स्थानीय जनप्रतिनिधिको कर्तुत, विकासको आधा बजेट खल्तीमा

कैलाली । नेपाली समाजमा एउटा भनाई छ ‘तात्तै खाउँ मरिजाँउ’ । यो भनाई लागू हुन्छ कैलालीको मोहन्याल गाँउपालिकाका वडा अध्यक्षहरूमा । यस गाँउपालिकका वडाअध्यक्षहरू जतिसक्दो चाँडो धन कमाउने दाउमा देखिन्छन् । धन आर्जन गर्नका लागि यिनीहरूले प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेका छन् । पूर्वी कैलालीको मोहन्याल गाउँपालिकाको विकास बजेटमा वडा अध्यक्षहरूले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।

वडा अध्यक्षहरूले विकास बजेटमा मनपरी भ्रष्टाचार त गरेका छन् नै संगसंगै सडक निमार्ण गर्ने निहूँमा चुरे क्षेत्रमा ठूलो संख्यामा रुखहरू काटेर बेचिरहेको खबर साँघुलाई प्राप्त भएको छ । वडालाई भाग परेको बजेट खर्च गर्न आफ्ना दाजुभाईहरूलाई काठ ठेकेदार र निमार्ण ठेकेदार बनाइ विकास बजेट खाइरहेको खुल्नमा आएको छ । आर्थिक बर्ष २०७४/०७५ को विनियोजित विकास बजेट वडा अध्यक्षहरूले सडक निमार्ण सम्पन्न भएको नक्कली कागज बनाई आधा रकम खाएको गाँउपालिका उपाध्यक्ष पूजादेवी बुढामगरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि वडा अध्यक्षहरूले गरेका भ्रष्टाचार बाहिर आएको हो । उपाध्यक्ष बुढामगरले पत्रकार सम्मेलनमा  वडा अध्यक्षहरूले आधा रकम खाएकोले छानबिनको समेत माग गरेकी छिन ।

मोहन्याल गाँउपालिकाका वडा अध्यक्षहरूले अघिल्लो बर्ष पनि विकास बजेटमा अनियमितता गरेको विवरणहरू सार्वजनिक भएका थिए ।
उपाध्यक्ष बुढामगरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा र वडा नम्बर ७ का अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्याय र वडानम्बर ४ का वडा अध्यक्ष टेकेन्द्र बोगटीको मिलेमतोमा आर्थिक अनियमितता भइरहेको बताएकी छिन । मोहन्याल गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष र यी तीनैजना वडा अध्यक्षहरू नेकपाबाट निर्वाचित हुन ।

गाउँपालिकाको कार्यालयबाट ७५ किलोमिटर टाढा जिल्लाको सदरमुकाम आएर पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष बुढामगर र कार्यपालिकाका सदस्य विशाल पहराइले आर्थिक अनियमितताको छानबिन गरी कारबाही गर्न माग गरे । उपाध्यक्षले भनिन्–गाउँपालिकाका योजनाहरू अनुगमन गर्नका लागि छुट्ट्याइएको ३५ लाख रुपैयाँ एक पटक मात्र सडक आयोजनाको अनुगमन गरी सिध्याएका छन् । विकास बजेट कहाँ कसरी खर्च भैरहेको छ भन्ने विषयमा सार्वजनिक सुनुवाई गर्न माग गर्दा प्रमुख प्रशासकीय अधिकृत ओझाले कानूनमा त्यस्तो ब्यवस्था नभएकोले जरुरी नभएको जवाफ दिँदै अटेर गरेर भ्रष्टाचारलाई ढामकछोप गर्ने दुष्प्रयास गरेको उपाध्यक्षको गुनासो छ ।

गत आर्थिक बर्ष जस्तै यो बर्ष पनि वडा अध्यक्षहरूले  सवारी साधन खरिद, कार्यालय भाडा, सडक निर्माणदेखि लिएर विद्यालय भवन, पर्यटनलगायतका क्षेत्रमा विनियोजित बजेट दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । विकास निर्माणका कतिपय योजनाहरूमा कीर्ते बिल बनाएर काम सम्पन्न भएको वडा अध्यक्षहरूले देखाउने गरेका छन् ।  गाउँपालिका बैठकले ७ वटै वडालाई एकमुष्ट बजेट छुट्ट्याएपछि वडा अध्यक्षहरूले आसेपासेलाई उपभोक्ता समितिका अध्यक्ष बनाएर विकास रकममा भ्रष्टाचार गरेका हुन् । मोहन्याल गाँउपालिकाका अधिकाँश वडाहरू चुरे क्षेत्रमा पर्दछन् । चुरेमा हेभी इक्युभमेन्टको प्रयोग गर्न बन्देज भएपनि कमिसनको लोभले वडा अध्यक्षहरू धमाधम डोजर प्रयोग गरिरहेको खबर छ ।

वडा अध्यक्षहरूले प्रतिघण्टा रु २ हजारका दरले डोजरमार्फत सडक निर्माण गर्ने रकम भुक्तानी गर्दा मजदूर प्रयोग गरेको भन्दै फर्जी हस्ताक्षर गराएर रकम खाने गरेको भेटिएको छ । डोजरले बाटो खन्ने मजदूरले खनेको भनेर कागज बनाउन मिल्छ ? स्थानीयले प्रश्न गरेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक खनेको स्थानियको भनाई छ ।  चुरेमा डोजरको प्रयोग गर्दै वन माफियाको रकम समातेर सिमली, खनियाताल सडकमा करोडौं मूल्य बराबरका हरिया साल, सल्लाका रुखहरू डोजरलगाएर उखेलेर फालिएको भएपनि वन प्रशासनले पनि आँखा चिम्लेर बस्नुले यसमा डीएफओ, रेञ्जर, वन प्रशासन पनि संलग्न रहेको स्थानीयले बताउदै आएका छन् ।

सिमली, खिमडी हुँदै खनियाताल जाने सडक खण्डमा सयौं साल र सल्लाका रुखहरू समेत नासिएका छन । मोहन्याल गाउँपालिकाका प्रत्येक वडा कार्यालयलाई कार्यालय सञ्चालनका लागि भनेर प्रति वडा कार्यालयलाई छुट्ट्याइएको ७ लाख रुपैयाँ पनि हिनामिना हुँदा पनि कुनै निकायले वास्ता गरेको छैन । साविक पण्डौन र मोहन्याल गाउँपालिकाका  १, २ र ४ गरेर ३ वटा वडा कार्यालयहरू सुखडमा एउटै घरमा भाडामा रहेका थिए । भने वडा नम्बर ३, ६ र ७ क्रमश ः फलेबिसौनी, सोल्टा र कुइनेमा राखिएका छन ।

ती वडा कार्यालयहरूका भाडा, प्रशासनिक खर्चदेखि लिएर फर्निचर खरिद कार्य समेत वडा अध्यक्षहरूले मनोमानी ढंगले गरेको र वडा पालिकाका सदस्यहरूलाई समेत कुन शिर्षकमा कति रकम खर्च लाग्यो  भन्ने बारेमा समेत जानकारी नदिएको आरोप अधिकांश वडा सदस्यहरूको रहेको छ । नयाँ वडा कार्यालय निर्माण, पर्यटन र सडकका नाममा विनियोजन गरेको रकम सबै वडा कार्यालयहरूमा अनियमित र अपारदर्शीरुपमा खर्च गरेर बिल भर्पाई गरिएको आरोप स्थानीयको रहेको छ  मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलको सोझोपनको फाइदा उठाउदै वडा अध्यक्षहरूले विकास बजेटमा लुट नै मच्चाएको गाउँलेहरूको भनाई छ । वडा अध्यक्षहरूले विकास बजेटको दुरुपयोग गरेको सूचना प्राप्त भएको अध्यक्ष रावलले बताए ।

वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले सडक सञ्जाल तथा मोटरबाटो निर्माणको नाममा सर्वे डिजाईन स्टमेट वातावरण परीक्षण  भ्क्ष्ब् नै नगरी ठूलो संख्यामा सालका रुखहरू काटेको स्थानीयले बताएका छन । धुराखाली, खिमडी, खन्यातालमा स्तरीय सडक निर्माणका लागि गाउँपालिकाबाट रु. ५० लाख र पण्डौंन, कोल्तडी मोटरबाटोका लागि रु. १८ लाख नारंगे मोटरबाटोका लागि रु. ८ लाख र खिमडी खन्याताल मोटर बाटोका लागि थप डोलिडारबाट रु. २२ लाख बजेट आफू निकट मान्छेहरूको समूह बनाई खर्च गरेको भेटिएको छ ।

आ.व. २०७२÷०७३ मा जिल्ला समन्वय समितिमा बेरुजु रहेका बाटो उपभोक्ता समितिका अध्यक्ष जयप्रकाश मल्लमार्फत ४ वटा मोटरबाटोको काम गराएकोरु र सार्वजनिक सुनुवाईसमेत नगरी आसेपासे सम्मिलित उपभोक्ता समिति गठन गरी वडा अध्यक्ष उपाध्यायले फर्जी कागजात तयार पारी बजेट अनियमित रुपमा खर्च गरेको खुलेको छ । मोटरबाटो निर्माण गर्दा हेभी इक्यूमेन्ट प्रयोग गरिएतापनि भुक्तानी लिंदा मजदूरद्वारा काम गरेको बिल भर्पाई र डोर हाजिर देखाई भुक्तानी लिएको समाचार छ । साथै नक्कली मजदूर बनाई डोर हाजिर गराई  सरकारलाई समेत राजश्वमा हानी नोक्सानी गराएको वडा अध्यक्षविरुद्ध उजुरी परेको छ ।

पण्डौंन, कोल्तडी, आमडाला सडक खण्डका लागि विनियोजित रकम रु. १८ लाखमा इन्द्रेणी सा.व.उ.स. र त्रिवेणी सा.व.उ.स. बाट थप रु. ५ लाख मोटरबाटो उपभोक्ता समितिलाई दिएतापनि सो रकमको गाउँपालिका, वडामा अभिलेख नराखी, स्टेटमेन्ट समेत नबनाई सामुदायिक बन समिति र मोटरबाटो उपभोक्ता समितिसंग मिलेर वडाअध्यक्षले रकमको अनियमितता गरेको आरोप छ । भवानी केमिकल्सबाट कमिसन खाएर रुखबाट खोटो संकलन गर्न लगाएको आरोप पनि वडाअध्यक्ष उपाध्यायलाई लाग्ने गरेको छ । यसैगरी वडा नम्बर ४ का अध्यक्ष टेकेन्द्र बोगटी समेत भ्रष्टाचार र अनियमितताका मामलामा उपाध्यायभन्दा एक कदम अघि देखिएका छन । बोगटीको भ्रष्टाचारकर्म पनि उदेकलाग्दो छ । उनले सडक निमार्णका लागि गठन भएका उपभोक्ता समितिहरूलाई कमिसन दिन बाध्य पार्ने गरेका छन । जसले कमिसन दिदैन त्यस्ता उपभोक्ता समितिको बजेट निकासामा रोक लगाउने गरेका छन ।

बोगटीले सिमली धुराखाली रोडको ५० लाख, चिरकट्टे कटौंजे मोटर बाटो निर्माणको ४० लाख उपभोक्ता समितिलाई थाहा नै नदिई आफूखुशी कोटेसन बिना ठेक्का दिदा विवाद उत्पन्न भएको छ । शन्तिपुर गाउँघर क्लिनिकको ६० हजार रुपैयाँ, दलित, अपांगता जनचेतना कार्यक्रमको १ लाख रुपैयाँ, वडास्तरीय पूर्ण सरसफाई कार्यक्रमको ५० हजार रुपैयाँ, चेलीबेटी शिक्षा कार्यक्रमको १ लाख ६० हजार रुपैयाँ कार्यक्रम नै नगरी फर्जी बिल बनाएर आफैले खाएकोमा स्थानीयवासीले विरोध गर्दै आएका छन । वोगटीले रोड निर्माण गर्दा र वडा कार्यालयको फिल्ड बनाउँदा स्काभेटर प्रयोग गरेको तर भुक्तानी लिदाँ मजदूरले काम गरेको देखाइ नक्कली बिल पेश गरेर वडा नम्बर २ का वडा अध्यक्षकै भ्रष्टाचार शैली अपनाएको स्थानीयको आरोप छ । यसैगरी वडा नम्बर ७ का अध्यक्ष खरप्रसाद अधिकारी पनि भ्रष्टाचार र अनियमिततामा को भन्दा को कमको दौडमा देखिन्छन् ।

उनले सोल्टा वडानम्बर ६ मा निर्माणाधिन राजी समुदायका २३ वटा घर निर्माणको ठेक्का आफ्नै भाई तारा अधिकारीलाई दिएका छन् घर निर्माण पूरा नहँुदै भुक्तानी दिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन । कचाली सडक निर्माण, बढीगाउँ त्रिवेणी जाने सडक र फर्साथाई ओखडेकोट जाने सडकमा पनि डोजरको प्रयोगगरी गाउँलेको डोर हाजिर कीर्ते बनाई रकम खाएको स्थानीयले आरोप लगाएका छन । वडाअध्यक्ष निर्वाचित भए लगत्तै स्काइभेटर खरिद गरेर बाटो निर्माणमा प्रयोगगरेको र आफ्नै भाईलाई उक्त स्काईभेटर प्रयोग गर्न लगाएकोमा अधिकारीको चर्को विरोध हुने गरेको छ । अहिले स्थानीयवासीहरू यस्ता भ्रष्ट व्यक्तिहरूलाई भोट हालेर किन जिताइएछ भनेर पछुतो मानिरहेको खबर प्राप्त भएको छ । (साँघु साप्ताहिक पुस २३)