लुम्बिनीमा नेकपाको सांस्कृतिक अभियान, हज्जारौं जनताको सहभागी (फोटोसहित)

जनबाटो संवाददाता । नेपाल कम्युनिष्ट पार्टीले लुम्बिनीमा सांस्कृतिक अभियान सञ्चालन गरिरहेको छ । नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरो अन्तर्गत क्षितिज सांस्कृतिक परिवारले “क्षितिज जनसङ्गीत अभियान” सञ्चालन गरेको हो ।

अभियानको सन्दर्भमा बोल्दै नेकपा रुपन्देही इन्चार्ज संगमले नेपाली जनताको मुक्ति र परिवर्तनको सपना विरुद्ध दलाल प्रतिक्रियावादी राज्यसत्ताले दमन र धरपकड बढाएको भन्दै यसको विरुद्ध पार्टीले जनताको बलमा शसक्त प्रतिरोध गर्दै जाने बताए । नेता संगमले अहिले पार्टीले देशैभर संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको भन्दै यसले पार्टी र क्रान्तिलाई अझ मजबुद बनाएको बताए ।

मधेश क्षेत्रको ग्रामीण वस्तीहरुमा अपार जनताको सहभागीतामा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । रुपन्देहीको सैनामैनामा विभिन्न गाउँवस्तीहरुमा क्षितिज परिवारले आफ्नो सांगीतिक प्रस्तुतिहरु देखाइरहेको छ । कार्यक्रममा सैनामैना गाउँपालिकाका झण्डै दुई हजार जनताले सांस्कृतिक कार्यक्रमको अवलोकन गरेको आयोजकले बताएका छन् ।

क्षितिज परिवारले राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टाचार, बलात्कार एवं दलालीकरण विरुद्ध जनताका भोक, दुःखपीडा र राज्यले थोपरेको आतंक विरुद्ध शान्ती, समृद्धि, स्वाधिनता र समानताका लागी वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा क्रान्तिकारी गीत, नृत्य एवं विविध बिधाका प्रस्तुतिहरु देखाइरहेको छ ।

नेकपा लुम्बिनी अन्तर्गत रहेको महासङ्घले भदौं १ गतेदेखि “शान्ति, समृद्धि, समानता र स्वाधीनताका लागी वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवाद प्राप्तिका लागी क्रान्तिकारी सांस्कृतिक अभियान” नारा सहित “क्षितिज जनसङ्गीत अभियान” सञ्चालन गरिरहेको छ ।