कृषिमा रमाउँदै इन्द्रबहादुर

कृषिप्रति स्थानीय निकायको हेर्ने दृष्टिकोण पुरानै 

कृषिमा रमाउँदै इन्द्रबहादुर

कृषिमा रमाउँदै इन्द्रबहादुर


मङ्सिर १४, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकका ४० बर्षीय इन्द्रबहादुर विश्वकर्मा बिहान उठ्नेवित्तिकै बारीमा पुग्छन् । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उनको दैनिकी हो ।
कारण हो, उनी विगत १४ वर्षदेखि व्यवसायिक खेती गर्दै आएका छन् । इन्द्रको जीवनको ऊर्जाशील दुई बर्ष रोजगारीको सिलसिलामा मलेसियामा बित्यो । मलेसियामा बसेर उनले जीवनमा कहिल्यै नपाएको दुःख पाए । न्युन पारिश्रमिकमा आइस कम्पनीमा भोको पेट क्वीन्टल तौल भएका आइस बोक्नुपर्दा उनले आफ्नो घरपरिवार, आफन्त र देश खुब सम्झिए । दुई बर्षसम्म मलेसियामा बसेर काम गर्दाको दुःख सम्झेर इन्द्र भावुक बन्छन् । विदेशमा न्युन तलबमा जीवनलाई नै जोखिम राखेर यति विध्न दुःख गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाए जीविकोपार्जन गर्न सकिन्छ भनेर उनी स्वदेश फर्किएको बताउँछन् । उनी गाउँ फर्किएपछि आफ्नै बारीमा तरकारी खेती सुरु गरे । 
अहिले इन्द्रले आफ्नो पाखाबारीमा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । जसमा टमाटर, काउली, बन्दा, आलु, खुर्सानी, प्याज, सुन्तला, बैगुन, कागतीलगायत तरकारी लगाएका छन् । यो सँगै उनले उन्नत जातको बाख्रा र कुखुरा समेत पालन गर्दै आएका छन् । उनले पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर रुद्रबेनी, चौर, ल्हुम्पेक डाँडा पुर्याउँथे । अहिले भने तरकारी लिन गाडी घरमै आउँछ । उनले उत्पादन गरेका तरकारीहरु बुटवल, पाल्पा, रिडी, खैरनी, शान्तिपुर, स्याङ्जा समेत पुग्ने उनी बताउँछन् । उत्पादित तरकारी उपभोक्ताहरुको आवश्यकता अनुसार गाउँमा मोटरसाइकलमा आफै पु¥याउँदै आएको समेत उनले बताए । 
उनले “पूर्णिमा अर्गानिक कृषि तथा पशुपन्छी फर्म” दर्ता गरेर यही फर्म मार्फत सबै व्यवसायको कारोबार गर्दै आएका छन् । समयअनुसार तरकारीको मूल्य घडबढ हुन्छ । बजारमा तरकारीको माग बढी हुँदा मूल्य बढ्ने र माग कम हुँदा मूल्य कम हुने उनले बताए । उनले आफ्नो घर अगाडीको ठूलो बारीमा लामो टनेल लगाएर टमाटर लगाएका छन् । सुन्तला, प्याजको बेर्ना आदी उत्पादनले घर अगाडीको वातावरण निकै सुन्दर र हरियाली बनाएका छन् । सुन्तलाबोट ६५ वटा, कागतीको बोट ३०, प्याज, खुर्सानी लगायतका बोटविरुवाको हराभरा छ । वार्षिक रुपमा उत्पादन गर्दा लागेको खर्च कटाएर मात्रै पाँचदेखि छ लाख आम्दानी हुने उनले बताए ।

स्थानीय निकायप्रति गुनासो
इन्द्रबहादुर आफ्नो पेशाप्रति दृढ छन् र आफ्नो पेशाप्रति गर्वसमेत गर्छन् । तर कृषि क्षेत्रमा स्थानीय निकायको उदासीनताले कहिलेकाहीँ निराश बनाएको बताउँछन् । कृषकले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन गर्नु त कता हो कता, मूल्य निर्धारण समेत कृषकहरुको सल्लाहविना नै न्युन मूल्य तोकिदिदा कृषकहरुलाई लागत समेत उठाउन गाह्रो हुने उनले बताए । स्थानीय निकायले कृषि व्यवसायका लागी ५० प्रतिशत अनुदान दिएपनि त्यसले कृषकलाई कुनै राहत नभएको उनी बताउँछन् । कृषक र उपभोक्तालाई मार पर्ने तर बीचमा बिचौलियाहरुले बजारमा समस्या परेको समेत उनले बताए । उनी भन्छन्, “स्थानीय निकायको कृषि र कृषकलाई हेर्ने दृष्टिकोण पुरानै छ ।”

कृषि तालिमबाट निकालिएको क्षण
करिब ८ बर्ष अगाडी कृषि ज्ञान केन्द्रले ठूलो लुम्पेकमा किसानहरुलाई तालिम चलाएको थियो । ठूलो लुम्पेक भरीका करिब ६० भन्दा बढी कृषकहरु उक्त तालिममा सहभागी भए । तालिम लिने नामको सूचीमा उनको पनि थियो । तालिम सुरु हुन लाग्यो तर उनलाई एक स्थानीय अगुवा बताउनेले तालिम हलबाट पूर्वाग्रह राखेर निकालि दिएको उनी बताउँछन् । उनले ती अगुवाको नाम नबताउने शर्तमा गुनासो गरे–“म कृषिको तालिम लिने भनेर निकै ठूलो सपना बोकेर तालिम लिन गएको थिएँ, तर उनले तालिम हलबाट निकालेपछि निकै अपमान महसुस गरेँ, जसलाई मैले जिन्दगीको सबैभन्दा दुःखद् र बिर्सन नसक्ने क्षणको रूपमा लिएको छु ।” पछि उनै कथित अगुवा उनकै फारममा तरकारी किन्न आएको समेत उनले बताए । 

बाढी पहिरोले तनाब दियो
२०७६ साउन ७ गते ठूलो लुम्पेकमा निकै ठूलो बाढी पहिरो गयो । गावै बगाएर कैयौं धनजनको क्षति गर्यो । उक्त प्राकृतिक विपत्तिले कृषि क्षेत्रलाई निकै नराम्रो प्रभाव पार्यो । घरगोठ, पशुपंक्षी, सडकहरु भत्किएर हालयकायल बनायो । जतिबेला इन्द्रबहादुरको कृषि फारममा तरकारी, फलफूल र कुखुराहरु बिक्रीका लागी तयारी अवस्थामा थियो । बाढी पहिरोले सडक विग्रिएपछि उनको तरकारीहरु बारीमा कुह्यो । लागत मूल्यभन्दा पनि कम मूल्यमा समेत उनको तरकारी र कुखुरा विक्री भएन । उक्त प्रकोपका कारण कैयौं कृषकहरु आफ्नो पेशाबाट पलायन भए । उनी पनि लगानी डुबेपछि पलायन हुने सोँच नबनाएका त होइनन्, तर हिम्मत गरेर त्यही ठाउँमा फेरी पेशालाई निरन्तरता दिए । प्रकोपबाट ल्हुम्पेक गाउँ विस्तारै ब्युझिदै गयो । अहिले उनको व्यवसाय फस्टिदै गएको उनी बताउँछन् ।