वर्गीय समाजमा वर्गहरूका सामाजिक स्थितिहरू एकदमै एक–अर्कोको पूरैविपरीत र तिनका हितहरू परस्परविरोधी रहेका हुन्छन् र यही वर्गविभेद नै वर्गसङ्घर्षको मूल स्रोत र कारक तत्व हुन् । तर, वर्गको विकास सम्बन्धमा एउटा तथ्य के छ भने वर्गहरू आफ्नो उत्पत्तिको सुरुदेखि नै वर्ग—सचेत रुपमा देखापर्ने होइनन्, तिनीहरू ऐतिहासिक विकासका उपज हुन् र तिनीहरू निरन्तररुपले गतिशीलताको स्थितिबाट गुज्रिरहेका हुन्छन् र यही गतिशीलता र परिवर्तनशीलताको अवस्थाबाट गुज्रँदै साझा वर्ग—स्वार्थको विकास हुन्छ, यसले गर्दा तिनले अर्को साझा विशिष्ट स्वार्थ राख्ने वर्गको विरुद्ध साझा सङ्घर्ष चलाउँछन् ।

-कृष्णदास श्रेष्ठ

हरेक वर्गविभक्त समाजमा दुईटा आधारभूत वर्गहरू रहनेबारे माथि हामीले चर्चा गरेका छौँ । ती आधारभूत वर्गहरू यस्ता वर्ग हुन्, जुन एक – अर्कोको अस्तित्वका लागि आवश्यक छन्—जस्तो कि, सर्वहारावर्गबिना पुँजीपतिवर्ग रहन सक्दैन भने पुँजीपतिवर्गबिना सर्वहारावर्ग रहन सक्दैन । सामाजिक उत्पादनमा आ—आफ्नो स्थानले गर्दा, ती दुईको स्वार्थ एक – अर्कोको पूरैविपरीत रहन्छन् र त्यसैले ती वर्ग—वैरभावको स्थितिमा उभिएका हुन्छन् । तिनमा शोषक पक्ष विद्यमान शोषण व्यवस्था कायम राख्न भगीरथ प्रयत्न गर्छ भने शोषितहरू आफ्नो हितका लागि एक या अर्को रुपमा शोषाण व्यवस्था र शोषकवर्गको विरुद्ध सङ्घर्षरत रहन्छन् । यसरी ती दुई वर्ग एक—अर्कोको प्रत्यक्ष विपक्षमा रहेका हुन्छन् ।

उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीचको अन्तर्विरोध समाजिक विकासको आधारभूत अन्तर्विरोध रहेको तथ्यको उल्लेखमाथि हामीले गरेका छौं । कुनै पनि वर्गविभक्त समाजमा उक्त अन्तर्विरोध वर्गहरूबीच सङ्घर्षमार्फत अभिव्यक्त हुने गर्छ र त्यसले उक्त समाजलाई गतिशील बनाउँछ । त्यसैले, स्टालिनले वर्गसङ्घर्षलाई “समकालीन समाजिक जीवनको नाभी ” को संज्ञा दिएका छन् । समाजको इतिहासबाट हामी कुन तथ्यलाई स्पष्ट रुपले बुझ्छौं भने एक खालको समाजको अर्को खालको समाजमा सङ्क्रमण क्रान्तिकारी रुपान्तरणमार्फत, कठोर वर्गसङ्घर्षमार्फत हुने गरेको छ । वर्गसङ्घर्ष सामाजिक विकासको एउटा वस्तुगत नियम रहेको एउटा इतिहाससिद्ध तथ्य हो । माक्र्स र एन्जेल्सद्वारा लिखित “कम्युनिष्ट घोषणापत्र” मा उक्त ऐतिहासिक सत्यलाई यसरी व्यक्त गरिएको छ ः “आजसम्मको विद्यमान समाजको इतिहास वर्गसङ्घर्षहरूको इतिहास हो ।

वर्गीय समाजमा वर्गहरूका सामाजिक स्थितिहरू एकदमै एक–अर्कोको पूरैविपरीत र तिनका हितहरू परस्परविरोधी रहेका हुन्छन् र यही वर्गविभेद नै वर्गसङ्घर्षको मूल स्रोत र कारक तत्व हुन् । तर, वर्गको विकास सम्बन्धमा एउटा तथ्य के छ भने वर्गहरू आफ्नो उत्पत्तिको सुरुदेखि नै वर्ग—सचेत रुपमा देखापर्ने होइनन्, तिनीहरू ऐतिहासिक विकासका उपज हुन् र तिनीहरू निरन्तररुपले गतिशीलताको स्थितिबाट गुज्रिरहेका हुन्छन् र यही गतिशीलता र परिवर्तनशीलताको अवस्थाबाट गुज्रँदै साझा वर्ग—स्वार्थको विकास हुन्छ, यसले गर्दा तिनले अर्को साझा विशिष्ट स्वार्थ राख्ने वर्गको विरुद्ध साझा सङ्घर्ष चलाउँछन् । यस्तो सङ्घर्षलाई नै सच्चा अर्थमा वर्गसङ्घर्षको संज्ञा दिन सिकन्छ । वास्तवमा वर्गसङ्घर्ष त्यस्तो सङ्घर्ष हो जसमा एउटा वर्गले अर्को वर्गको विरुद्ध आफूलाई उभ्याउँछ र द्वन्द्वमा लगाउँछ । हामी के देख्छौं भने एउटा पूरै वर्गको विरुद्ध अर्को पूरै वर्गको सङ्घर्षको विकास, अर्थात् साझा विशिष्ट स्वार्थको विरुद्ध अर्को साझा विशिष्ट स्वार्थको विरुद्ध द्वन्द्वको विकाससम्बन्धी समाजको विकासका सुरुका चरणहरूमा उक्त द्वन्द्व छिटपुट रुपमा वा स्थानीय सङ्घर्ष का रुपमा वा विरोधी वर्गहरूका कुनै अङ्ग वा सदस्यहरूबीच सङ्घर्षका रुपमा चल्ने गर्छ । हुन त त्यस्ता सङ्घर्षहरू वर्गीय सङ्घर्षका अभिव्यक्ति हुन्, तर, सच्चा अर्थमा ती वर्गसङ्घर्ष होइनन् र ती वैयक्तिक चरित्रका द्वन्द्व हुन् । वास्तविक अर्थमा वर्गसङ्घर्ष त्यस्तो सङ्घर्षलाई भनिन्छ जसमा एउटा वर्ग अर्को वर्गको विरुद्ध, एक वर्ग—शक्तिको हैसियतबाट शोषितहरू शोषकवर्गको विरुद्ध कार्यबाहीमा उत्रेका हुन्छन् । कुनै–कुनै बेलामा शोषित–पीडितहरू खुला सङ्घर्षमा लागेका हँुदैनन्, बरु फतफत कराएर वा गुनासो पोखेर हिंड्छन् वा असन्तोष व्यक्त गर्छन् र यस्तो फतफतलाई माक्र्सले वर्गसङ्घर्षको “लुकको रुप” ( Concealed form) का रुपमा लिएका छन् ।

उदाहरणका लागि, सर्वहारावर्ग र पुँजीपतिवर्गबीच सङ्घर्षको विकासलाई लिऊँ । आधुनिक मजदुरवर्ग पुँजीवादको एक आवश्यक र विशिष्ट उपज हो, पुँजीवादको विकाससँगसँगै त्यसको विकास पनि हुँदै आएको छ । पुँजीवादको उत्पत्तिदेखि नै वर्ग—वैरभावयुक्त शक्तिहरूका रुपमा पुँजीपति र मजदुरका बीच द्वन्द्व र सङ्घर्ष चल्दै आएको छ । त्यसको विकासको सुरुका चरणमा पुँजीपतिवर्गको विरुद्ध मजदुरहरूको आन्दोलन र सङ्घर्ष स्वतःस्फूर्त र छिटपुटरुपमा हुने गरेको थियो । त्यसबेला पुँजीवादविरोधी मजदुरहरूको सङ्घर्ष खास–खास पँुजीपतिको हत्या गर्ने, भोक–विद्रोह गर्ने, तोडफोड गर्नेजस्ता कारबाहीको रुप लिएको थियो । आफ्नो दुःखकष्टको स्रोत र कारण कारखाना उत्पादन व्यवस्था रहेको ठानेर उनीहरूले यन्त्रहरूलाई ध्वस्त पार्ने, गोदाम घर तथा कारखाना भवन जलाउने, उत्पादित चीजहरू नष्ट गर्ने आदि कामहरू गरे । ती सब मजदुरवर्गीय सङ्घर्षका प्रारम्भिक रुप थिए । पछि, समयको क्रममा मजदुरहरूको समझदारी र चेतनाको स्तर बढ्दै गयो र उक्त प्रकारका सङ्घर्षहरू विस्तारै लोप भएर गए र त्यसको ठाउँ सङ्गठित ढङ्गबाट मजदुर हड्ताल तथा विद्रोहहरूले लिदै गए । त्यसरी पुँजीवादविरुद्ध मजदुरहरूको सङ्घर्ष विस्तार—विस्तार वास्तविक वर्गसङ्घर्षमा विकासित र विस्तारित हुँदै गयो ।

शोषकवर्गको विरुद्ध शोषित—पीडितहरूको (दास—मालिकको विरुद्ध दासहरूको, सामन्तवर्गको विरुद्ध किसानहरूको र पुँजीपतिवर्गको विरुद्ध सर्वहारा जनताको) सङ्घर्षको विकास उपरोक्त ढङ्गबाट थियो । त्यसैले, शोषकवर्गको विरुद्ध चलाइने शोषितहरूको सङ्घर्ष हरहमेसा वर्गसङ्घर्ष रहन्छ भन्ने छैन । छिटफुट रुपमा चल्ने वा वैयक्तिक चरित्रका वा स्थानीय चरित्रका द्वन्द्वहरू वास्तविक वर्गङ्घर्ष होइनन्, तर त्यसका प्रारम्भिक रुप हुन् । हर कुरा वा प्रक्रियालाई त्यसको गतिशीलतामा, त्यसको विकासक्रममा हेर्नुपर्छ भन्ने द्वन्द्ववादको भनाइ शोषित वर्गहरूको सङ्घर्षमा पनि लागू रहेको छ । तर जहाँसम्म शोषकवर्गहरूको सवाल छ, तिनीहरूले शोषितहरूको विरुद्ध र शोषित व्यवस्थालाई कायमा राख्नका लागि निरन्तररुपले सङघर्ष चलाइरहेका हुन्छन्, किनभने तिनीहरूको हातमा राज्यसत्ता हुनु भनेको तिनीहरूले हाफूलाई वर्गशक्तिका रुपमा स्थापित गरेको तथ्यको प्रमाण हो ।

वर्गीय समाजमा चलिरहेने वर्गहरूबीचको सङ्घर्ष एउटा व्यापक सङ्घर्ष हो, र यो सामाजिक जीवनका विभिन्न क्षेत्रहरूमा चलिरहेको हुन्छ । वर्गसङ्घर्षका विभिन्न रुप छन् र तिनमा मुख्य रुप हुन् :- आर्थिक, राजजितिक र विचारधारात्मक । ऐतिहासिक दृष्टिबाट हेर्दा, वर्गसङ्घर्षको पहिलो रुप आर्थिक रुप हो । शोषक र शोषितहरूबीचको सङ्घर्ष पहिले आर्थिक सङ्घर्षका रुपमा चल्छ । आर्थिक रुपको सङ्घर्ष सामाजिक व्यवस्थाको आमूल परिवर्तनसित सम्बन्धित रहेको हुँदैन, बरु विद्यमान व्यवस्थाभित्र केही सुधार गर्ने, सहुलियत हासिल गर्ने, आफ्नो तत्कालीन दैनिक हितको रक्षा वा विस्तार गर्ने कुरासित सम्बन्धित रहन्छ । आर्थिक सङ्घर्ष शोषितहरूलाई सचेत तथा शिक्षित पार्ने र एकताबद्ध पार्ने दृष्टिबाट निकै महत्वपूर्ण रहे पनि, त्यसले क्रान्तिकारी समाजिक रुपान्तरण हासिल गर्न सक्दैन । पछि, वर्गसङ्घर्ष राजनीतिक तथा विचारधारात्मक क्षेत्रमा विस्तारित हुँदै जान्छ ।

समाजिक जीवनका क्षेत्रहरूमा वर्गसङ्घर्ष विभिन्न रुपमा अभिव्यक्त हुने गर्छ—गोप्य तथा खुला, स्वतःस्फूर्त तथा सचेतनायुक्त, कानुनी तथा गैरकानुनी, आदि । तीव्रताको दृष्टिबाट पनि त्यसका विभिन्न मात्राहरू हुन्छन्—सुस्त, वैचारिक विरोधदेखि लिएर ठुल्ठूला मुठभेड, सङ्ग्राम तथा युद्धहरूसम्म । रुप तीव्रता विभिन्न खालका भएभैmँ, सङघर्षका तरिकाहरू पनि विभिन्नखालका हुन्छन् । सभा—प्रदर्शन, घेराबन्दी आङ्शिक वा आमहडताल, भोक—हडताल, संसदीय सङ्घर्ष, संसद्—बहिष्कार, शान्तिपूर्ण वा हतियारबन्द सङ्घर्ष, आदि त्यसका तरिका हुन् । हामी त्यसलाई सशस्त्र सङ्घर्ष भन्छौं, त्यो वर्गसङ्घर्षको सबभन्दा उच्च रुप हो । त्यसको साथै, सङ्घर्षको रुप र तरिकाअनुरुपका वर्गीय सगठनहरू पनि रहेका हुन्छन् । वर्तमान समयमा सर्वहारावर्गको मुक्ति सङ्घर्षको सम्बन्धमा उपरोक्त कुरा अधिक स्पष्ट छ । सर्वहारावर्गले पुँजीवादीको विरुद्ध आर्थिक, राजनितिक तथा विचारधारात्मक सङ्घर्ष चलाइरहेको र सङ्घर्षको रुपअनुसार त्यसको विभिन्न सङ्गठनहरू रहेको हामी देखिरहेका छौं । उदाहरणका लागि, मजदुरवर्गद्वारा सुधारका लागी चलाइने आर्थिक सङ्घर्षको सञ्चालनका लागि त्यसको राजनीतिक पार्टी रहन्छ ।
ऐतिहासिक दृष्टिबाट आर्थिक सङ्घर्ष वर्गसङ्घर्ष पहिलो रुप रहेको र पछि मात्र राजनीतिक सङ्घर्षको विकास भएको भए पनि, राजनीतिक सङ्घर्ष प्राथमिक र निर्णयक महत्वको रहन्छ । राजनीतिक सङ्घर्ष त्यसको एउटा उच्च रुप हो । शोषितवर्गको वर्गीय सङ्घर्षले राजनीतिक रुप लिएपछि त्यो सच्चा अर्थमा वर्गसङ्घर्षमा फेरिन्छ, किनभने राजनीतिक रुप लिएपछि, त्यसको सङ्घर्षले सुसङ्गठित, सुसङ्गत र विकसित स्थिति प्राप्त गर्छ र त्यसको सम्बन्धित वर्गको हितलाई केन्द्रित रुपमा अभिव्यक्त गर्छ । राजनीतिक सङ्घर्षको सम्बन्ध राज्यसत्ताको सवाल र राज्य—सञ्चालनका मामिलाहरूसित रहन्छ र राजनीतिक सङ्घर्षले त्यसको सञ्चालकवर्गलाइ शासकवर्गमा उठाउने उद्देश्य लिएको हुन्छ । उदाहरणार्थ, सर्वहारावर्गको राजनीतिक सङ्घर्षको प्रमुख रद्देश्य पुँजीपतिवर्गको राज्यसत्तालाई फालेर सर्वहारावर्गीय राज्यसत्ताको स्थापना गर्नु र अनि सो सत्ताको उपयोग गरेर समाजवादी समाजको निर्माण गर्नु हो ।

विचारधारात्मक क्षेत्रमा चल्ने वर्गहरूमाझको सङ्घर्ष वर्गसङ्घर्षको एउटा अति महत्वपूर्ण पक्ष हो । शोषण तथा उत्पीडनबाट मुक्तिका लागि सङ्घर्षरत वर्गहरूका लागि विचारधारात्मक सङ्घर्षको ठूलो महत्व र आवश्यकता छ । विद्यमान समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रान्तिका पक्षधर वर्गीय शक्तिहरूलाई क्रान्तिकारी चेतनाबाट सुसज्जित पार्नु एउटा जरुरी काम रहन्छ । क्रान्तिकारी वर्ग तथा पार्टीहरूद्वारा चलाइने विचारधारात्मक सङ्घर्षको मुख्य उद्देश्य शोषितहरूलाई गलत विचार, पूर्वाग्रह तथा भ्रमहरूबाट मुक्त पार्नु, तिनीहरूलाई क्रान्तिकारी भावनाले सुसज्जित पार्नु र क्रान्तिको पक्षमा तान्नु र एकताबद्ध पार्नु रहन्छ । क्रान्तिको विजयका लागि उक्त काम हुन एकदमै आवश्यक छ ।
समाज वर्गहरूमा विभाजित रहेसम्म, वर्गसङघर्ष सामाजिक विकासको मुख्य चालक शक्ति रहन्छ र त्यो सङ्घर्ष समाजिक जीवनका विभिन्न क्षेत्रहरूमा चलिरहन्छ । त्यसको अन्त्यका लागि वर्गहरूको उन्मूलन हुनु आवश्यक छ । उक्त उन्मूलन तबमात्र हुन्छ, जब व्यक्तिगत मालिकत्व उन्मूलन भई सामाजिक मालिकत्वको स्थापना हुन्छ । जस्तो कि लेनिन भन्छन् –
“वर्गहरूको उन्मूलनको अर्थ समग्र रुपमा समाजको अधीनस्थ रहेका उत्पादन साधनहरूको सम्बन्धमा सबै नागरिकहरूलाई समान स्तरमा (Footing) राख्नु हो । त्यसको अर्थ सबै नागरिकहरूलाई सार्वजनिक मालिकत्वमा रहेका उत्पादनका साधनहरूमा, सार्वजनिक मालिकत्वमा रहेको भूमिमा, सार्वजनिक मालिकत्वमा रहेका कारखानाहरूमा काम गर्ने समान अवसरहरू प्रदान गर्नु हो ।”
तसर्थ, स्पष्ट छ, वर्गहरूको उन्मूलन—कार्य एउटा लामो प्रक्रिया हो र यो प्रक्रिया समाजवादी क्रान्तिबाट सरु भएर एउटा पूरै ऐतिहासिक युगमा गएर सम्पन्न हुन्छ ।