‘महापतन’ : प्रचण्ड-बाबुराम विचलनको अन्तर्कथा

माओवादी जनयुद्धको अन्तर्य, नेतृत्वको विचलन र क्रान्तिप्रति जनताको नयाँ आशा पुस्तकमा समेटिएको छ । पुस्तकले माओवादी नेतृत्वमा देखिएको राजनीतिक, वैचारिक विचलन बुझ्नलाई धेरै सहयोग गर्छ । क्रान्तिपछि नेतृत्व कसरी पतन हुन्छ ? यसको मुख्य कारणहरु के हुन् ? यसलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्न जरुरी छ ।

-सुमन नेपाली
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा लिखित नयाँ पुस्तक महापतन बजारमा आएको छ । पुस्तक महान जनयुद्धको वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्व गरेका प्रचण्ड–बाबुरामहरुले कसरी वर्गघात, राष्ट्रघात र वर्गउत्थान गरे ? माओवादी जनयुद्धको नेतृत्व गरेका नेताहरु कसरी आदर्शवादी हुन पुगे ? र पुरानै संसदीय पुँजीवाद सामु आत्मसमर्पण गर्न पुगे ? भन्ने बारेमा महासचिव विप्लवले पुस्तकमा गहिरो गरि खोतल्ने प्रयास गर्नुभएको छ ।

पुस्तकमा महासचिव विप्लवले विचारधारात्मक पतन सम्बन्धी दृष्टिकोण, राजनीतिक सत्ताको प्रश्न, वैज्ञानिक समाजवादी व्यवस्थाको प्रश्न, क्रान्तिको प्रश्न, सशस्त्र सङ्घर्ष सम्बन्धी दृष्टिकोण, संसदीय व्यवस्थाप्रतिको दृष्टिकोण, कम्युनिष्ट पार्टीको प्रश्न, जनयुद्धको तयारी र प्रतिबद्धता, जनमुक्ति सेनाको प्रश्न, राष्ट्रिय स्वाधीनताको सोंच पतन, आर्थिक दृष्टिकोणमा विचलन, अन्तर्राष्ट्रियवादप्रति गद्दारी, साम्राज्यवादको प्रश्न, संशोधनवाद सम्बन्धी दृष्टिकोण, राजनीतिक पार्टीहरुलाई हेर्ने दृष्टिकोण, अन्तरसङ्घर्ष र दुइलाइन संघर्षको प्रश्न, सांस्कृतिक दृष्टिकोण, प्रचण्डको विचलन, महिला मुक्ति, दलित तथा जातीय समस्या, पार्टी पुनर्गठन र प्रतिक्रान्ति, क्रान्तिकारी पार्टी निर्माण र क्रान्तिको सम्भावना लगायत विभिन्न २६ शीर्षकमा लेख्नुभएको छ ।

यसभन्दा अगाडी विप्लव सङ्कलित रचना, वैज्ञानिक समाजवाद, लगायत पुस्तकहरु प्रकाशित भइसक्नु भएको छ भने थुप्रै कविता, गीतहरु समेत लेख्नुभएको छ । लेखकको वैज्ञानिक समाजवाद नामक पुस्तक सबैभन्दा धेरै बजारमा विक्री भएको थियो । यसले नेपाली भूमि अहिले पनि सच्चा क्रान्तिकारीहरुका लागी उर्बर रहेको र नयाँ क्रान्तिको आवश्यकता रहेको सहजै अनुमान गर्न सकिन्छ । विश्व कम्युनिष्ट आन्दोलन (नेपाली कम्युनिष्ट आन्दोलनमा पनि) देखा परेको संशोधनवाद र आत्मसमर्पणले जबर्जस्त गाँजिरहेको अवस्थामा दार्शनिक–वैचारिक रुपमा नयाँ शिराबाट छलफल गर्नुपर्ने आवश्यकता बढेर गएको बेला राजनीतिक–बौद्धिक क्षेत्रमा महापतन पुस्तकको महत्व अझ बढेर अनुमान गर्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्न यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ ।
महासचिव विप्लवले पुस्तकको भूमिकामा जनयुद्धको संस्मरण गर्दै भन्नुभएको छ–“महान जनयुद्धमा बीउ रोपिएको थियो–सर्वहारा क्रान्ति, नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ताको तर बाली समेट्नुपर्यो–संसद्वाद, संशोधनवाद, आत्मसमर्पणवाद, विसर्जवाद र सामाजिक दलाल पुँजीवादको । रोपिएको थियो–माक्र्सवाद–लेनिनवाद–माओवाद र क्रान्ति तगर उम्रिए बर्नस्टिन, मिलेराँ, सिदेमान, ज्योति बसु र उनीहरुका असली चेला प्रचण्ड र बाबुरामहरु । जनयुद्धको समयमा कांग्रेस एमाले, भारत, साम्राज्यवाद, संसदीय व्यवस्थालाई मूल बाध देख्ने प्रचण्डहरु स्वयं महान् क्रान्तिको अवरोधकमा परिणत हुन पुगेका छन् । वास्तवमा यो नेताहरुको महापतन हो । यही हो इतिहासकै अद्धितीय महापतन ।”

माओवादी जनयुद्धको अन्तर्य, नेतृत्वको विचलन र क्रान्तिप्रति जनताको नयाँ आशा पुस्तकमा समेटिएको छ । पुस्तकले माओवादी नेतृत्वमा देखिएको राजनीतिक, वैचारिक विचलन बुझ्नलाई धेरै सहयोग गर्छ । क्रान्तिपछि नेतृत्व कसरी पतन हुन्छ ? यसको मुख्य कारणहरु के हुन् ? यसलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्न जरुरी छ । अझ आजको नयाँ पुस्ताले यसबारेमा बुझ्न यो पुस्तक पढ्न जरुरी छ । पुस्तक अत्यन्तै पठनीय र मननयोग्य रहेको छ । पुस्तकको प्रकाशन रातोखवर प्रकाशन गृह प्रालिले गरेको छ भने यसको व्यक्तिगत मूल्य ३०० रुपैयाँ र संस्थागत मूल्य ५०० रुपैयाँ रहेको छ ।