सहिद–बेपत्ता परिवार बीच मैत्रीपूर्ण फुटवल

बुटवल/सहिद तथा बेपत्ता पारिएका परिवारका महिला सदस्यहरुका बिचमा शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने शहिद तथा बेपत्ता परिवारका बिचमा सम्बन्ध विस्तार गराउने उद्येश्यका साथ मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शहिद स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख गुमादेवि आचार्यले शहिद परिवार बिचमा सम्बन्ध बिस्तारमा प्रतियोगिता सहयोग सिद्ध हुने बताईन ।

बुटवल देविनगरस्थित खेलमैदानमा भएको खेलमा कला क्षेत्रीको टिम ३–२ गोलले बिजयी भएको छ । प्रतियोगितामा कला क्षेत्रीको टिमका मन्जु भुषालले २ तथा बबिता पन्थिले १ गोल गरेकी थिईन । अर्को टिमबाट रिता सेन र साबित्रा थापाले गोल गरेको प्रतिष्ठानका सचिव मनोज रानाले बताए ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद बन्जाडेले सरकार र माओवादीहरु पक्षबाट भएका शहिद तथा बेपत्ता परिवारहरु समाजका एकअर्काका लागि पुरकका रुपमा रहेकाले पनि मैत्रीपुर्ण आपसी सम्बन्ध विस्तार जरुरी रहेको बताए । नगरमा बसोबास गर्ने ३६ परिवारहरुका सदस्यहरुलाई सम्मान समेत गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरि घिमिरेले बताए । खेल संयोजक राधा पौडेलले मनोरन्जनसंगै सम्बन्ध विस्तारमा खेलकुद महत्वपूर्ण रहेको बताईन ।