लेनिन उपनाम कसरी रह्यो ?

सुमन नेपाली/लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।

लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गीतप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील विचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने । केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वीर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।

लेनिन उपनाम कसरी रह्यो ?
निर्वासनबाट फर्केपछि लेनिन सन् १९०० भरि क्रान्तिकारी मजदुर पत्रिका अखिल रसियाली राजनीतिक पत्रिका प्रकाशनको तयारीमा लागे । मे १९०० मा पार्टी निर्माणको लागि पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार भए, तर खानतलासीको क्रममा केही नभेटेपछि उनले छुटकारा पाए । जारशाही सरकार लेनिनलाई आफ्नो ठूलो शत्रु ठान्थ्यो । त्यसैले देशभित्र बस्ने अवस्था नभएपछि लेनिन १६ जुलाई १९०० मा जर्मनीतर्फ लागे । यही अवधिमा लेनिनले अखिल रसियाली क्रान्तिकारी पत्रिकाको रुपमा ‘इस्क्रा’ (फिलिङ्गो) को प्रकाशन प्रारम्भ गरे । लेनिन अखबारको मुटु थिए । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरुलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्ने बारे लेखहरु प्रकाशित गरे । सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाले ।‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए ।

सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए ।
त्यस्ता किसानहरुलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले लेनिनले सन् १९०३ मा ‘गाउँका गरिबहरुलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा मजदुर पार्टीको उद्देश्य के हो र किन गरिब किसानहरु र मजदुरहरुबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो ।

 

अलविदा लेनिन
कडा परिश्रमको कारणले सन् १९१८ मा गोली लागेर भएको घाउ बल्झिँदा लेनिनको स्वास्थ्य निकै बिग्रिन गयो । सन् १९२१ को जाडोदेखि डाक्टरहरुको अनुरोधमा उनी अक्सर आराम र उपचारको लागि आफ्नो काम रोक्न बाध्य भए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । तर, अस्वस्थ भए पनि लेनिनले हरेक दिन सरकारी कामकाजको रेखदेख गर्न छाडेनन् । सोही वर्ष नोभेम्बरमा ग्लुखोभको कारखानाका मजदुरहरुको एक प्रतिनिधिमण्डलले गोर्की सहरमा लेनिनलाई भेट गर्यो । उनीहरुले १८ वटा चेरीका रुखहरु लेनिनलाई उपहारस्वरुप दिनको लागि लिएर आएका थिए । आत्मीय रुपमा भएको यस भेटघाटमा लेनिनलाई मजदुरहरुले महान् सोभियत संघको निर्माणमा उहाँले तयार पारेको विकासको रुपरेखा पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधा रातसम्म ग्लुखोभ कारखानाका मजदुरहरुले पठाएको शुभकामना पत्र बारम्बार पढेर बसे । मजदुरहरुसँग यो उनको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो ।

सन् १९२४ जनवरी २१ को दिन राती सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आकस्मिक प्लेनम बस्यो । केन्द्रीय समतिले जनताको नाममा एक अपिल जारी गर्यो । उक्त अपिलमा भनिएको थियो, ‘त्यस व्यक्तिको निधन भएको छ, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले युद्धको राँकोबीच दृढतापूर्वक सम्पूर्ण देशभरि अक्टोवर क्रान्तिको रातो झण्डा फहराएको छ । शत्रुहरुको विरोधको बाढी रोकेको छ र भूतपूर्व जारशाही रुसमा श्रमिकहरुको प्रभुत्व कायम गरेको छ । कम्युनिस्ट इन्टरनेसनलका संस्थापक, विश्व साम्यवादका नेता, अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रेम र गौरव, पददलित पूर्वेली जनताका झण्डावाहक, रुसी सर्वहारा अधिनायकवादका अगुवा आज हाम्रो बीचमा छैनन् ।’

२३ जनवरीको दिन महान् नेताको देह गोर्की सहरबाट मास्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । अति जाडो भए तापनि चारदिनसम्म लाखौं मजदुर तथा किसानहरु, लालसेनाका जवानहरु र कर्मचारीहरु, बुढाबुढी तथा बच्चाबच्चीहरु र सोभियत भूमिको कुनाकुनाबाट आएका प्रतिनिधिमण्डलले आफ्ना प्यारा नेतालाई अन्तिमपटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । २७ जनवरीको दिन दिउँसो ४ बजे लेनिनको अन्त्येष्टी जुलुस निस्क्यो । लेनिनको शव लालमैदानमा विशेष रुपमा बनाइएको समाधिमा राखियो । शोकमा डुबेका सोभियत जनताले आफ्ना नेतासँग विदा लिए ।

अन्त्येष्टीमा पाँच मिनेटसम्म मौनधारणा गर्ने घोषणा गरियो । मोटर र रेलहरु रोकिए, कलकारखानाहरुमा काम रोकियो । विश्वभरिका श्रमिक जनताले आफ्ना महान् नेता शिक्षक एवं मित्र लेनिनसँग अन्तिम बिदा लिए ।