पुँजीवाद र स्वतन्त्रता

साम्राज्यवाद भुमण्डलीकृत साम्राज्यवादको रुपमा प्रकट भएको छ ।

पुँजीवाद र स्वतन्त्रता

पूँजीवादी समाज व्यक्तिगत स्वार्थ र नाफामा आधारित असमानता र विषमताले भरिपूर्ण समाज हो । पूँजीवादी प्रजातान्त्रिक व्यवस्थाभित्र मच्याईने स्वतन्त्रता, समानता र भाईचाराका नाराहरु केवल ढोङ मात्र हुन् । पूँजीवादी प्रजातन्त्रमा हुने आवधिक निर्वाचनमा नागरिकलाई आफनो मताधिकार प्रयोग गरेर प्रतिनिधि छान्न पाइने र अभिव्यक्तिको स्वतन्त्रतालाई पुँजीवादीहरुले ठूलो स्वरका साथ चिच्याएका आफुहरु निकै ठुलो प्रजातन्त्रवादी भएको स्वाङ पार्छन् । उनीहरुले चार या पाँच वर्षभित्र हुने निर्वाचनलाई महान उत्सव र महान पर्वको रुपमा अथ्र्याउछन् । तर वास्तवमा त्यो न कुनै उत्सव हो न पर्व नै । त्यो त शोषक चुन्ने उत्सव हो । पूँजीवादी व्यवस्थामा श्रमजीवी वर्ग अपहेलित र अपमानित हुन्छ । आर्थिक सङ्कट वा आर्थिक स्वतन्त्रताको अभाव र दरिद्र जीवन बाँच्नेहरुका लागि राजनीतिक स्वतन्त्रताको कुनै अर्थ अर्थ र महत्व हुँदैन । पूँजीवादी संसदीय व्यवस्था ठगहरुको व्यवस्था हो । राज्यको स्रोत र साधन न मुठ्ठीभर (सिमित) व्यक्तिहरुको हातमा केन्द्रित हुन्छ । शासकहरुले राज्यको ढुकुटीलाई मनपरी ढङ्गले आफनो व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्ने गर्दछन् । 

लुट, हत्या अपराध, बलात्कार, वेरोजगारी, शोषण उत्पीडन, भेदभाव अनि पूँजीवादी प्रजातन्त्रका पर्यायवाची शव्द बनेका हुन्छन् । पूँजीवादी प्रजातन्त्रमा जसले त्यहाँभित्र हुने लुट र शोषणको विरोध गर्दछन् । उनीहरुलाई दमन गरिन्छ, जसले उक्त क्रियाकलापको विरोध गर्दैनन्, ती रूपमा जे सुकै भएपनि त्यसका पक्षपाती ठहरिन्छन् । यसको उदाहरण के.पी. वली नेतृत्वको सरकारको राष्ट्रघाती र जनविरोधी क्रियाकलापको विरोध गर्दा विप्लव नेतृत्वको ने.क.पा. माथि प्रतिवन्ध लगाइयो । 

आदिम साम्यवादी युगमा मातृत्वका कारणले गणहरुमा नारीको स्थान उच्च थियो । त्यतिवेलाको समाज मातृसत्तामा आधारित थियो र समाजमा (गणमा) नारीको बहुमत हुन्थ्यो । जव निजी सम्पत्तिको उत्पत्ति भयो, गणहरु परिवारमा परिवर्तन भए लगत्तै एकनिष्ठ विवाहको पनि शुरुवात भयो । त्यसपछि क्रमशः समाजमा पुरुषले प्रथम स्थान र नारीले द्वितीय स्थान ग्रहण गर्न थाले । त्यसपछि पितृसत्तात्मक समाजले नारीलाई दासीका व्यवहार गर्न थाल्यो । यो अवस्था सामन्तवादीकाल सम्म रह्यो । पूँजीवादी व्यवस्थाले महिलालाई विज्ञापनको वस्तु बनाइदियो । पूँजीवादी उत्पादन प्रणालीको विकासले  नारीहरुलाई चुलो चौकोवाट बाहिर त ल्यायो तर दोस्रो दर्जाको हैसियतमा रहने गरी पूँजीवाद भित्रै देहव्यापारको कारोवार प्रस्ट्यााएको हुन्छ । पूँजीवादमा पैसा तिरेर नारीको देह किन्ने अमानविय प्रथा हुन्छ । नारी र पुरुषका बीचमा आदर्श प्रेम हुँदैन । 

पूँजीपति जसको एकमात्र लक्ष्य पुँजी सञ्चय हुन्छ । त्यो पूँजीपति मनुष्य रहेको नै हुदैन अर्थात् त्यसमा मानवीयता भन्ने चिज नै हुँदैन । उसको लागि उत्पादनको लक्ष्य मानवीय आवश्यकताहरुको पूर्ति गर्नु होइन, बरु मुनाफा आर्जन गर्नु हो । उसका सवै सपना र सुःखण्डा सवै अवधारणाहरु मुनाफाको वरिपरि नै निर्मित भएका हुन्छन् । ऊ स्वयं पूँजीको व्यक्ति, रुप हुन्छ । पत्नी पनि उसको लागि आफनो पुँजी साम्राज्यको उत्तराधिकारी जन्माउने (पैदा गर्ने) उत्पादनको साधन भन्दा अरु वढी केही हुँदैनन् र उनलाई गरिने माया पनि उसै रुपमा (उत्पादनका साधनको रुपमा) व्यक्त हुन्छ । पूँजीवादमा लुट्ने र लुटिने स्वतन्त्रता हुन्छ । श्रमिक वर्गले आफनो श्रमको उचित पारिश्रमिक पाउने गर्दैन । उसलाई आवश्यकता भन्दा वढी काममा लगाएर उसको श्रमको शोषण गर्ने गरिन्छ । 

अहिले साम्राज्यवाद भुमण्डलीकृत साम्राज्यवादको रुपमा प्रकट भएको छ । भुमण्डलीकृत साम्राज्यवादको निर्माण एकाधिकारी पुँजीवाद वित्तियकरण नवउदारवाद र नवउपनिवेशवाद मिलेर भएको छ । तर पनि यसको सारतत्व भनेको एकाधिकार पूँजीवाद नै हो । त्यसमा कुनै गुणाात्मक परिवर्तन भएको हैन । अहिले उत्पादनको तौर तरिकामा फेरवदल भएको छ । त्यो हो विकेन्द्रित उत्पादन तथा केन्द्रिकृत नियन्त्रण । अहिले कुनैपनि वस्तुको उत्पादन र निर्माण एकै ठाउँमा हुदैन । अलग–अलग ठाउँमा उत्पादन गरिएका वस्तुहरुलाई केन्द्रिकृत गरेर एकै ठाउँबाट वितरण गर्ने गरिन्छ । जस्तो कम्प्युटरमा जडान गरिने पाटपुर्जाहरु अलग अलग ठाउँमा उत्पादन हुने गर्दछन् । त्यस्तै कुनै पनि गाडी वा मेशिनहरुमा जडान गरिने तिनका पाटपूर्जाहरु एउटै कम्पनीमा निर्माण हुनुको वदला अलग–अलग ठाउँहरुमा उत्पादन हुने गर्दछ । पूँजीवादीहरुले मजदुरहरुलाई संगठित हुन नदिनका लागि विकेन्द्रित उत्पादनको तरिका अपनाएका हुन् । तर पनि त्यसले मजदुरहरुको संगठित हुने चाहनालाई रोक्न सक्दैन अहिलेको मजदुरको परिभाषामा पनि फेरवदल भएको छ । अहिलेको मजदुर विज्ञान र प्रविधिसँग जोडिएको छ । जस्तो कम्प्युटर मजदुर, साइवर मजदुर आदि । विज्ञान र प्रविधिलाई चेतनासँग जोड्यो भने त्यो क्रान्तिकारी मजदुर बन्छ । पछिल्लो कालमा शोषण गर्ने तौर तरिकामा फेरवदल भएको छ । पूँजीवादीहरुले पूरानै तरिकाले शोषण गरेर टिक्न नसक्ने भएकोले नयाँ तरिका अपनाएका हुन् । 

पूँजीवादी राजनीतिक अर्थशास्त्रीहरुले पूँजीवादी व्यवस्थालाई शास्वत र न्यायपूर्ण ठान्दछन् भने पूँजीवादी व्यवस्थाभित्र हुने शोषणलाई जायज ठान्दछन् भने पूँजीवादी व्यवस्थाभित्र रहने शोषणलाई जायज ठान्दछन् । उनीहरुले उत्पादनको पूँजीवादी प्रक्रियालाई पूर्णरुपले रहस्यात्मक बनाइदिने काम सम्पन्न गरेका छन् र उपजमा विद्यमान अतिरिक्त मूल्यको मूल पक्षलाई पूर्णतः अदृश्य बनाइदिने काम गरेका छन् । 

श्रमिक वर्गले पूँजीपति वर्गका सम्पूर्ण हर्कतहरुलाई सही ढङ्गले बुझ्न जरुरी छ । जुन दिन उसले आफू माथि भइरहेको शोषणलाई सही ढङ्गले बुझ्नेछ । त्यसपछि पूँजीवादी व्यवस्थाको मृत्युको घण्टी बज्नेछ र ऊ आफनो चिहानमा गाडिनेछ । 

(स्रोत–राप्ती आवाज)