टेकनले जिते प्रतिभा बर्ष पुरस्कार

टोपली तरामु मगर/पौष १९–श्री भानु आधारभुत विद्यालयमा स्थापित प्रतिभा सम्मान अक्षयकोषद्धारा हरेक बर्ष साहित्यतर्फ प्रदान गरिदै आएको प्रतिभा बर्ष सम्मान पुरस्कार यस बर्ष कक्षा ८ मा अध्ययनरत विद्यार्थी टेकन तरामु मगरले प्राप्त गरेका छन् । ‘ल्हुम्पेक’ शीर्षकको कवितामा उत्कृष्ट भएवापत उनलाई विद्यालय र अक्षयकोषले उक्त पुरस्कार प्रदान गरेको हो ।

त्यसैगरी यसको बर्षको लगनशील पुरस्कार पनि श्री भानु आधारभूत विद्यालयका विद्यार्थी अनिल राहादीले प्राप्त गरेका छन् । उनी दुवै अभिभावक गुमाएका विद्यार्थी समेत हुन् । दुवै विद्यार्थीलाई विद्यालयका प्रअ खिमलाल राहादी मगर, प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुरस्कार वितरण गरेका थिए ।

२०६८ सालमा स्थापित अक्षयकोषले हरेक बर्ष निरन्तर विद्यालयको बार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ । अक्षयकोषले आफ्नो साहित्यिक प्रकाशन प्रतिभा बुलेटिन प्रकाशन गर्दै आइरहेको छ भने विभिन्न साहित्यिक विधामा अन्तरक्रिया तथा गोष्ठीहरु गर्दै आएको छ ।
फोटो– टोपली तरामु/शान्ति श्रीस मगर