विरानो देशबाट सम्झना

-लिला राना मगर-

सुदुर देशको हावाको वेगले
हिर्काउदा छातीमा शिरा, धमनीहरुले
सोध्ने गर्छ–
के यो हावाको गन्धमा
मेरो देशको माटोको गन्ध छ ?

सधै सधै बिहानमा झुल्कने घाम
उस्तै उस्तै भएपनि
देखिदैन त्यहाँ
मेरो बाको जुँगाको छाँया
मेरो आमाको पैतलाको डोब
जहाँ खोजिरहेको हुन्छु
यि आँखाहरुले आफ्नै देशको चित्र

चिल्लो बाटो, महलको अगाडी
उभिँदा पनि
लाग्दैन कि यो अति सुन्दर छ जस्तो
किनकी मलाई
मेरै झुपडी र मेरै देशको
धुलो,गन्धप्रति औधी प्रेम छ

हरेक साँझमा देखिने ताराहरुसँग
मुस्कुराउने गर्छु म
अनि सोंच्दछु ती ताराहरु
के हाम्रै घरको झुपडी हुदै आए होलान् त ?
उत्तर बिनाको प्रश्न
सँग पौंठेजोरी खोजिरहन्छ
हरसमय
प्यासी बनेर एकोहोरो

कुहु–कुहु कराउने कोइली
चिरविर–चिरवीर कराउने जुरेली
त्यहाँ र यहाँ उस्तै लाग्छ
फरक यत्ति हो
तिनले आफ्नै देशको गीत
गाउँथे भनी
यिनले खै कुन देश र कसका
गीत गाउँछ म बुझ्न सक्दिनँ !

मलाई त्यही अँध्यारो
साँघुरो बाटो हुदै
जूनकिरी पिलीपिली बलेको नै
रमाईलो लाग्छ
अचेल यो शहरभित्र
मान्छेहरुको भीडमा उभिँदा पनि
शून्यता र मौनता मात्र देख्दछु
किनकी बज्दैन यहाँ राष्ट्रिय धुन
सयौ थुँगा फूलका हामी
देखिदैन कतै
चन्द्र सुर्य अङ्कित झन्डा
त्यसैले होला यो देश
बिरानो लाग्छ मलाई ।