माघे सकराती मगर जातिमा विविध संस्कृति

-बमकुमारी बुढा मगर

माघे सकराती मगर जातिको राष्ट्रिय चाडको रुपमा घोषणा हुन २०६५ सालको वर्ष पर्खनु पर्यो । गोरखा राज्य निर्माण पहिले १२ औं शताब्दी देखि मगर जातिमा ‘‘फुटाउ र राज गर’’ नीति अत्यन्त फलिफाप भयो । यस्तो हुनुमा मगरात भित्रको पुरानै सांस्कृतिक स्वायत्तता पनि शासक वर्गको लागि सजिलो भयो । अति प्राचीन कालदेखि नै १८ र १२ वटा राज्य निर्माण गरी रिडी गण्डकी पश्चिम र पूर्वमा शासन गरिरहेको बेला आर्य बाहुन पश्चिम सीमाबाट प्रवेश गरी गुल्मी र अर्धाखाँचीमा केन्द्र बनाई भावी रुपरेखा तयार गर्ने काम भयो ।

१८ मगरात २२ से राज्यमा र र १२ मगरात २४ से भुरे टाकुरे राज्यको रुपमा विकास गरी गोरखा राज्य निर्माण भयो । यसरी आफ्नै राज्यलाई मासेर गोरखाली फौज बनाई नेपाल एकिकरण अभियान चलाई मगर जातिलाई आफ्नो साथमा सम्पूर्ण भू–भागमा फैलाइयो । आफ्नै मुल्य मान्यतासँग अपरिचित गराइयो । रिडी गण्डकी पश्चिम खस भाषा फैलाउने र पूर्वमा हिन्दु धर्म अभ्यास गराउने रणनीति बनाइयो । परिणाम आज मगर भाषालाई खाम भाषा नाम दिएर ‘खाम’ शब्द जातिको रुपमा अर्थ लगाउने भयंकर षडयन्त्र छ । गोरखा आसपासमा हिन्दु धर्म ब्यवहारमा ल्याउन ठूलो कसरत भयो । अहिले पनि मगर जातिमा रहेको सांस्कृतिक विविधताको ब्याख्या गर्न नपुगेको यथार्थता हो । यही सेरोफेरोमा हाम्रा कतिपय संस्कृति ओझेल परेका छन् । यतिसम्म कि, १८ मगरातमा तितेपाति प्रयोग गरिन्छ भने, १२ मगरातमा भिमसेनपाति प्रयोग गरिन्छ । खागर (हिमाल), बुकी (उच्च पहाड) र नाम (होचो पहाड)मा विकास भएको कारण विविधता झल्किने ब्यापक संस्कृति छन् । माघे सकरातीको समयसँगै हिमाली क्षेत्र डोल्पामा बस्ने मगरहरुले मनाउदै आएका रुङ चाड तिथिको  आधारमा मनाइन्छ ।

अन्य आदिवासी जनजातिका प्रमुख चाडहरु तिथि अनुसार मनाएको पाइन्छ । तर मगर, थारु र गुरुङको प्रमुख चाड मितिमा मनाइन्छ, यससको अर्थ हिन्दु शासनको प्रभावले हो, भन्ने लाग्दछ । खास गरी रोल्पा जलजलाबाट उत्पति भएका सांस्कृतिक पुख्र्यौली देवी देवताका रुपमा २२ बैनी बज्यु र १२ भाइ ब्राहा मगरात क्षेत्रको सबै ठाउँमा महत्वका साथ पूजा गरिन्छ । गोरखा राज्य निर्माण गर्न मगरको मौलिक धरातललाई आधार बनाईएको हो । हिन्दु धर्मलाई हतियार बनाएर चलेको शासनमा परम्परागत संस्कृति लोप गराउने र अनुकुल हेरेर राज्यको संस्कृति बनाउने गरियो । उदाहरणका लागि दशैमा लगाउने जौं को जमारा दुर्गा भगवतीको प्रसाद मान्ने हिन्दु संस्कृति मगर संस्कृति हो । हाल रुकुम जिल्लामा पर्ने हुकाम मैकोइको योमा खार तथा पेल्मा खार पु÷पुम् (आरिङगाल बस्ने तथा जौ छर्ने ओडार) मा अविकसित रुपमा बसेको मगर इतिहास मानिन्छ ।

धेरै नेपालीहरुले चामल, दाल, घिउमा पकाएको खानालाई खिचरी खाने भनेको सुनिन्छ । मगर समाजमा खिचरी खाने वा खिचरी दिने भन्नुमा ठूलो महत्व राखिन्छ । सकरातीका दिन दाजुभाइले जतिसक्यो छिटो तरुल, चामल, दाल,पैसा लगायत सामग्रीहरु दिदी बहिनीलाई दिन्छन् । सकरातीका दिन गाउँका चेलीहरु विवाह भएका , नभएका सबैको नाममा चामल, काचोदाल र पैसा डालामा राखेर घर घर पु¥याउने गरिन्छ ।  माघ महिनाभरी विवाहित छोरीको घरमा खिचरी पु¥याउने तथा अचानक भेटेका चेलीहरुलाई बाटो घाटोमा समेत केही पैसा खिचरी स्वरुप दिने आत्मीयताको ब्यवहार गरिन्छ ।

त्यसैले अन्न खेतीको शुरुवात जौं अन्नबाट भयो र असौज, कार्तिकमा छरेको जौं असार, सावनमा पाक्ने र छरेको २–३ महिना सीत र तुसाराले छोपेर पुष अन्तिमदेखि उम्रिने हुँदा बालीको राम्रो उत्पादन होस् भनेर खुशी मनाउदै माघे सकरातीका दिन झेप्ल्यानी (फूल) को रुपमा लगाइन्छ । जमारा÷जवारा कसरी प्रयोग गर्न थालियो भने, असौज–कार्तिकमा जौं छर्नु पहिले अध्यारो ठाउँमा ख्यारो (उमार  शक्ति) परीक्षण गरिने चलनमा पहेंलो आकर्षक देखेर जमारा लगाउन थालिएको हो, भन्ने तथ्य काठमाडौमा राजधानी स्थापना भएको धेरै समय पछिसम्म चैतमा  दशै मनाइन्थ्यो । हाल रानवमी एक दिन विदा कायम छ । पछि मात्र वर्ष याममा दशै मनाएको कुरा नेवार बुढा पाकाको भनाइ छ । मगर समाजमा माघे सकराती यसरी मनाइन्छ ।

खिचरी – धेरै नेपालीहरुले चामल, दाल, घिउमा पकाएको खानालाई खिचरी खाने भनेको सुनिन्छ । मगर समाजमा खिचरी खाने वा खिचरी दिने भन्नुमा ठूलो महत्व राखिन्छ । सकरातीका दिन दाजुभाइले जतिसक्यो छिटो तरुल, चामल, दाल,पैसा लगायत सामग्रीहरु दिदी बहिनीलाई दिन्छन् । सकरातीका दिन गाउँका चेलीहरु विवाह भएका , नभएका सबैको नाममा चामल, काचोदाल र पैसा डालामा राखेर घर घर पु¥याउने गरिन्छ ।  माघ महिनाभरी विवाहित छोरीको घरमा खिचरी पु¥याउने तथा अचानक भेटेका चेलीहरुलाई बाटो घाटोमा समेत केही पैसा खिचरी स्वरुप दिने आत्मीयताको ब्यवहार गरिन्छ । कुनै दाजुभाईले नियतवश खिचरी दिएनन् भने भाइ–बहिनीको सम्बन्ध बिग्रिएको ठानिन्छ । दिदी– बहिनीले खिचरी नपठाउने दाजु–भाइलाई विवादको सन्दर्भमा ‘‘तेरो खिचरी खोइ ?’’ भनेर जवाफ दिने गर्दछन् । ‘खिचरी’ भनेको मगर समाजमा स्नेहको गाँठो हो भने एकातिर खस भनाईमा खिचडी शब्दले अस्पस्ट, अन्योल भने अर्कोतिर हिन्दु धर्मालम्बीले पनि खिचरी पकाएर खान्छन् । दाजु भाइले खिचरी स्वरुप दिएको चामल दिदीबहिनीले माघ महिनाभित्र खाइ सक्नुपर्छ ।

तारा खेल – मगर परम्परामा शिकार खेलिन्छ । शिकारको उपयुक्त याम गर्मी महिना हो गर्मिमा जनावरहरु पानी छेउछाउ र छहारीमा भेटिने हुँदा जाडोको भन्दा गर्मीमा जनावर र चराहरु भेटाउन सजिलो पर्ने हुनाले माघदेखि शिकार खेल्ने उपयुक्त ठानिन्छ । सोही प्रयोजनका लागि तारा खेलबाट निसानी ठिक हुन युवाहरुलाई शिकार विद्यामा दक्ष बनाइन्छ । सोको लागि १०–१५ दिनसम्म प्रशिक्षण दिन तारा खेल सकरातीको अवसरमा आरम्भ गरिन्छ ।

गोदद्या खेल –यो समयमा क्रिकेट खेल हेर्न कैयौं मानिसको ध्यान आकर्षण भएको पाइन्छ । मगर समुदायमा अति प्राचीन खेल गोद्दया बाँसको गाँठो र बाङ्गो हाङगाबाट सामग्री तयार गरिन्छ । पुरानो गाँठोलाई चिल्लो ताछेर बल आकारमा बनाई, छिप्पिएको बाङ्गो हाङ्गालाई ठोक्ने लठ्ठी बनाइन्छ । फराकिलो चवरमा अत्यन्त जोखिमपूर्ण गोद्दया खेलको बाजी माघे सकरातीमा आयोजना गरिन्छ ।

मोसो र सिस्नु खेल – माघे सकरातीका दिन कुनै गाउँहरुमा मोसो दल्ने र सिस्नुले हिर्काउने खेलबाट युवा – युवतीहरु मनोरंजन गर्दछन् ।

का छिङ खेल –युवा–युवतीहरु सैन्य क्षमता वृद्वि गर्ने उद्देश्यले का छिङ (कुकुर जेउरी) खेल खेल्दछन् । धापा (युवा) तथा धामा (युवती) समान बल भएका दुइ जनाको कम्मरसम्म लामो डोरीको दुइ छेउमा बलियो गरी डोरी बाँधेर विपरित दिशामा बलपूर्वक अगाडि बढ्छन् । उठेर संभव नभए सर्पको गतिमा अगाडि बढ्छन् । रोचक बाजी खेलको रुपमा लिइन्छ ।

मेला, जात्रा – गण्डकी नदीको–रिडी, म्याग्दी–बेनी, बाग्लुङ धोर पतन, रोल्पा–मारीबाङ, दाङ– बार कुने माघे सकरातीका महत्वपूर्ण मेला जात्रा लाग्ने बारेमा धेरैलाई थाहा छ ।

मादल बाजा बन्द गर्ने – मगर परम्परामा उधेली र उभेली दुई ऋतु मानिन्छ । यो कुरा गोरखा राज्य संस्थापन गर्दा लोप गराइएकोले केही ठाउँहरुमा थाहा नभए पनि यो परम्परा अस्तित्वमा छ । सावन –पुष महिनालाई उधेली र माघ –असारलाई उभेली ऋतु मानिन्छ । खासगरी भ्यागुता लगायत किराहरु उभेलीमा बस्ने गर्दछन् । उधेलीमा जमिन बाहिर नचारु, जोरा, पैस्यारु , सरङ्ङया, घाँटु, मारुनी, सोरठी, दाम्फ्या जस्ता नाँचहरु ओखला (प्रकृति) पूजा गरेर औपचारिक रुपमा नाँचको आरम्भ र समापन गरिन्छ । मादल मगर जातिको मौलिक बाजा भएकोले विभिन्न उपरोक्त औपचारिक नाँचको लागि तितेपाती, रातो–सेतो पाता जोली धजा,  पैसा र अछेताले पूजा गरेर बजाउन आरम्भ गरिन्छ र नाँच समापन गर्दा पनि सोही विधिबाट बन्द गरिन्छ । माघे सकरातीका दिन मादल बन्द गरिन्छ । पुष महिनाभरी औपचारिक नाँचहरु समापन गरिन्छ । साउने सकरातीमा मादल फुकाएर जैसी (मगर विद्वान)द्वारा शुभ साइत हेराएर  हिलो हटेपछि ओखलो (भूमि) पूजा गरेर नाँच आरम्भ गरिन्छ ।

पुतली जलाउने– ६ महिनासम्म धापा (युवा) तथा धामी (युवती)हरु उधेली ऋतुमा विभिन्न औपचारिक नाँचमा सहभागी हुन्छन् । निम्तो पाए अनुसार विभिन्न मौजा (प्रथा जनित शासन क्षेत्र) हरुमा २–३ महिना नचारु (पुरुष कलाकार समूह) र जोराल्नी (महिला कलाकार समूह) शिष्टताको नाँचमा रमाउँछन् । पुषको अन्तिममा विभिन्न नाँचहरु समापन गरी पीडा महसुस गर्दै साथीहरु छुट्छन् । महिला–पुरुष कलाकारको प्रतिक पुतली बनाएर राखिन्छ । मादल बाजा बन्द गरिए पछि, ती कलाकारका प्रतिक ब्याउली (पुतली) एकान्त ठाउँमा महिलाहरुले जलाउन जान्छन् । सो अवसरमा वारा (वनभोज) पनि गरिन्छ ।