सत्तरङ्गी क्लबले गर्यो बुटवलमा अपाङ्गलाई सहयोग

बुटवल, पुष ७ । बुटवलस्थित सप्तरङ्गी क्लबले बुटवल ११ देविनगरमा रहेको अपाङ्ग आश्रममा रहेका असाहय तथा बालबालिकालाई सहयोग प्रदान गरेको छ । क्लबले देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट सहयोग प्रदान गरेको हो ।

क्लबका अध्यक्ष मनोज पोखरेलले सहयोग स्वरुप २९ थान जाडोमा प्रयोग गरिने तन्ना, ५८ केजी आलु, २२ केजी प्याज लगायत विभिन्न खाद्य पदार्थहरु प्रदान गरेका हुन् । देउसी भैलो खेलेर उठाएको रकम एकदिन बनभोज गरेर सक्नुभन्दा असाहय, अपाङ्ग तथा बालबालिकालाई वितरण गर्दा राम्रो हुने भएकोले आफूहरुले सहयोग गरेको अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदानले अपाङ्गहरुका लागी गरिएको सहयोगले खुशी बनाएको भन्दै सहयोग गर्ने क्लब परिवारलाई धेरै धन्यवाद दिएका छन् । क्लबका सचिव होमनाथ पौडेलले सञ्चालन गरेको सहयोग वितरण कार्यक्रममा क्लबका विभिन्न व्यक्तिहरु सहभागी भएका थिए ।