बुटवल लगायत लुम्बिनीका छ वटै जिल्लामा नेकपाले गर्यो अन्तरक्रिया

जनबाटो संवाददाता । फागुन १०– नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थायी समितिका सदस्य एवं नेता सुदर्शन र पदम राईलाई सरकारले गरेको गिरफ्तारी विरुद्धमा देशैभर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रम बुटवल लगायत लुम्बिनीका सवै जिल्लामा सम्पन्न भएको उक्त पार्टीले बताएको छ ।
नेकपा रुपन्देहीले आज बुटवलस्थित विश्व हिन्दु महासंघको सभाहलमा “कथित बाम सरकारको ज्यादती र लोकतन्त्र” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटेरी अमर आरसीले शान्तिपूर्ण सभा तथा कार्यक्रम गर्ने लोकतन्त्रको न्युनतम मान्यता विपरित सरकारले आफ्नो पार्टी र पार्टीका नेताहरुलाई अनावश्यक धरपकड र गिरफ्तार गरेको भन्दै गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट गिरफ्तार नेताहरुलाई रिहा नगरे शसक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

कार्यक्रममा क्रान्तिकारी माओबादीका नेता भुलबहादुर सुनारी, माओबादी केन्द्रका सहसंयोजक पुरन गुरुङ, राजमो सचिव दिपक पौडेल, काँग्रेसका प्रतिनिधि बिष्णु पोखरेल, बाम बुद्धिजीवी तथा लेखक दिल साहनी, माक्र्सबादी बिचारमञ्चका अध्यक्ष युबराज पन्थी, राष्ट्रिय स्वाधीनताका लागी नागरिक अभियानका पदम कार्की, मालेमा अध्ययन केन्द्रका बिनबहादुर कुवँर, वरिष्ठ अधिबक्ता तेजप्रसाद कँडेल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं लगायतले बोल्दै सरकारले नेकपामाथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको र पतनको बाटो अँगालेको बताएका छन् । संसदीय संविधान र लोकतन्त्रको मुल्य मान्यता बिपरित गएर सभा सम्मेलन गर्न पाउने बिचार राख्न पाउने अधिकारलाई समेत बन्चित गरेकोप्रति सवै वक्ताहरुले बिरोध जनाएका छन् ।

केपी ओली प्रधानमन्त्री भए लगत्तै युवाहरुको सम्मेलनमा बिराटनगर पुगेका नेता सुदर्शन, पदम राई लगायतलाई गिरफ्तार गरि सम्मेलन समेत गर्न नदिएपछि नेकपाले आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ । धरपकडको बिरोधमा ८ गते नेपाल बन्द गरिए पनि नेताहरुलाई उल्टै मुद्दा लगाएपछि पार्टी आन्दोलित भएको हो । बुटवलमा सम्पन्न अन्तरक्रियामा नवीन थारुको अध्यक्षता, शिशिर जिसीको सञ्चालन र बिनोद खनालले स्वागत गरेका थिए ।

यसैगरी गुल्मी, कपिलवस्तु, परासी, नवलपुर, पाल्पा, अर्घाखाँचीमा पनि कार्यक्रम सम्पन्न भएको संवाददाताहरुले बताएका छन् ।