हामी आयौं आजबाट !

हामी यतिखेर जनपक्षीय पत्रकारिताको माध्यमबाट श्रमिक जनताका आवाजहरुलाई मुखरित गर्ने ध्येयका साथ सञ्चार माध्यमको ठूलो भीडमा उपस्थित भएको छौं ।

हामी आयौं आजबाट !

सम्पादकीय/प्रकाशकीय

आजदेखि हामीले जनबाटो डटकम सञ्चार सेवाको औपचारिक आरम्भ गरेका छौं । राजनीतिक आन्दोलनको लामो घुम्ती र मोडसँगै सुधासागर, तरङ्गिणी, गोरखापत्र हुँदै गौरवमय इतिहास बोकेको नेपाली पत्रकारिताले ठूलो फड्को मारेको छ । अर्थात् पन्ध्रौं शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले छापाखानाको विकास गरेपछि शुरू भएको छापा पत्रकारिताको परम्परागत अभ्यास रेडियो र टेलिभिजन हुँदै डिजिटल चरणमा आइपुगेको छ । विज्ञान र प्रविधिको चमत्कारसँगै बदलिएको पत्रकारिताको नयाँ आयामले सूचना प्रवाहको गति मात्रै बढेको छैन, सूचनाको तृष्णा पनि तीव्र भएको छ । 

तीन बर्ष अघि, अर्थात् २०७४ असोज ३ गते रुसी महान अक्टोवर समाजवादी क्रान्तिको द्विशतबार्षिकीको सन्दर्भ पारेर हामीले जनबाटो डटकम (www.janabato.com) को अनौपचारिक आरम्भ गरेका थियौं । हामीले यसलाई तत्कालै औपचारिकता दिने तयारी गर्दागर्दै देश बेग्लै परिस्थिति र मोडमा पुगेपछि केही समय यो काम अवरूद्व हुन पुग्यो । यात्रामा यदाकदा सुस्ताउनु र बिसाउनु एउटा यात्रीका लागि अस्वाभाविक हुन सक्दैन । जनबाटो डटकमका लागी पनि एउटा सुदूरयात्रामा निस्केको यात्रीलाई जस्तै यही परिस्थिति लागु भयो । यद्यपी हामीलाई अहिले पनि एउटा कष्टपूर्ण आँधीबेहरीको पूर्वसन्ध्यामा उभिएको आभास भइरहेको छ । यो अवधिमा हामीले लाखौं उत्पीडित जनताका आवाजहरुलाई मुखरित गर्ने प्रयास गर्यौं । बुद्धिजीवी, पाठक एवं शुभेच्छुकहरुबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप क्रियाशील हुन उत्प्रेरणा दिएको छ । हामी यतिखेर जनपक्षीय पत्रकारिताको माध्यमबाट श्रमिक जनताका आवाजहरुलाई मुखरित गर्ने ध्येयका साथ सञ्चार माध्यमको ठूलो भीडमा उपस्थित भएको छौं । हामीलाई विश्वास छ–हामी भीडमा मिसिएर हराउँदैनौं, त्यो आत्मविश्वास हामीसँग छ । भीडमा रमाउने रहरभन्दा पनि जम्ने जाँगर हाम्रो टिमसँग छ । प्रसिद्ध दार्शनिक इडवार्ड डे बोनोले भनेका छन्, ‘यदि तिमी अवसरको प्रतीक्षामा छौ भने तिमी पनि भीडको सदस्य बन्नुपर्छ ।’ हामी पनि त्यही अवसरको पर्खाइमा भीडमा सामेल भएका छौं । किनभने, भीडमा अवसर ज्यादा हुन्छ । यो औपचारिक प्रवेशको अवसरमा हामीलाई विश्वास एवं सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गर्दछौं ।

हामीले अनलाइनको अनौपचारिक आरम्भमा नै भनेका थियौं– ‘हामी उज्यालोको पक्षमा छौं । हामी चाहन्छौं, जनताका सपनाहरू नमरून् र नमारियुन् ।’ अहिले यो अवसरमा हामी फेरि दोहोर्याउँदछौँ, आम पाठकवर्गलाई निर्भिकतापूर्वक सत्यतथ्य, विश्वसनीय र बोधगम्य सूचनाको अधिकार प्रत्याभूत गराउने समाचार–सामग्री तथा समयसापेक्ष विचार–विश्लेषण प्रस्तुत गरेर सही ढङ्गले सुसूचित गराउन हामी प्रतिबद्ध छौं । हामीले हजारौं सहिद, घाइते एवं बेपत्ता योद्धाहरुले देखाएका त्याग, शौर्य र बलिदानका सपनाहरूको अवमूल्यन गर्ने प्रवृत्ति विरूद्व खवरदारी गरिरहनेछौं । हामी ‘भिवर्स’ बढाउने नाममा अश्लिल फोटा र उत्तेजना फैलाउने खालका कुनै सामग्री प्रकाशन गर्दैनौँ । चर्चामा आउन अनेक स्टन्टबाजी पनि हामी गर्दैनौँ । बदला र प्रतिशोधको भावले आक्रान्त भएर गालीगलौज र व्यक्तिगत चरित्र हत्या गर्ने प्रवृत्तिप्रति हाम्रो विश्वास छैन । हामी तर्क, विवेक, चेतना  र बहस छलफलमा विश्वास गर्छौँ र यसलाई प्रोत्साहित पनि गर्छौँ ।

हामी प्रष्टताका साथ भन्छौं– हाम्रो यात्रा मिसन पत्रकारिता नै हो । दार्शनिकहरुले विश्वको व्याख्या मात्रै होइन, फेर्नु मुख्य कुरा भएको बताएका छन् । पत्रकारिताको क्षेत्रमा पनि समाचारहरू त धेरै लेखिए तर दुनियाँ फेर्ने यात्रामा जनतालाई सुसूचित गर्ने, लामबद्ध गराउने र जिम्मेवार बनाउने काम पुरा भइसकेको छैन । त्यो महान उद्देश्य पुरा गर्ने दायित्व हाम्रो काँधमा आइपुगेको छ । 
अहिले पनि बहुसङ्ख्यक नेपाली जनताको आधारभूत जीवनस्तर बदलिएको छैन । श्रमिक वर्गमाथिको शोषण, उत्पीडन, अतिक्रमण र थिचोमिचो अझ बढ्दो छ । जनताको सपना अधुरो छ र पुरा भएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था कमजोर छ । छोरीचेलीहरुको इज्जत लुटिएको ब्यथाले देश दुखेको छ । श्रमिक वर्गमाथिको दमन रोकिएको छैन । यसले तपाईँ–हामीलाई चिन्तित तुल्याउनु स्वाभाविक छ  । जनबाटो डटकम यही चिन्ता र चिन्तनमा श्रमिक जनतासित सामेल हुन चाहन्छ र ‘जन’ अर्थात् जनतालाई सही सूचना वा ‘बाटो’ सम्प्रेषण गर्न चाहन्छ  ।

हाम्रो यस अभियानमा बुद्धिजीवी, लेखक–स्तम्भकार, कर्मशील सञ्चारकर्मी, विज्ञापन एवं सहयोगदाता र श्रद्धेय पाठकवर्गको न्यानो स्नेह, साथ र सहयोग निरन्तर रहने विश्वासका साथ हामीले औपचारिक यात्रा आरम्भ गरेका छौं ।

जनबाटो डटकम परिवार

मङ्सिर ८, २०७७, नोभेम्बर २३, २०२०