रोल्पा

–गिरि श्रीस मगर-

इतिहासको सपनालाई
बजार र ब्राण्डको नङ्ग्राले चिथोरेर
पहेंलो बाल्टीनमा जम्मा गरेर रगत
हुर्काउँदैछ रोल्पा रातो गुलाफ
आगामी
‘भ्यालेन्टाइन डे’ का लागि  !

मुर्झाएको छ लेकको गुरा“स
सदरमुकामको गमलामा हुर्किरहेछ
‘क्रिसमस ट्री’ को जण्डिस,
बरु आउँछन् सम्झनामा
इतिहासका राजा
र जर्नेलहरू
विस्मृतिमा गइसकेका छन्–
९ सय ६९ प्लस ।

मानौं सत्ताको हर समय
इतिहासमाथि भद्दा मजाकको
क्रूर समय हो,
शहीदप्रति एकै मिनेटको मौन धारण पनि
मानौं ‘समृद्घि’को क्षय हो !

यो त्यही टुँडीखेल हो
परेड खेल्थे छापामारहरू जहाँ,
र खारिएर आरनमा
निस्कन्थे स्वप्निल क्षितिजतिर  !

त्यही टुँडिखेलमा आज
गुञ्जिरहेछन् जर्नेलका गीतहरू
अवाक छ–
उपेक्षितजस्तै एउटा कुनामा
वैशाखी टेकेर उभिएको
भूतपूर्व छापामार ।

किन उल्टो बगिरहेछ माडी ?
किन लत्रेको छ शिर जलजलाको ?
थवाङ–गर्भको ज्वालामुखी किन छ मौन ?

सानासाना सपना देखेका
चिम्सा चिम्सा आँखाहरूबाट
नहराउँदै स्वप्न मोह
नसुक्दै क्रुरतम यातनाको आँसु
त्यही टुँडिखेलको छातीमा आज
कसले जलाइरहेछ मुक्ति गीतका हरफहरू ?
भन प्रिय रोल्पा !
चिहानबाट उठेर कसले गाइरहेछ
राजाको प्रिय गीत–
गाजलु ती ठूला ठूला आँखा
तीर बनी पस्यो यो दिलैमा……।