माघी पर्वः थारूहरूको आस्थाको धरोहर

माघी नेपालीहरूको ठूलो पर्वहरू मध्ये एक हो भने थारूहरूको सवभन्दा ठूलो पर्व हो । थारूहरूले हप्ता दिनसम्म यस पर्वलाई धुमधाम साथ मनाउँछन् । २०५९ सालमा नेपाल सकारले माघीलाई राष्ट्रिय पर्व घोषणा ग-यो । खासगरी थारू जातिमा यस पर्वलाई विगत वर्षको समिक्षा र आउने नयाँ वर्षको योजना तथा तदअनुरूपको नेतृत्व चयन गर्ने पर्वको रूपमा लिइन्छ । यस पर्वसँगै जाडो हटेर जान्छ र नेपालको तराई क्षेत्र खासगरी थरुहट क्षेत्र गीत र संगितले गुञ्जायमान हुन थाल्दछ ।

-कृष्णराज सर्वहारी
‘माघी’ अर्थात् माघे संक्रान्ति युगौं देखिको थारूहरूको एक ऐतिहासिक दिन हो । ‘सखिए हो… माघक पिवी गुरी जाँर’ को कोरस लयमा थारूहरू यस दिनमा झुम्मिन्छन् । हिजोसम्म जमिन्दारहरूको घरबाट मुक्ति पाउने दिनको रुपमा रहेको माघी पर्व कमैया मुक्ति, पश्चात फरक ढंगले मनाइदै आएको छ । अब माघीमा स्वतन्त्र हुन सौंकी ऋणको पिरलो गरिरहन पर्दैन । नयाँ मालिकको खोजीमा चिन्तित हुनु पर्दैन । त्यसैले भन्न सकिन्छ, माघी थारू समुदायको लागि मुक्ति दिवस हो ।

माघे संक्रान्तिबाट पुण्य तिथिको प्रारम्भ हुने थारूहरूको विश्वास छ, जुन दिन जाडोको अन्त्य र गर्मी मौसमको जन्मको रूपमा पनि लिइन्छ । अर्को अर्थमा यस दिनलाई कष्टकर दिनको अन्त्य र रमाईला तथा पुण्य हुने चाडपर्व प्रारम्भ हुने पर्वको रूपमा पनि लिइन्छ । सामान्य अर्थमा माघीलाई जाडोको अन्त र बसन्त ऋतुको प्रारम्भका रूपमा पनि लिने गरिन्छ । माघीलाई प्रत्यक्ष रूपमा सूर्यदेवसँग सम्वन्धित पर्वको रूपमा पनि लिइन्छ । भगवान सूर्यलाई शक्ति, अस्तित्व, बुद्धि र स्वाभिमानको प्रतीकको रूपमा थारूहरूले अराधना गर्ने प्रचलन छ । विहान स्नान गर्न जानेबेला थारूहरूले यस्तो भाकामा गीत गाउँछन् “सुरुजमा लागे गहनवा रे चोलो, कासी रे लहान” यसको अर्थ हुन्छ की आजको स्नान भनेको सूर्यग्रहण लाग्दा काशीमा स्नान गर्नुृभन्दा पुण्य हुन्छ । थारूहरूको धार्मिक पात्रोका अनुसार सूर्यले आजको दिनदेखि उत्तरी ध्रुवको यात्रा गर्छ । माघबाट नै नयाँ वर्षको सुरुवात हुन्छ ।

कमैयाहरु मुक्त भए पनि आर्थिक अवस्थाको सवालमा खासै परिवर्तन भने आएको छैन । सिद्धान्तः मुक्ति भए पनि आर्थिक पुनःस्थापनको सवालमा उही अभावको जाँतो पिसिरहनु परेको छ थारु समुदायका मुक्त कमैयाहरूलाई । मुक्त कमलरीहरू त अझै पनि मुक्तिको लडाई लडिरहेकै छन् । अझै पनि अनगिन्ती कमलहरी नानीहरू बंधुवा बाल मजदुरको नारकीय जीवन भोग्न बाध्य छन् । दश वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउने परिवारले लाखौ राहत पाए पनि शदियौं परिवारको पुस्ता दरपुस्ता गुमाउदै आएको परिवारले न्यायोचित क्षतिपूर्ति र पुनस्थापना पाएको अवस्था छैन । सरकारले प्रतिवद्धता गरेको कमैया र कमलरी पुनस्थापनको प्रतिवद्धता पुरा गरेको अवस्था छैन ।
‘माघी’ एक ऐतिहासिक नेपाली पर्व हो, यसको आफ्नै सामाजिक र साँस्कृतिक महत्व रहेको छ । प्रकृतिपूजक थारू समुदाय नेपालमा तराईका यस्ता जातीय समुदाय हुन्, जसले तराईको औलो र कालाज्वारसंग लडेर नश्ल बचाएको श्रेय पाएको छ । सोझा, इमान्दार र कडा परिश्रमी जातिको परिचय बनाउन सफल थारू समुदाय संस्कृतिको पनि धनी मानिन्छन् । आफ्नै भाषा र संस्कृतिका धनी यो जाति नेपालमा चौथो ठूलो जनसंख्या भएको जातीय समुदाय हो ।

चाडपर्व अमूर्त संस्कृतिको जीवन्त परिचायक हुने भएकाले संस्कृतिको उन्नयनका लागि समाज र राज्यको अहम् भूमिका रहन्छ । ‘माघी’ माघमा पर्ने भए पनि यस पर्वको व्यापक तयारी पुसको महिना भरी गरिन्छ । अनदीको जाँड र चामलको रक्सी बनाउने काम मंसीर र पुष महिनामा गरिन्छ । माघी आउनु अघि माछा, घोंघी, मुसा र सुंगुरको मासुको व्यवस्था सामुहिक रुपमा गर्ने गरिन्छ । थारू गाउँ महटवाँ (दाङ्ग) बरघर (बर्दिया), ककन्डार(देउखुरी), भलमन्सा (कैलाली, कंचनपुर) चितवन (महतौ) आदिको नेतृत्वमा चल्ने भएकाले हरेक कुरा सामुहिक रुपमा मिलेर गर्ने गरिन्छ ।

आगोको धुनी जगाउन चाहिने दाउरा, टपरी गाँस्न चाहिने भरलाको पातदेखि सामान्य सरसमान पनि सक्रियताका साथ सामुहिक रुपमा जुटाइन्छ । पहिलो दिन माछा मार्ने, दोश्रो दिन दाउरा पात संकलन गर्ने, तेश्रो दिन अर्थात् पुसको मसान्तको दिन सुंगुर मारिन्छ । यस दिन गाउँलेले सामुहिक रुपमा छानेको गाउँलाई पुग्दो सुंगुर वा बुगुर सामुहिक रुपमा मार हानेर भाग लगाएर लैजाने गरिन्छ । साँझपख सबैले आआफ्नो परिवारका सदस्यहरूवीच मिठो मसिनो खाइन्छ । त्यस साँझ खासगरी चामलको पिठोबाट बनाइएको रोटी ढिकरी (चामलको उसिनेको लामो रोटी) खाइन्छ । खानपान पछि गाउँको बुढापाका, जान्ने मान्ने र युवाहरू गाउँको बरघर, ककन्डार वा भल्मन्साको आँगनमा बालिएको धुनी ताप्दै डफ गीत गाइन्छ ।

चौथो दिन माघीको दिन (माघे संक्रान्ति) लाई लाहानक दिन भनिन्छ । त्यस दिन बिहानै गाउँ नजिकका नदी, ताल तलैयामा स्नान गरी सूर्यलाई अर्घ दिइ, ढ्याक मोहर पैसा जलमा चढाएर, सेतो टीका लगाउँदै सानाले ठूलालाई ढोकभेट गरी आशिर्वाद लिइ सामुहिक रुपमा नाच्दै घरतर्फ आइन्छ । घरमा चामल, मास्को दाल र नुन निस्राउको रुपमा चेलीबेटीका लागि अलग्याएर अग्रजहरूसंग ढोगभेट गरी आर्शिवाद लिइन्छ । घरमा बनेको अनेक परिकार परिवारसंग बसेर खानपिन गरिन्छ । सानादेखि ठूलासम्म सबैजना गाउँभरी ढोकभेट गर्न घर–घर जान्छन् ।

जाँड, ढिकरी, रोटी, अनडीको भात, उखु, सुंगुरको मासु लगायत परिकारहरू खान्छन् । केटाकेटीहरू ढोकभेट गरेर जम्मा गरेको पैसाले मिठाइ किनेर खाने, खोपी, पासा खोल्ने गर्दछन् । माघीको दिन सक्नेले गच्छे अनुसार दान दक्षिणा दिन्छन् । खान, हिड्न र कुरा गर्न यस दिन कसैलाई पनि रोकथाम हुँदैन । घरमा आएका चेलीबेटी र आफन्तहरू बीच खानपिन गरिन्छ । कमैया कमलरी मुक्त हुनु पहिले जमिन्दारका घर रहेका कमैया परिवारले पनि त्यस दिन छुट्टि पाउँदथे । त्यस दिन मुक्त कण्ठले खाने, नाचगान गर्दथे । वर्षभरीको सुखदुख आदान प्रदान गर्दथे, त्यसदिन सानो ठूलो कोही हुदैन । सबै समान हुन्छन् । सबैले खुलेर कुरा गर्दछन् ।

गाउँका तन्नेरीहरू समूह–समूहमा नाच टोली बनाएर गाउँमा, छिमेकी गाउँमा नाचगान गर्दछन् । माघी पर्वलाई खुलेर खाने र खुलेर बातचित गर्ने पर्वको रुपमा पनि लिइन्छ । यस दिन गरिने हाँसी मजाक र रमाइलोलाई मनोरंजनको रुपमा लिइन्छ । घर गुरुवा (कुल पुजारी), सुढेनी, घर पोत्ने, काम सघाउने, घर बनाउनेदेखि अग्रज पुर्खाहरूलाई बोलाएर खुवाइन्छ । मंसिर र पुसमा धान दाइ हालेर फुर्सदको बेला र बेसाएर खाने परिवारको घरमा पनि दुइ छाक खाने र एकसरो नयाँ कपडा लगाउने अवस्था हुने भएकोले पनि यो पर्व समान ढंगले मनाइन्छ ।
माघीको पाँचौ दिन अर्थात माघ महिनाको दुतीया (दोश्रो दिन) को दिन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यस दिनलाई माघी डेवानी भनिन्छ । यस दिन हरेक घरमा वर्षभरीको कामको समीक्षा हुन्छ । घरमुलीले सबैलाई आफ्नो विचार राख्ने अवसर दिन्छन् । नयाँ घर बनाउने, भाईभाईमा अंशवण्डा गर्ने, कसले घरभित्रको काम गर्ने, कसले घर बाहिर गर्ने सबै सल्लाह हुन्छ । भाईभाईमा घर अलग्गिने भए पनि माघी कुरेर बस्दछन् । कोही गाउँबाट बसाई सर्ने योजना भए पनि माघी मानेर मात्र सर्ने गर्दछन् । विहेवारी, लेनदेन, ऋण सापट चुक्ता गर्ने काम पनि माघीकै बेला हुन्छ । लुगा सिउने दर्जी, हंसिया फाली बनाउने लोहारदेखि गाउँको पूजाआजा चलाउने देशबन्धिया गुरुवा (पण्डित), गुरुवाका सहयोगी चिरकिया, चौकिदार, ढाक बजाउने ढकेहेर समेतलाई गत वर्ष तोकिएको तिहाई (दस्तुर) बुझाउने र नयाँ दस्तुर तोक्ने काम गरिन्छ । यसका साथै थप आवश्यक वर्षभरीको कामको योजना बनाइन्छ । कृषि मुख्य पेशा भएकाले आफ्नो पेशामा सघाउने सबैलाई सम्झिने चलन छ, माघीमा । माघ महिनाभरी इष्टमित्र, चेलीबेटीहरूलाई सम्झी सम्झी निम्ता गरेर खुवाउने पिवाउने गरिन्छ ।
माघी डेवानीको दिन मुख्य रुपमा हरेक थारू गाउँमा अगुवा चुनिन्छ । सामाजिक रीति, पूजा, कुलो पैनी, नहर, ताल पुल पुलेसा बनाउने योजना बनाइन्छ । यो कार्य वार्षिक वा आवधिक निर्वाचन वा अधिवेशनको रुपमा पनि लिन सकिन्छ । माघी डेवानीको दिन बरघरको आंगनमा खुल्ला सभा हुने भएकोले गाउँका घरमुली अनिवार्य रुपमा उपस्थित हुनु पर्दछ । सोही दिन गाउँका केटीहरू बरघरको आँगनमा सखिए हो… गीत गाउँदै नाच्न र दक्षिणा लिन चुक्दैनन् ।

माघी र बरघर प्रणाली
बरघर प्रणाली थारू समुदायको शदियौंदेखि चलि आएको राजनीतिक संस्था हो । यो प्रणालीको समावेशी र न्यायोचित अभ्यासले नै होला हालसम्म पनि निरन्तरता पाइरहेको छ । बरघर प्रणाली थरुहट क्षेत्रको जातीय परम्परागत संगठन हो । यो प्रथा र परम्परा मौजा, प्रगन्ना तहमा अस्तित्वमा रहेको थियो । थरुहटी क्षेत्रमा विभिन्न नाममा यो प्रणाली रहेको पाइन्छ ।

माघी नेपालीहरूको ठूलो पर्वहरू मध्ये एक हो भने थारूहरूको सवभन्दा ठूलो पर्व हो । थारूहरूले हप्ता दिनसम्म यस पर्वलाई धुमधाम साथ मनाउँछन् । २०५९ सालमा नेपाल सकारले माघीलाई राष्ट्रिय पर्व घोषणा ग-यो । खासगरी थारू जातिमा यस पर्वलाई विगत वर्षको समिक्षा र आउने नयाँ वर्षको योजना तथा तदअनुरूपको नेतृत्व चयन गर्ने पर्वको रूपमा लिइन्छ । यस पर्वसँगै जाडो हटेर जान्छ र नेपालको तराई क्षेत्र खासगरी थरुहट क्षेत्र गीत र संगितले गुञ्जायमान हुन थाल्दछ ।

माघी पर्व हर्ष र उल्लास बाँड्ने चाड मात्र होइन, जुग–जुगदेखि दासता विरुद्ध मुक्तिको खोजी गर्ने सन्देश छर्ने एक साँस्कृतिक अवसर पनि हो । माघी आफैमा इतिहासको गर्तमा रहेको पीडा र वर्तमानको उकुसमुकुस भरिएको जीवनले पक्कै पनि मुक्ति खोजिरहेको छ । अहिले देश समग्र मुक्तिको जेहाद छेडिरहेको छ । नेपालका आदिवासी जनजातिमा रहेको लोकअभ्यास नेपाली स्वशासनको असली मोडेल बन्न सक्दछ । जुन बेलादेखि परम्परागत संगठनहरूको विरुद्धमा राज्यले बैकल्पिक संगठन खडा ग¥यो, तबदेखि आदिवासी जनजातिका परम्परागत संगठनहरूले क्रमशः महत्व पाउन छाडेका छन् । राणाकालसम्म थारू गुरुवा, बरघर भल्मन्साहरूले चौधरी पद पाएका थिए । जसले राज्य र थारू समुदायवीच पुलको काम गर्दथे । त्यसबेला सन्धी सर्पन मिलाउने, कुलापानी चलाउने, कुत पोतायत उठाउने, गाउँघरमा हुने विवाद मिलाउने जस्ता कामहरू सबै चौधरीहरूको अगुवाईमा हुन्थ्यो ।

अहिले विगत एक दशकदेखि राजधानीको टुँडिखेलमा दशौ लाख खर्च गरेर माघी मनाइन्छ । राजधानीको टुँडिखेलमा बर्षमा एकदिन मात्रै माघी महोत्सव मनाइनु भन्दा अधिकारमुखी आन्दोलनको रुपमा माघीलाई लिइनुपर्छ । तब मात्रै माघीको सार्थकता ठहरिन्छ ।