बुद्विजीवीहरूको कङ्गालीकरणबारे 

दलाल पूँजीवादबाट बुद्धिजीवीवर्ग नराम्ररी प्रताडित

बुद्विजीवीहरूको कङ्गालीकरणबारे 

विज्ञान, प्रविधि  चेतनाको यो उत्पादन प्रणालीभित्र यतिबेला बुद्धिजीवर्गहरु आफैमा बौद्धिक हिसाबमा पक्षघात खेपिरहेका छन् । कंगालीकरणको उल्टो दिशातर्फ गईरहेका छन । वर्तमान उत्पादन प्रणालीले उनीहरुलाई चेतना र आर्थिक दुवै हिसाबले कंगालीकरणतर्फ अघि बढाईरहेको छ । कंगालीकरण वा रुपान्तरित गरेको छ  । जसप्रति सिंगो बौद्धिक समाज बेखबर छ ।

हुन त बुद्धिजीवी वर्ग कसलाई भन्ने ? यो प्रश्न आफैमा छलफलयोग्य छ । बुद्धिजीवी कसलाइ भन्ने ? शाब्दिक अर्थमा बुद्धिले बाँचेका वा बुद्धिसंगत ज्ञानले भरिएका । त्यसो भए बुद्धि नभएको मानिस हुन्छ त ? हरेकमा एक हदसम्म बुद्धि हुन्छ र त्यसैको सहारामा बाँच्छ । कुन हदसम्मको बुद्धिलाई बुद्धिजीवी मान्ने ? यी नाना प्रश्नहरु उब्जिन सक्छन् । त्यसो त बुद्धि ज्ञानको अवस्था पनि सापेक्षमा हुन्छ । विषय, क्षेत्र र समयसँग । धार्मिक समाजमा धर्मगुरु, पण्डित, पादरी र मूल्लाहहरु बुद्धिजीवीमा गनिन्छन् । कुनै समाजमा भद्र भलादमीहरु बुद्धिजीवीका पर्याय बनेका छन् । कहिँकतै दार्शनिक, विचारकहरु बुद्धिजीवी । कहिँकतै वैज्ञानिक, कहिँकतै अर्थशास्त्री, कहिँकतै साहित्यिक व्यक्तित्वहरु बुद्धिजीवीका पर्याय हुन्छन् । तर ध्यानदिनु योग्य कुरा यो छ कि कुनै पनि एक विद्या वा क्षेत्रको बुद्धिजीवी आजको बदलिँदो विश्वव्यापीकरण वा बढ्दो विशेषीकरणमा बिल्कुल अज्ञानी पनि हुन सक्छ । एउटा अर्थशास्त्री साहित्यमा अवोध र एउटा कलाकार राजनीतिमा असाक्षर पनि हुन सक्छ । त्यसैले वर्तमान विश्वमा बौद्धिकता वा बुद्धिजीवी कसलाई भन्ने ? यी वहसको विषय हुनसक्छ । तर पछिल्लो समयमा मूलतः औद्योगिक, उत्पादन प्रणालीभित्र बाँचेको वर्तमान विश्वमा जहिलेदेखि व्यवस्थित शिक्षालय बने, तब विद्यालय, महाविद्यालय, प्राविधिक तथा विश्वविद्यालयको डिग्रीसँग बुद्धिजीवीको मापन हुन थाल्यो ।

हुन त माथी भनेजस्तै बौद्धिकताको निरपेक्ष सम्बन्ध होइन, क्षेत्र, विधा र समयसँग सापेक्षतम सम्बन्ध हुन्छ । तर आजको नेपाली समाजभित्र पनि बुद्धिजीवीहरु पर्याय विश्वविद्यालयको अध्ययनको डिग्रीसँग हुन थालेको छ । त्यो भन्दा खतरनाक कुरा त के भने  उसले आर्जन गरेको डिग्रीभन्दा उसले बाँचिरहेको भौतिक विलासिताले पनि निर्धारण गर्दै गइरहेको छ । यात्रिक तथा पूँजीवादको प्रभावले आज गरिब ज्ञानीलाई बुद्धिजीवी मान्दैन । धनी मूर्खलाई बुद्धिजीवीको दर्जा दिन्छ । पछिल्लो दशकमा नेपालभित्र पनि यो प्रचलनको अवस्था तीब्र रुपमा हुँदै गइरहेको छ । 

सामान्यतः नेपाली समाजमा बुद्धिजीवीको सोझो बुझाईको अर्थ जो आम नेपाली मानिस भन्दा केही शैक्षिक रुपले अगाडी छ र केही बौद्धिक श्रममा जोडिएको छ,त्यसैलाई बुद्धिजीवी वर्ग भनिन्छ । सामान्यतया पढेलेखेको, शैक्षिक डिग्री हासिल गरेको, अझ बुझिने अर्थमा नेपाली सामाजको पेशागत बुद्धिजीवीहरुमा प्राध्यापक, शिक्षक, डाक्टर, वकील, पाइलट, इन्जिनियर, पत्रकार, रंगकर्मी, कलाकार, साहित्यकार, लेखक आदि । यसको श्रमको आधार विशुद्ध शारीरिक भन्दा बढी मानसिक र बौद्धिक हुने गर्दछ । 

विश्व सन्दर्भमा बदलिँदो उत्पादन प्रणालीसँगै बुद्धिजीवी वर्गको भूमिका पनि बदलिँदै गएको छ । मूलतः कृषि युगीन समाजमा अर्थात् सामन्तवादी उत्पादन प्रणालीसम्म पनि भौतिक र आर्थिक साथसाथ बुद्धिजीवी वर्ग सम्मानित अवस्थामा थियो । औद्योगिक परिवर्तनको साथसाथ विश्व परिवेशमा मात्र होइन, नेपालभित्र पनि बौद्धिकवर्गको आर्थिक, सामाजिक अवस्था जटिलतम बन्दै गएको छ । पूँजीवादमा प्रतिष्ठा पूँजीसँग जोडिने भएकोले पहिलो त हुने खाने बुद्धिजीवीहरु मात्र अस्तित्वमा छन् । नाफामूलक पुँजीवादीहरु ति बौद्धिक वर्गलाई त तिनका विचार, प्रविधि ज्ञान र व्यक्तिलाई मात्र स्थापित गर्दछन् जुन उनीहरुलाई लाभ हुन्छ । नेपाली समाजमा पनि यो किसिमको प्रचलन पछिल्लो दशकयता तीब्र रुपमा देख्न पाईन्छ ।

नेपाली सन्दर्भमा विस्तावित हुँदै गरेका बुद्धिजीवीहरु
सामन्तवादी उत्पादन प्रणाली विशेषतः राजतन्त्रात्मक समाजमा बुद्धिजीवीहरु मूलतः पण्डित, पुरोहित, राजगुरु आदि हुन्थे । विशेषतः बौद्धिकता, धर्मज्ञान र बौद्धिक दर्शन आदिसँग जोडिन्थ्यो । पण्डित, पुरोहित, आचार्य, शिक्षकहरु र गुरुहरु नै त्यो समाजका बुद्धिजीवीहरु थिए । नेपालमा आधुनिक शिक्षाको प्रचलनपछि शिक्षकहरु नै नेपाली समाजका बुद्धिजीवी भए । विश्वविद्यालयको प्राध्यापनसँगै प्राध्यापकहरु थपिए । नेपाली समाजमा लामो समयसम्म बौद्धिक मर्यादा शिक्षकवर्गले प्राप्त गरिरह्यो । तत्कालीन उत्पादन प्रणालीभित्र उसले आर्जन गर्ने आर्थिक उत्पादन सरदर जीवनशैली भन्दा माथि नै थियो ।  तत्कालीन समयमा आर्थिक हिसाबले व्यापारी, व्यवसायी, उद्यमी, कर्मचारी, राजनीतिज्ञ लगायत पेशाकर्मीहरुको आर्थिक अवस्था राम्रो भएपनि शैक्षिक व्यक्तित्व मर्यादित थियो ।

बुद्धिजीवीहरुको मौनता, दलाल पूँजीवाद विस्तारको मूल कारण बनिरहेको छ । आखिर किन मौन रहिरहेको छ त बुद्धिजीवी वर्ग ? आजको पूँजीवादी दुनियाँमा यो वर्गको सेवाको अवसर प्रत्यक्ष रुपमा पूँजीवादमै जोडिएको छ । 

पछिल्लो दशकयता नेपाली समाजमा पूँजीवादी उत्पादन प्रणालीको प्रभाव छ । नेपाली अर्थात् पूँजीवाद अमेरिका, भारत, चीन जस्तो विशेषताको हैन । मूलतः भारतसँगको बन्द व्यापारमा रहेको नेपाल विश्व उत्पादनको विक्रिस्थल बनेको छ । यो पूँजीवाद, औद्योगिक पूँजीवाद होइन । न त स्वदेशी अर्थतन्त्रमा आधारित छ । शक्तिशाली उत्पादनहरुको व्यापारिक थलो र पछिल्लो समय वैदेशिक दलाल, पूँजीवाद भित्र देखिएको अर्थतन्त्रमा समग्र राष्ट्रिय उद्योगी, व्यवसायीहरुको अस्तित्व संकटमा छ । राष्ट्रिय उद्योगहरु बर्सेनी टाँट पल्टाइनु, राज्यले नै प्रतिकूल औद्योगिक नीति लागू गर्नु र विदेशी उद्योगलाई प्रोत्साहित गर्नु वा तिनका विक्री सहज बनाउनु, राज्य सञ्चालनमा बस्नेहरुले जसबापत कमिशन खानु नै दलाल पूँजीवादका विशेषता हुन् । अन्तराष्ट्रिय निगम पूँजीवादीहरुले यस सन्दर्भमा सिंगो देशको राजनीति प्रणालीलाई दखल, हस्तक्षेप मात्र होइन, आवश्यक परे छिन्नु, हमला गरेर पनि आफ्नो आफ्ना दलालहरुलाई सत्तामा आसीन गराउँछन् र सरकार सञ्चालन गर्दछन् । आज विश्वको राजनीतिलाई त्यही निगम पूँजीवादले सताएको छ, जुन हाम्रो देशभित्र आईपुगदा राष्ट्रिय चरित्र दलालहरुको हातबाट लागू हुन्छ । विशेषगरी देशभित्र दलाल पूँजीवाद लागू गर्न, राजनीतिज्ञहरुको मार्फत् लागू गरेका हुन्छन् वा राष्ट्रिय गिनेचुनेको औद्योगिक वा सामाजिक व्यक्तित्व मार्फत् जरा गाडेका हुन्छन् । वर्तमान विश्वमा निगम पूँजीवादले विश्व अर्थप्रणालीलाई वित्तिय कारोबार, सहयोग, ऋण मार्फत् सम्बन्धित राष्ट्रका सरकारभित्र घुसेर क्रमशः त्यहाँको अर्थप्रणालीमा आफ्नो हात लिने गर्दछन् । दलाल पूँजीवादकोे यो प्रक्रियाबाट बुद्धिजीवीवर्ग नराम्ररी प्रताडित हुन पुगेको छ । पछिल्लो समयमा पूँजीवादले समग्र चिजहरुलाई बिकाउ वस्तुको रुपमा परिवर्तन गरेको छ वा नाफा घाटामा परिवर्तन गरेको छ । समग्र विश्व अर्थप्रणालीमा दान, अनुदान सहयोग आदि तिनै ठूला राष्ट्रहरुको अनूकलतामा प्राप्त हुन्छ । नेपालको शिक्षालाई नेपालको सन्दर्भमा विकास गर्ने भन्दा पनि अमेरिका र यूरोपियन युनियनको स्वार्थमा लैजाने प्रणालीको स्वीकार नेपाली विश्वविद्यालय वा विगतका नजिर हुन् । आज विश्वविद्यालयले या त देशभित्रका शैक्षिक बेरोजगार उत्पादन गरेका छन् वा विदेशीका नोकर । शिक्षाको अभिमुखीकरण नै त्यस्तो भएको छ कि सबैको गन्तव्य अमेरिका वा युरोप बनेको छ । यो खतरनाक प्रकृति राष्ट्रिय कल्याणका लागि कदापि हँदैन । त्यतिमात्र होइन, स्वास्थ्य क्षेत्रलाई व्यापारको कार्य राज्यले नै खोलिदिएको छ । निजी शिक्षा, स्वास्थ्य, पर्यटन र यहाँसम्म कि धार्मिक क्षेत्रमा समेत वैदेशिक आव्हान राज्यले नै यसरी गरेको छ कि मानौं विदेशी बिना नेपालीमा केही पनि हुन सक्दैन । यो दलाल पूँजीवादलाई डाक्ने र समावेश गर्ने एउटा बहाना मात्र हो । 

बुद्धिजीवीहरुको मौनता, दलाल पूँजीवाद विस्तारको मूल कारण बनिरहेको छ । आखिर किन मौन रहिरहेको छ त बुद्धिजीवी वर्ग ? आजको पूँजीवादी दुनियाँमा यो वर्गको सेवाको अवसर प्रत्यक्ष रुपमा पूँजीवादमै जोडिएको छ । उनीहरुको कमजोरी इंगित गर्नु आफ्नो अवसरको दायरा गुमाउनु हो । यसैले बुद्धिजीवीवर्ग आफ्नो यो अवसर धरापमा नपरोस् भन्नका लागि बुझेर पनि बोल्ने साहस गरिरहेको छैन । बरु उनीहरुसँगको निकट सहयोग कामको दक्षता वा सहयोग बढाएर यही प्रणालीभित्र आफूलाई बढी सुरक्षित बनाउन चाहन्छ । वर्तमान कतिपय अवस्थामा स्वयं पूँजीवादीहरुले ‘बफादार’ बुद्धिजीवीलाई बढी अवसर वा आश्वासनको बोेझ भिराएर आफ्नो करारमा खडा गरिरहने यिनीहरुको चरित्र हो । बुद्धिजीवीहरु पनि आफ्नो बौद्धिकता, ज्ञानप्रति विश्वस्त हुन नसक्नु, स्वाभिमान हुन नसक्नु, हिम्मतको कमी र अवसरको लालयिताले यो वर्गलाई जिन्दगीभरी दौडाइरहेको छ । जिन्दगीको यो  मुसादौडमा उपलब्धिहीन भएर सकिइरहेको छ । आफ्नो जीवन सुरक्षाका लागि, अवसर प्राप्तिका लागि ऊ जीवनभर दलाल पूँजीवाद, भ्रष्टाचारी, सरकार र कर्मचारीतन्त्रभित्रका विकृतिका बारेमा मौन रहेर जीवन बिताउँछ । हजारौंमा एकाध व्यक्ति उनीहरुले टिप्छन् । त्यही एकको लालसा हेरेर हजारौंले जिन्दगी बर्बाद गर्छन् । समय बितिसकेपछि उमेर गइसकेपछि मात्र पछुताउँछन् र असन्तोष व्यक्त गर्छन् । त्यतिबेला जिन्दगीको उर्वर उर्जा सकिइरहेको हुन्छ । अर्थ रहँदैन । यो नै बुद्धिजीवीवर्गको विगत हो । बुद्धिजीवीवर्ग वर्तमान विश्वअर्थतन्त्रका  भजन गायक हुन् । एकाधमात्र पार लाग्दछन् बाँकी को जिन्दगी भजनमै सकिन्छ । 

समाज परिवर्तनका लागि धनीलाई आवश्यक छैन । गरीबलाई  ज्ञान छैन । मध्यमवर्गलाई फूर्सत वा हिम्मत छैन । नेपाली समाज पनि त्यही अवस्थामा छ । अझै बुद्धिजीवीवर्गलाई वर्तमान पूँजीवादी दुनियाँले ‘ज्यालादार मजूदर’ मा ओरालेको सम्म ज्ञान भइरहेको छैन । आज पूँजीवादले शिक्षक, प्राध्यापक, डाक्टर, पाइलट, इन्जिनियरलाई सामाजिक प्रतिष्ठाको रुपबाट मात्र तल झरालेको हैन । सवैथोक पैसा हो र यी सब चीज किन्न सकिने वस्तु हुन भनेर स्थापित गरिरहेको छ । प्रहारको यो पहिलो बिन्दुमा शिक्षक र प्राध्यापक परेका छन् । त्यसपछि डाक्टर, पाइलट, वकील लगायतका क्षेत्र । पूँजीवादले शिक्षालाई नै नीजिकरण गरेर शिक्षकलाई पूँजीपति विशेषका खेताला बनाएको छ । निश्चित व्यक्तिले खरिद गर्ने र फाल्ने अधिकार दिएको छ । जसका लागि योग्यता आवश्यक छैन । त्यतिमात्र होइन प्राध्यापकहरुलाई पिरियड वेश स्वास्थ्यकर्मीलाई बिरामी चेक वा सेवाको आधारमा दैनिक ज्यालासरी मजदूर बनेका छन् । कतिपय अवस्थामा त तिनको भन्दा कम भुक्तानी । सामान्यतः शहरी क्षेत्रमा दैनिक रु.५०० एउटा मजदूरले प्राप्त गर्छ तर एउटा निजी विद्यालयका शिक्षकले मासिक ५/७ हजार समेत पढाउन विवश छन् । स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको अवस्था त्यस्तै छ । पहिलो त न्यून पारिश्रमिक जसले वर्तमान दुनियाँका उनका आवश्यकता कुनै पनि अर्थमा पूरा हुन सक्दैनन् । दोश्रो पूरा भइहालेपनि यो सेवा उनीहरुको योग्यतामा निर्भर रहदैन । पूँजीपतिको हातमा निर्भर रहन्छ । आफन्त नाता चिनजानको अर्को विकल्प खडा हुन्जेल ति कुनैपनि बेला लत्याइन्छन् । 
आज बुद्धिजीवीहरु समाजको प्रतिष्ठाबाट होइन, आर्थिक स्वरुपबाट पनि ओरालो लाग्दै गएका छन् । सम्मानित र मर्यादित पेशालाई आज हाम्रो देशमा केही गर्न नसक्नाले शिक्षण÷प्राध्यापन गरेको भनेर भनिन्छ । शिक्षाकै उपहास गरिन्छ । भोलि त्यो उपहासको दायरा आजका डाक्टर, वकिल र पत्रकारहरुसम्म पुग्ने प्रायः अवश्यभावी छ । किनकी यो बुद्धिजीवी वर्ग विशेषतः आफ्ना बौद्धिक क्षमताबाट बच्छ । ति व्यक्तिको मुताविक या त उ चल्न तयार हुनुपर्छ या शिकार हुने गर्दछ । आज शैक्षिक बेरोजगारी बुद्धिजीवीहरुको ठूलो तप्का वैदेशिक रोजगारबाट आफ्नो जीवन धानिरहेछ । 

सामान्यतः असंगठित हुनु, आफ्नो क्षमतालाई सर्वोपरी ठान्नु, सत्यवादी नहुनु र अवसरवादमा लालयित हुनुले यो वर्गलाई पूँजीवादीहरु सजिलै संचालन गरिरहेका छन् । समाजमा थेरधोर प्रतिष्ठामा बाँचेको यो वर्ग, आन्दोलन संघर्षमा उत्रनेमा कञ्जुस्याई गर्छ । वा सम्मानित समाधान खोज्छ । अवस्था आफूबाट धेरै पर पुगेको बोध गर्दैन । सम्मानकै आत्मरतिमा रमाउँछ । कहिलेकाही उनैको प्रलोभनमा समेत चित्त बुझाउँदछ । 

त्यसैले नेपाली समाजमा बुद्धिजीवी वर्ग आजको त्यो श्रमजीवी वर्ग हो, जसको नेपाली सन्दर्भमा वर्ग उत्थान होइन, निरन्तर कंगालीकरणको बाटोमा अघि बढिरहेको छ । पछिल्लो समयमा पूँजीवादीका नांगा विशेषता र महामारीले यो वर्ग अरु नराम्रोसँग कंगालीकरणको बाटोमा गइरहेको छ । एक निश्चित बिन्द्ुमा पुगेपछि ऊ आफ्नै लागि भएपनि मौनता तोड्न विवश हुन्छ । उसले शासनसत्ताको शिकार पनि बुझेको हुन्छ । आजको विश्वमा मजदूरवर्गको परिभाषा बदलिएको छ । विज्ञान प्रविधिको यो युगमा श्रमजीवी वर्ग नै मजदूरवर्गका पर्याय हुन् । यही वर्गको कंगालीकरण, बाध्यता र दिनचर्या र बढ्दो हिम्मत नै अबको नेपाली क्रान्तिको विद्रोहको आधार बन्न सक्छ । बुद्धिजीवी वर्गको जटिलता नै सबैभन्दा बढी जटिल बनेको छ । यो जटिलता ग्रामीणमा भन्दा शहरिया क्षेत्रमा बढी हुँदै गएको छ । ग्रामीण क्षेत्रमा यो वर्ग थोरेधेर जमीन र तत्सम्बन्धी उत्पादनमा जोडिएकोले तुलानात्मक रुपमा शहरीमा बुद्धिजीवी त्यो अवसरबाट टाढा छ । त्यसैले परिवर्तन र क्रान्तिको एउटा महत्वपूर्ण शक्ति आगामी दिनमा बुद्धिजीवी बन्न सक्छ ।