महासंघले सम्झियो सांस्कृतिक बलिदान दिवस, इच्छुकको योगदान र सिर्जनामाथि चर्चा

जनबाटो संवाददाता । अखिल नेपाल जनसांस्कृतिक महासंघ जिल्ला समिति रुपन्देहीले १६ औं सांस्कृतिक बलिदान दिवसको सन्दर्भ पारेर प्रगतिवादी कवि कृष्णसेन इच्छुकको सिर्जनामा वर्गचेत बिषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा रुपन्देहीका सेक्रेटरी अमरले प्रगतिवादी कवि इच्छुक सांस्कृतिक आन्दोलनको महान योद्धा भएको बताएका छन् । उनले गरिब दीनदुखीहरुको कवि इच्छुकको सपना पुरा नभएको भन्दै उहाँको विचारलाई अबलम्बन गरि निरन्तर क्रान्तिमा लाग्नुपर्ने बताए । उनले इच्छुकको सपनामाथि प्रतिक्रियावादीहरुले बुलडोजर लगाएको भन्दै उहाँको विचारलाई पुरा गरेरै छाड्ने बताए । अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगरले कवि कृष्णसेन इच्छुकको सिर्जनामाथि चर्चा गर्दै कवि इच्छुकका सिर्जना क्रान्तिकारी सौन्दर्यचेतमा आधारित निरन्तर वर्गसंघर्षको पक्षमा रहेको बताए । उनले हरेक कला, साहित्य र संस्कृति विचारधारात्मक मूल्यसंग जोडिने भन्दै कवि इच्छुक साम्यवादी आन्दोलनको योद्धा र वर्गलेखक भएको बताए ।

अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य रचनाले इच्छुक एउटा युगको विद्रोही लेखक एवं कवि भएको बताए । उनले संशोधनवादीहरुले इच्छुकको बलिदानलाई सत्ता र कुर्सीसंग साटेर उनको अपमान गरेको बताए । महासंघ कपिलवस्तुका अध्यक्ष देवराज देउकीले इच्छुक जनताको कवि भएको भन्दै इच्छुक लगायत महान सहिदहरुको रगतलाई अपमान गर्ने दलाल संस्कृति विरुद्ध संघर्ष गरिने बताए ।

अनाम विद्रोहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका कला, साहित्य एवं संस्कृतिकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्दर्भमा इच्छुकको कविता लगायत, कविहरुले विभिन्न कविताहरु प्रस्तुत गरेका थिए ।