गुल्मी ठूलो लुम्पेकमा भानु आधारभुत विद्यालयको बार्षिकोत्सव

टोपली तरामु मगर/गुल्मी, पौष १९–गुल्मीको सत्यवती गाउँपालिका वडा नं.–३, दाङ्सिङ्गा स्थित श्री भानु आधारभुत विद्यालयको ३३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हिज्जे प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन् । टाँका स्तरीय वक्तृत्वकला अन्तर्गत भानु आधारभूत मावि कक्षा ८ मा अध्ययतरत विद्यार्थी निरुता पुलामी मगर प्रथम, धर्मपुर उच्च माविका सफल तरामु मगर दोस्रो र नेरा गोगलपुर मावि पल्लोखोलाका हिरा पुलामी मगर र नेरा गगनपुर मावि थुम्का ममता थापा मगर तेस्रो भएको छ ।

त्यसैगरी विद्यालय स्तरिय अन्तरसदनात्मक हिज्जे प्रतियोगितामा हिले सदन प्रथम, थानी सदन दोस्रो, हचिङ्कोट सदन तेस्रो र सत्यवती सदन चौथो भएका छन् ।
प्रतिभा सम्मान अक्षयकोष नेपालद्धारा प्रदान गरिदै आएको गतबर्षको कविता पुरस्कार कक्षा ८ मा अध्ययनरत विद्यार्थी टेकन तरामु मगरले प्राप्त गरेका छन् भने लगनशील पुरस्कार कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिल राहादीले प्राप्त गरेका छन् । त्यसैगरि ओमति अक्षयकोषकोले ०७३ सालमा ७५.२५ प्रतिशत अंक ल्याई विद्यालय प्रथम हुने कक्षा ८ का विद्यार्थी तिलक तरामुलाई पनि पुरस्कृत गरेको छ ।

कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग गर्ने भन्दै विद्यालयले शैक्षिक गुणस्तर बढाउनुपर्ने बताए । उनले ठूलो लुम्पेकको कृषि उत्पादन र सडक विस्तारका लागि गाउँपालिकाले ध्यान दिने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुवर्ण शाही, कार्यकारिणी प्रमुख ऋषिराम पन्थी, वडा नं. ३ का अध्यक्ष रुकवहादुर राना, सत्यवती गाउँपालिका वडा नं. ३ स्वास्थ्य चौकीका संयोजक सूर्यवहादुर राना तथा विद्यालयका स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रअ खिमलाल राहादी मगरले विद्यालयको भौतिक तथा शैक्षिक विवरण, आ.ब.०७३/०७४ को सिकाई उपलब्धी विवरण, विद्यार्थी शिक्षक तथ्याङ्गत विवरण, आयव्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रअ राहादी मगरले आ.ब. ०७३/०७४ मा विद्यालयले २८,११,७१८.५९ रुपैयाँ बरावरको आयव्यय प्रस्तुत गरेका थिए भने अक्षयकोष अन्तर्गत ११,३८७५ रुपैयाँ जम्मा भई स्थानीय जनतामा लगानी गरिएको समेत बताए ।

कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मतिप्रसाद श्रीस मगरको अध्यक्षता, शिक्षक कर्ण वहादुर राहादी मगरको स्वागत र शिक्षकद्धय रोहन थापा मगर र विमला पुलामी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु गरि मनाउँदै आएको छ ।

फोटो–टोपली तरामु/शान्ति श्रीस मगर