महान् सहिद तथा बेपत्ता योद्धा परिवार र प्रतिबद्धता

-विप्लव

यतिबेला महान् जनयुद्ध र क्रान्तिका महान् सहिदहरूको स्मृतिमा सहिद सप्ताह चलिरहेको छ । हामी कार्यक्रममा छौँ र हामीसँगै सहिद तथा बेपत्ता योद्धा परिवारहरू उक्त कार्यक्रममा सहभागी बनिरहनुभएको छ । यतिबेला भावना पोखिरहनुभएको छ । पार्टीलाई निकै हृदयस्र्पशी सुझावहरू दिइरहनुभएको छ । त्यसमध्ये केही सुझाव सबैका साझा रहेका छन् । जसमध्ये सहिद र बेपत्ता योद्धाहरू सपना पूरा होस्, क्रान्ति पूरा होस्, धोका नहोस्, जनताको सत्ता प्राप्ति होस् । नेपाली जनताले अधिकार पाऊन् र देश स्वाधीन बनोस् ।

निःसन्देह यी सुझावहरू पूर्णरूपले सही छन् । यहाँ भावना मात्र छैन, सही विचार र दायित्वबोध पनि छ । हामी आदरणीय सहिद र बेपत्ता योद्धा परिवारका साथै, घाइते योद्धाहरूलाई विशेष सम्मान र अभिनन्दन गर्दछौँ । यस्ता कार्यक्रममा भाग लिने जो–कोहीले सहज जवाफ दिन्छन्, हामी सहिदका सपना पूरा गर्नेछौँ । हामीले सपना भुलेका छैनौँ । सहिदहरू महान् छन् । सहिद परिवारहरू आदरणीय हुन् र हुनुपर्दछ । हामीले पनि विनम्र भाव र गर्वका साथ भन्छौँ । उसो भए सहिदका सपना के थिए त ? ती कहाँनेर गएर अड्किएका छन् ? तिनलाई वास्तविक अर्थमा कसरी पूरा गर्न सकिन्छ ? पूरा गर्ने हो भने सहिद तथा बेपत्ता योद्धा परिवारको साथ र सहयोग कसलाई रहन्छ ?

हाम्रो विचारमा सहिदका सपनाहरू मुख्यतः निम्न थिए :
१. आजको पुँजीवादी, दलाल पुँजीवादी, संसद्वादी समाजलाई परिवर्तन गर्नु ।
२. देशमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु ।
३. जनतालाई अधिकार–सम्पन्न बनाउनु ।
४. देशलाई स्वाधीन बनाउनु ।
५. विश्वका जनताको मुक्ति आन्दोलनलाई सहयोग पुर्‍याउनु ।

यी सपना महान् सपना हुन् । यसैका लागि हजारौँ हजार योद्धाहरूले आफ्नो जीवनलाई खुसीका साथ बलिदान गर्नुभयो । सहिदहरूले सपनाका लागि जीवन दिनुभयो । सहिदहरूको इमानदारिता र महानता यो धरतीमा मानव–जाति रहेसम्म अमर रहनेछ । यसलाई कसैले पनि न होच्याउन सक्नेछ, न त मेट्न नै सक्नेछ । सहिदहरूले सूर्यको प्रकाश जस्तो उज्यालो छरिरहने छन् ।

तर सबैलाई ज्ञान छ, हाम्रो देश महान् सहिदहरूको सपनाअनुरूप परिवर्तन हुन सकेको छैन । आज पनि देशमा दलाल पुँजीवादी संसदीय व्यवस्था चल्न खोज्दैछ । सहिदहरूको त्यागमा खरानी हुँदै गइरहेको प्रतिक्रियावादी पनर्जीवित हुन खोज्दैछ । महान् सहिदको छातीमा गोली दाग्नेहरू र क्रान्तिलाई आतङ्कवाद भन्नेहरूले नै परिवर्तन, लोकतन्त्र र समृद्धिको भाषण गरिरहेका छन् । उनीहरूले देशलाई बेच्दै स्वाधीनताको स्वर निकालिरहेका छन् । जनतालाई उही सडे–गलेको पुँजीवादी व्यवस्थाभित्र थुनेर अधिकार पाएको हल्ला फैलाइरहेका छन् ।

अफ्सोच, यिनै मान्छेले कुत्सित स्वार्थका लागि सहिदको नाम पनि लिने अपराध गरिरहेका छन् । क्रान्ति महान् र भीषण प्रक्रिया हो । यसको उचाइ र महानता जति माथि छ, यसको भीषणता पनि कठोर मूल्यवान छ । कहिलेकाहीँ कस्तो संयोग बन्न पुग्दछ भने सपनाबोध गराउनेभन्दा सपनाबोध गर्नेले यसको उचाइ र महानता पकड्न पुग्छन् । तर सपना देखाउने आफैँ सपनाको वजन र भीषणताद्वारा पतन हुन पुग्दछन् । त्यस्तालाई द्रष्टाको दुःखान्त अन्त भन्न सकिन्छ । हाम्रो देशमा यस्तै भएको छ ।

फागुन १ गतेको कान्तिपुरमा बाबुराम भट्टराईले त्यो सत्य ओकलेको पाइयो । उनले त्यहाँ सङ्कटकालपछि भारत र अमेरिकाले पुरानो सत्तालाई अत्याधुनिक हतियार सहयोग गर्न थालेपछि जनयुद्धद्वारा जित्न सकिँदैन भनेर संसदीय व्यवस्था (आधा संसदीय व्यवस्था) मा फर्किएको हो । यो कुरा सत्य हो, प्रचण्ड र बाबुराम खारा कार्बाहीपछि भारत गएर रूपमा ज्ञानेन्द्रविरुद्ध संसद्वादी पार्टीसँग संयुक्त मोर्चा बनाउने नीति लिए । सारमा जनयुद्धद्वारा जित्न सकिँदैन भन्ने भएपछि सुरक्षित जीवनमा पाएसम्म सत्तामा पुगेर नभए बाँच्न भए पनि फर्किनेसम्मको निष्कर्षमा पुगेको देखिन्छ । तर, यो कुरा उनीहरूले पार्टीलाई कहिल्यै पनि भनेनन् । बरु हामीले कुरा उठाउँदा अनेकौँ आरोप लगाउनेतिर लागे । विशेषतः प्रचण्डले यसो गरे । यति उनीहरूले पहिले नै यो कुरा भनेका हुन्थे भने शान्ति–प्रक्रिया नै सुरु हुने थिएन, या त्यहीँ भीषण सङ्घर्ष हुन्थ्यो । जनमुक्ति सेनासहितको ठूलो पङ्क्ति क्रान्तिमा रहन्थ्यो । क्रान्ति सफलतातिर अगाडि बढ्दथ्यो । शान्ति–प्रक्रियामा सबैले यो बुझेको भए पनि क्रान्तिकारीको ठूलो पङ्क्ति क्रान्तिमा फर्किन्थ्यो तर उनीहरूले जो ढाँटे, विशेषतः प्रचण्डले ।

यहाँनेर क्रान्तिकारी र हाम्रा सहिद परिवारले बुझ्नुपर्दछ कि के महान् सपना वा वैज्ञानिक समाजवादको सपना जित्ने भएपछि मात्र उठाउने अन्यथा प्रतिक्रियावादी व्यवस्थामा विलय हुने सपना हो !? के आफू बाँच्दासम्म बलिदानका कुरा गर्ने, समस्या परेपछि दलालहरूका सामु आत्मसमर्पण गर्ने सपना हो ? कदापि यो होइन । यति त्यसो हुँदो हो त माक्र्सले युरोपका देशहरूबाट विस्थापित साथ,ै मर्ने र बाँच्ने कुनै निश्चित नहुँदा साम्यवादको सपना छाड्नुपर्दथ्यो । लेनिनले एकपटक क्रान्ति असफल भएपछि फेरि क्रान्तिका लागि नलागेर मेन्सेविक (प्रचण्ड) जस्तै पुँजीवादी संसदीय व्यवस्थाको बाटोमा जानुपर्दथ्यो । माओले २७ वर्ष लामो युद्ध हाँकेर पनि जित्ने प्रयत्न गर्नुहुन्नथ्यो । चे ग्वेभाराले बलिदानको महान् मार्ग कोर्नु हुँदैनथ्यो । अनि कुनै चुनौती नमोलेर, सुरक्षित भएर, आफू बाँच्ने भएपछि मात्र क्रान्ति गर्न खोजेको हो भने हजारौँ–हजार उत्कृष्ट छोराछोरी सहिद हुन किन पठाएको त ? जब कि प्रचण्ड–बाबुरामले भाषणैपिच्छे मुक्ति या मृत्युको कसम खाइरहन्थे त ! निश्चितरूपले जितिने नभए एक्काइसौँ शताब्दीको पेरिस कम्युन हुने कुरा घोषणा गरिरहन्थे त ! खै त ? प्रचण्ड–बाबुरामले देखाएको सपनामा हजारौँ योद्धाहरू सहिद र बेपत्ता भए । उनीहरू सपनाले थिचिएर दुश्मन (प्रतिक्रियावादी) हरूका सामु आत्मसमर्पण गर्न पुगे । यो उनीहरूको पतन होइन र !

महान् सहिद तथा बेपत्ता योद्धा परिवारलाई याद होला, आजकाल प्रचण्डको काँध चढेको केपी सरकारले सहिदको सपना पूरा गर्न चाहने र क्रान्ति पूरा गर्नुपर्छ भन्नेहरूलाई झुट्टा मुद्दा टाँस्दै हिँडेका छन् । गिरफ्तार गर्दै, यातना दिँदै हिँडेको छ । राता–रात अप्रेसन गरेको छ । उसको अदालतमा हाजिर नभएर सर्वस्वहरण गर्ने धम्की दिइरहेको छ । विशेषतः नेकपाका नेता, कार्यकर्तालाई गिरफ्तार गरेर कुनै पनि कार्यक्रम गर्न नदिने आदेश दिएको छ । तर हामीलाई यसले एक रौँ पनि फरक पारेको छैन । हामी यहाँ कुनै आवेगबिना भन्छौँ– पुँजीवाद, दलाल पुँजीवाद र संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु उत्पीडित एवं सचेत नागरिकहरूको मौलिक अधिकार हो । पुँजीवादी र दलाल पुँजीवादीहरूको लुटबाट कङ्गाल भएको देश र जनतालाई अधिकार सम्पन्न गराउनु र स्वाधीन बनाउनु सबैभन्दा उत्तम कार्य हो । लुटेराहरूलाई सत्ताबाट च्यूत गर्नु र त्यसलाई वैज्ञानिक समाजवादमा पु¥याउनु महान् र उत्कृष्ट कार्य हो । नेपाल र नेपाली जनतालाई सुन्दर भविष्यतिर डोहोर्‍याउनु, सहिद र बेपत्ता योद्धाहरूको महान् सपना साकार पार्ने उत्तम तरिका हो । यो नेपालको कुरा मात्र होइन, विश्व मानव–जातिकै लागि सर्वोच्च योगदान हो । तसर्थ, आदरणीय सहिद र बेपत्ता योद्धा परिवारहरू कुनै पनि भुलभुलैयामा परेर या जान–अञ्जानमा महान् सहिदको सपनाको विरुद्ध जानुहुँदैन । अरूलाई पनि जान दिनुहुँदैन । सहिदको सपनाको रक्षा गर्ने महान् जिम्मेवारी तपाईंहरूको हातमा पनि छ । हामी अन्तिम सास रहेसम्म न्याय, समानता, स्वतन्त्रता र वैज्ञानिक समाजवादको पक्षमा दृढ हुनुपर्दछ । हामी तपाईंहरूलाई इमानदारिताका साथ भन्छौँ र प्रतिज्ञा गर्छौँ कि नेपालबाट दलाल पुँजीवादलाई मिल्काई छाडिनेछ । वैज्ञानिक समाजवाद स्थापना गरी छाडिनेछ । महान् सहिद तथा बेपत्ता योद्धाका सर्वोत्तम सपनाहरू पूरा गरी छाडिनेछ । हामी विनम्रताका साथ आशा एवं विश्वास गछौँ कि महान् सहिदहरूका सपना पूरा गर्न तपाईंहरूको पूर्ण सहयोग सहिदहरूका अनुयायीहरूलाई हुनेछ ।

(सन्दर्भ : सहित सप्ताह – २०७४)

Source-eratokhabar.com