यसरी क्रान्तिकारी बनेका थिए चे ग्वेभारा : चे को रोचक क्रान्तिकारी जीवन

चे ग्वेभारा विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् । विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व क्रान्तिका नायक चे ग्वेभाराको जीवन कस्तो थियो त ?

परिवारका तेते पछि चे बने

अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भयो । पेशाले उनका बुवा इन्जिनियर थिए । उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो । उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा उनलाई तेते भनेर बोलाउँथे । पछि उनले आफ्नो नाम बदलेर चे राखे । चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ ।

उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरु सिके ।

उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनैतिक कारणहरु खोज्नतिर लागे । गाउँ गाउँ पुगे । विभिन्न वस्ती वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु । भोक, पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे । ड्राइभरका दुखद जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड–इण्डियन आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।शिक्षकको नजरमा मूढी र अनुशासनहिन

चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए । अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए । ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आप्mनी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन् ।

साइकलिङ गरेरै देशको कुनाकुना पुगे

उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे । यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पु¥यायो । उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनैतिक कारणको उपचार कसरी सम्भव होला ? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।

अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”

बोलिभियामा जीवनको शुरु र अन्य

त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए । त्यसले चे ग्वेभारालाई थप बल मिल्यो । चे विशेषज्ञहरु भन्दछन् –“ बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको थियो । उनको जीवनको शुरु र अन्य बोलिभिया मै भएको थियो ।”
बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ खस्दै जान थालेपछि चे चिन्तित भए । उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे । त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्र तर्फ लागे । त्यसपछि उनी ग्वाटेमाला पुगे । ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए ।
ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले । माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए ।

क्यूबाली डाक्टरसँग भेटेपछि

त्यसपछि मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्यूबाली डाक्टरसँग भेट भयो । क्यूवालीहरुमध्ये एक थिए निको लोपेज । जोसँग ग्वाटेमालामा हुँदा उनीहरुको भेट भएको थियो । निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्यूबामा भईरहेको क्रान्तिबारे सविस्तार भने । कुराकानीको क्रममा क्यूबामा शसस्त्र संघर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए । त्यसपछि फिडेल क्यास्त्रोका भाई राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो । राउलबाट अझ बढि क्यूबामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए । पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो । त्यसपछि एक अर्जेन्टिनी नागरिक क्यूबाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए ।

क्यूवामा उद्योगमन्त्री हुँदा तलब भत्ता लिएनन्

क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्ट्रो राष्ट्रपति भए । चे ग्वेभारा भने केन्द्रिय बैंकका अध्यक्ष र उद्योगमन्त्री भए । तर रोचक तथ्य उनीले तलब भत्ता कहिल्यै लिएनन् । बरु निश्चित समय शारीरिक श्रमदान गरे । त्यही रकमबाट आफ्नो गुजारा चलाउ“थे ।

यता चेलाई मार्न निरन्तर अमेरिकी सरकारले आफ्नो कुख्यात गुप्तचर संस्था सीआईएलाई अह्राइरहेको थियो । सिआइएले चेलाई निरन्तर सन् १९५४ देखि १९६२ सम्म पछ्याइरह्यो ।

उनी मन्त्री पदमा बसी रहेनन् । फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे । सारा विश्व घुमेर क्यूबाको समाजवादको लागि अन्तर्रािष्ट्रय समर्थन जुटाइरहे। अन्तत उनी मन्त्री पद त्यागेर निस्किए कङ्गो तर्फ ।

हत्याको ४७ वर्षपछि चेको शव भेटियो

उनी पुगे १९६५ मा कङ्गो । जहाँ उनले क्रान्तिकारी विचार प्रवाह गरे । यसपछि बोलिविया पुगे । बोलिभियाको जनताको मुक्तिका लागि लड्दा लड्दै उनी पक्राउ परे । पछि उनको ९ अक्टोबर १९६७ हत्या भयो । हत्यापछि पनि चेको शव गुमनाम बनाइयो । पछि ४७ वर्ष पछि मात्र सार्वजनिक भयो ।
२८ वर्षपछि चेको हत्यामा सम्लग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ भने, ‘चेलाई अत्यन्त गोप्य रुपमा गाडिएको बेला म प्रत्यक्षदर्शी हुँ । चे सम्बन्धीे रहस्य म अब खोल्छु ।” उनकै सहयोगमा कयौं पटक अस्थिपञ्चर उत्खनन गर्ने कार्यहरु भए ।

आज चेका सम्बन्धि कयौं पुस्तकहरु उपलब्ध छन् । उनकै क्रान्तिकारी जीवनसँग सम्बन्धित चलचित्रहरु निर्माण भएका छन् । उनको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ । गुरिल्ला युद्धको नियमहरु प्रकाशित छन् ।

आज क्यूवाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौल भएको भव्य शालिक निमार्ण भएको छ । जुन शालिक १९९७ अक्टोबर १७ तारिखमा निर्माण भएको थियो । अक्टोबर ९ लाई क्यूबाली सरकारले ‘हिरोइक गुरिल्ला डे’ का रुपमा भव्य समारोह गरी कमरेड चेको स्मृति दिवस बनाउँदै आएको छ । जुन दिन चेको निर्मम हत्या भएको थियो । त्यो भन्दा पनि ठूलो आज दुनियाँका श्रमजीवीहरुको मनमा सदा बास बस्ने अन्तर्राष्ट्रिय क्रान्तिका नायक बनेर कमरेड चे ग्वेभारा बाँचिरहेका छन् ।

http://greaternepalcn.blogspot.com