलाई कसरी बुझ्नुभएको छ ?

नेकपामा हाल प्रचण्ड–माधव र प्रधानमन्त्री केपी समूहबीच भइरहेको झगडा नितान्त अन्तर्कलहको परिणाम हो । पद र प्रतिष्ठाको झगडाकै कारण प्रतिनिधिसभा विघटन भएको हो । 

प्रधानमन्त्री केपी ओलीले बलात् प्रतिनिधिसभा विघटन गर्नुलाई तपाईंको पार्टीले कसरी लिएको छ ?

बलात् पद र प्रतिष्ठाको स्वार्थका लागि प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन मात्र नभएर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मास्ने कदम हो । यो असंवैधानिक मात्र नभएर पटमूर्खताको उदाहरण हो । किनभने जनताले अथक संघर्ष गरेर चाहेको जस्तो नभए पनि आंशिक संविधान बनाउन सफल भएका थिए । तर, अब त्यो पनि मास्ने काम भएको छ । 

अब प्रतिनिधिसभाको पुनस्र्थापना र चुनाव कुन ठीक होला ?

दुईमध्ये जे भए पनि त्यो देश र जनताको हितमा हुँदैन । मध्यावधि चुनाव हुने वा गराउने न त अवस्था छ न त योजना । अनि संसद् पुनस्र्थापना भए पनि न त देशमा समृद्धि आउँछ न त जनता सुखी हुन्छन् । उही संसदीय व्यवस्थाको कलहमा देश फस्छ, झन् जर्जर बन्दै जान्छ । विस्तारवाद हाबी हुँदै जान्छ । 

चुनाव भयो भने तपाईंहरू के गर्नुहुन्छ नि ?

अवस्था हेरेर उपयोग वा बहिष्कार के गर्ने हो निर्णय गर्छौँ । तर, देशमा चुनाव हुने वातावरण छैन । बरु असफल भएको संसदीय व्यवस्था अब फासीवादमा परिणत भएर जाने खतरा बढेको छ । जनताले झन् धेरै दुःख पाउनेछन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो भने त प्रतिगनम सच्चिन्छ होला नि त ?

अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे पनि प्रतिगमन सच्चिनेवाला छैन । बरु अझै डरलाग्दो अवस्था आउन सक्छ । सत्ताको स्वार्थले विकृत भएर असफल भएको संसदीय व्यवस्था फासीवादमा जान्छ । देशमा संकटकाल लाग्न सक्छ । सैनिकीकरण बढेर जान्छ । 

नेपालमा अब कम्युनिस्टहरू पूर्ण रूपमा असफल भए भन्ने तर्क पनि छ नि, यो सत्य हो ?

होइन, कम्युनिस्टहरू असफल भएका होइनन् । हामी क्रान्तिकारीहरू त्यसलाई मान्दैनौँ । संसदीय व्यवस्था मान्ने कम्युनिस्ट भनाउनेहरूचाहिँ असफल भएका हुन् । साँचो अर्थमा संसदीय व्यवस्था मान्नेहरू कम्युनिस्ट नै होइनन् । कम्युनिस्टहरू त निरन्तर क्रान्ति सफल बनाउन आफ्नो संघर्षमा लागिरहेका छन् । अझै क्रान्ति सफल भएको छैन । यसैले अब झन् धेरै कम्युनिस्टहरूले गोलबद्ध भएर सफलता हासिल गर्न लागिपर्ने समय आएको छ । 

आपसी कलह र टुटफुटले कम्युनिस्टहरू झन्झन् मासिँदै गइरहेका छन् नि त ?

हो, नेपालमा कलह र टुटफुटले कम्युनिस्टहरू कमजोर जरुर भएका छन् । तर, उनीहरू मासिएका छैनन् । अब क्रान्तिकारीहरूलाई गोलबद्ध हुने उचित समय आएकोले उनीहरू गोलबद्ध हुँदै जानेछन् । यो अवसर पनि हो । कम्युनिस्टहरूले उपयोग पनि गर्नुपर्छ । बरु विश्वमै संसदीय व्यवस्था असफल भइरहेको छ । जापान, अमेरिका अनि नेपालकै उदाहरणले यो प्रस्ट पारिसकेको छ । नेपालमा बहुमत ल्याएको पार्टीले नै संसद् विघटन गरायो । नेपालमा अब संसदीय व्यवस्थाको मिति पुग्यो । 

विश्वले लोकतन्त्रको उच्च नमुना मानेको संसदीय व्यवस्थालाई तपाईंले फासीवादको रूप भन्नुभयो, अलि प्रस्ट पारिदिनु न ।

बहुमत ल्याएर सरकारको नेतृत्व गरेको पार्टीले नै प्रतिनिधिसभा विघटन गर्नु, प्रधानमन्त्रीले पार्टीलाई पनि नमान्नु, साना दलहरूलाई ‘थ्रेस होल्ड’ लगाएर अधिकारबाट वञ्चित गराउनु यो सबै के हो फासीवादी चरित्र नभए ? जब संसदीय व्यवस्था विकृत बन्छ त्यसले फासीवादको रूप लिन्छ । नेपालमा पनि यही भएको हो । 

विप्लवहरूसँग सहकार्यको कत्तिको सम्भावना छ ?

सम्भावना छ । कुराकानी भइरहेको छ । तर, उहाँहरूका केही कमी–कमाजोरी सच्याउनुपर्छ । सरकारले विप्लवहरूमाथिको प्रतिबन्ध लगाउनु गलत हो । किनभने उनीहरू सेना–प्रहरीसँग भिडेका छैनन् । हानि–नोक्सानी पु¥याएका छैनन् । 

प्रचण्डहरूसँग एकता हुने सम्भावनाचाहिँ कत्तिको छ ?

प्रचण्डजीका कुरा गरिसाध्य छैन । उहाँ उल्टोसुल्टो दुवैतर्फ छलाङ मार्नुहुन्छ । उहाँ संसद्वादी, हामी क्रान्तिकारी । यसैले सहकार्य वा एकता हुने कुरै आउँदैन । अँ उहाँले देश र जनतामाझ ‘म सच्चिएँ, अब संसदीय भासमा जान्नँ’ भनेर कसम खाएर आउनुभयो भनेचाहिँ हामी स्वीकार गर्छौँ । जहाँसम्म भूमिगत हुँदा प्रचण्डसँग मिल्नुभएकै थियो अहिलेचाहिँ किन दूरी भन्ने कुरा छ, भूमिगत हुँदा हामी नयाँ राज्यसत्ता स्थापनाका लागि लडेका थियाैँ । तर, उहाँहरू संसदीय व्यवस्थामा भासिएपछि हामी अलग भएका हौँ । 

गणतन्त्र रक्षाका लागि संयुक्त मोर्चा बनाउने सम्भावना कत्तिको छ ?

गणतन्त्र मात्र नभनौँ जनगणतन्त्रको स्थापनाका लागि संयुक्त मोर्चा बन्ने सम्भावना छ । क्रान्तिकारीहरू एक भएर मोर्चा बनाउन सकिन्छ । अहिले शान्ति र सुशासन छैन । प्रतिगमन हाबी भएको छ । जनताले प्राप्त गरेका आंशिक उपलब्धिहरू मास्ने काम भइरहेको छ । तर, जनताले रूपान्तरण चाहिरहेका छन् । जनता अस्तव्यस्त शासन सत्ता रुचाउँदैनन् । मलाई लाग्छ– अब डबल नेकपाभित्रबाट पनि धेरै क्रान्तिकारीहरू संघर्षमा सामेल हुन आउनुहुनेछ । अब चुनावबाट केही गरौँला भन्ने सपना पूर्ण असफल भइसक्यो, यसैले प्रतिगमनकारी र संसद्वादीबाहेककासँग मोर्चा बन्न सक्छ । 

भूमिगतकालदेखि साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रचण्डको साथ छाडेर ओलीतिर गए नि, किन होला ?

बादल प्रचण्डसँग रहनु र ओलीतिर जानुमा कुनै अचम्म मानिरहनुपर्दैन । किनभने सत्ता र स्वार्थका लागि यो नौलो कुरै होइन । बादलले जता कुर्सी पाए उतै गए । फेरि प्रचण्ड र ओलीमा खासै फरक पनि त छैन । फरक यत्ति हो, ओली पार्टीभित्र पनि निरंकुशवाद हाबी गराउँछन् । 

तपाईंहरू ‘थ्रेस होल्ड’को डरमा कहिलेसम्म चुनावबाट भागिरहने ?

हो, हाम्रो शक्ति अहिले कमजोर छ । तर, हामी डरले भागेका होइनौँ । सत्ता क्रान्तिकारी र प्रतिक्रियावादी दुई प्रकारको हुन्छ । हामी क्रान्तिकारी धारका हौँ, प्रतिक्रियावादी धारमा सामेल हुन चाहँदैनौँ । र, हामी अहिले सानो छौँ भनेर हीनभावना पनि पाल्दैनौँ । किनभने हिजो झापा आन्दोलन हुँदा एमाले कत्रो थियो र जनयुद्ध सुरु गर्दा माओवादीमा हामी कतिजना थियौँ ? झिल्को आफैँ विकास भएर जान्छ ।

तपाईं उमेरले पाको भइसक्नुभयो, अब तपाईं बुढो बाघ एक्लैले सिकार गर्न सक्नुहुन्छ र ?

हामी बुढो बाघ होइनौँ । मरिसकेको राजतन्त्र ब्युँताउनुपर्छ भनेर लागिपर्नेहरू बुढो बाघ हुन् । हामी त तन्नेरी बाघ हौँ । किनभने हामी जनगणतन्त्र र जनसंविधानका कुरा गर्छौँ । अग्रगामी विचारलाई बुढो भन्न मिल्दैन । जो परिवर्तन रोज्छ त्यो कहिल्यै बुढो हुँदैन, सधैँ जवान हुन्छ । आवश्यक समयमा जनबलले जनगणतन्त्र स्थापना गरेर जनसंविधान लेखेर देखाउनेछौँ ।