भानुभक्त अप्रगतिशील कवि हुन्

– निनु चापागाईं, माक्र्सवादी समालोचक-
भानुभक्त (वि.संं. १८७१–१९२५) मूलतः शासक वर्गको संस्कृतिलाई समर्थन गर्ने कवि हुन् । त्यतिखेरको संस्कृतिको मूल रूप शासक वर्गीय र सामन्ती संस्कृति नै हो । अहिले पनि शासकवर्गले जे भन्छन्, अधिकांशले त्यही मान्ने हुन् । त्यतिबेला शासक वर्गकै चिन्तन अनुकूल भानुभक्त अगाडि बढेका थिए । उनी आफ्नो समयको सामाजिक चिन्तनभन्दा पछि परेका कवि हुन् ।

समाजमा धेरै पहिलेदेखि रहेको बुद्ध दर्शनलाई भानुभक्तसहित त्यसबेलाका धेरै कविले समात्न सकेनन् । बुद्ध दर्शन शासक वर्गको संस्कृति र चिन्तनसँग लडेको दर्शन हो । त्यसको छाप नेपाली समाजमा धेरै छ । तर, भानुभक्त त्यसभन्दा टाढै रहे । त्यतिबेला जातपात र सामाजिक विभेदको विरुद्धमा वैष्णवहरू अरुभन्दा अगाडि थिए । सबै चिन्तनसँग परिचित नभएर हो या मन नपरेर हो, भानुभक्तले त्यसतर्फ सोचेनन् ।

अर्कोतिर, भानुभक्तकै समयमा जोसमनी सन्त परम्परा पनि थियो, जसले जाति प्रथा, छुवाछुत र कर्मकाण्डको विरोध गर्यो । जोसमनी सन्त परम्पराको उदय पृथ्वीनारायण शाहभन्दा केही पहिले नै भएको थियो । तर, यसको विकास भने पृथ्वीनारायणको राज्य विस्तारपछि मात्र भएको देखिन्छ ।
जोसमनी मतको प्रचार गर्ने प्रारम्भका प्रभावशाली व्यक्तित्वमा पृथ्वीनारायणका समकालीन सन्त शशिधर (वि.सं.१८०४–१९०६) देखिन्छन्, जो भानुभक्तभन्दा अगाडिका हुन् । शशिधरले ब्राह्मणवाद, कर्मकाण्ड, छुवाछुत, जातिभेद र आडम्बरको कडा आलोचना गरेका छन् । सतिप्रथा नहटाउँदै शशिधरले हटाउनुपर्छ भन्ने दृष्टिकोण अघि सारिसक्दा भानुभक्त भने अझै पनि सतिप्रथाको समर्थक देखिए ।

हुन त जोसमनीका सन्तहरू पूरै प्रगतिशील थिएनन् । उनीहरू ईश्वर मान्थे । यति हुँदाहुँदै पनि तिनले जातीय विभेद र छुवाछुतको विरोध गरे । त्यतिखेरको समाजलाई हेर्ने हो भने सन्तहरू प्रगतिशील थिए । भानुभक्तकै समकालीन सन्त ज्ञान दिलदास (वि.सं. १८७८–१९४०) ले आफ्नो कृति ‘उदय लहरी’ (१९३४ साल) मा नेपालमा किसानहरू कामधन्दा गर्छन्, तर खान नपाएर उनीहरू नै मर्छन् भनेर प्रगतिशील चेतले लेखेका छन् ।

ज्ञान दिलदाससँग तुलना गर्दा भानुभक्तको पछौटेपन अझ प्रस्ट हुन्छ । दिलदास भानुभक्त जस्तो तत्कालीन व्यवस्थाका समर्थक, कर्मकाण्डी, ब्राह्मणवादको पक्षधर, जातिभेदका रक्षक र लिंगभेदको पक्षपोषक थिएनन् । उनी ब्राह्मण भए पनि कर्मकाण्डका विरोधी भएकाले ब्राह्मणहरू रुष्ट थिए । उदय लहरीमा समाजका अनेकौं कुरीतिको चर्चा गर्दै तिनको आलोचना गरिएको छ ।

सन्त कविहरूले समाजका निम्न वर्गलाई जागरुक बनाउन प्रयास गरे । नेपाली जनता र समाजको हितमा विचार प्रवाहित गरे । तर, भानुभक्त त्यसको ठीक विपरीतमा छन् । साहित्यलाई हामी समाजको चित्र भन्छौं । भानुभक्त नेपाली राजनीतिको ठूला घटना कोतपर्व, भण्डारखाल पर्व भएपछिका र राणाहरूको एकछत्र राज्य व्यवस्था भएको बेलाका मान्छे हुन् । तर, उनी त्यसबारेमा केही पनि बोल्दैनन् । बरु उनी ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता लेख्दै यहाँ केही पनि समस्या छैन, स्वर्ग छ भनेर बखान गर्छन् । यसमा पनि उनी गलत छन् ।

भानुभक्तले जनताको हितका निम्ति भन्दै रामायणमा लोकको गरौं हित भनी भनेका छन् । वास्तवमा लोकको हित गर्ने हो भने पहिलो कुरो त भानुभक्तकै खण्डन गरेर सुरुवात गर्नुपर्छ भनेर गोविन्द भट्टले विचार राख्नुभएको छ । किनभने भानुभक्तका रचनाले लोकको अहित गर्ने संस्कृतिको पक्षमा वकालत गर्छ । स्वर्ग (नर्क, रामराज्यको कुरा गर्ने उनी बधूशिक्षामा नारीहरूलाई हाँस्नु हुन्न भनेर बन्देज लगाउँछन् ।

रामायणको अनुवाद गर्ने पहिलो व्यक्ति पनि नेपाली साहित्यमा भानुभक्त हैनन् । उनीभन्दा पहिले रघुनाथ पोख¥याल (वि. सं. १८६८) ले गरेका थिए । त्यसैले भानुभक्तको अतिरञ्जनापूर्ण प्रशंसाको औचित्य देखिँदैन । यद्यपि भानुभक्तमा सानोतिनो सकारात्मक कुरा नपाइने हैन । भानुभक्तले नेपाली साहित्यको सेवा गरेका छन् । उनले रामायणको अनुवाद गरेर नेपाली भाषाको समृद्धि र विकासमा ठूलो योगदान गरेका छन् । हामीले मान्ने यत्ति हो । उनलाई साहित्यमा निषेध गर्ने कुरा पनि हैन ।

भानुभक्तमा केही प्रगतिशीलता पाइन्छ । उनमा केही राष्ट्रियताको पक्ष पनि छ । प्रशासनको ढिलासुस्तीको विरोध गरे । त्यो पनि उनको आफ्नो स्वार्थ जोडिएका कारण आफूसम्बन्धी कुरा गरेका हुन् भन्ने मलाई लाग्छ । उनी अरुका विषयमा बोल्दैनन् । जेलमा भएको नराम्रो अवस्थाको केही उद्घाटन गरेका छन् । त्यो भन्दा बाहेक भानुभक्तलाई अर्को तरिकाले धेरै मूल्यांकन गरेर धेरै बढाइचढाइँ गर्नुपर्छ भन्ने पक्षमा म छुइनँ । भानुभक्तले जे गरे, ठीक गरे भनेर शासक वर्गको संस्कृतिलाई ग्रहण गरी अन्ध राष्ट्रवादको पिछलग्गु हुने हो भने अर्कै कुरा हो । हैन भने पुर्खा र अग्रजको नकारात्मक पक्षमा पनि प्रश्न गर्नुपर्छ । पुनर्मूल्यांकन भनेको निरन्तर चलिरहने प्रक्रिया हो । विषालु चिज पचाउन सकिन्न ।

जुद्ध शमशेरले रामराज्यको प्रचार गर्ने भानुभक्तलाई आदिकवि मानिदिए हुन्छ भनिदिए । त्यसरी आदिकविको सुरुवात भएको हो । त्यतिखेरैदेखि भानुलाई मान्नुपर्छ र मान्नु हुन्न भन्नेहरू छन् ।

भानुभक्त आदिकवि हुन् कि हैनन् भन्नेमा पनि अहिलेसम्म बहस चलेकै छ । राणाहरूले आदिकवि भनिदिएकाले सबैले भन्दै आए । पहिले लेखेकामध्ये सबभन्दा राम्रो लेखेको हुनाले आदिकवि मानियो भनेर तर्क गरिन्छ । त्यो त कुनै तर्क भएन । अहिलेसम्म लेखिएको आधारमा सुवानन्ददासलाई आदिकवि मान्न सकिन्छ भन्ने कुरा पनि छ । भानुभक्तभन्दा एक सय वर्षअघिका कवि हुन् उनी । तर, नेपाली भाषा–साहित्यको पुख्र्यौली अहिलेसम्म राम्रोसँग खोजीनीति नभइसकेको अवस्थामा आदिकवि यो हुन् भनेर पगरी गुथाउनु नै गलत हुन्छ । खोजीनीति गरे यो भन्दा अर्को छैन भन्ने निष्कर्षमा पुग्नु जरुरी छ ।

नेपाली साहित्यको इतिहासमा दार्जिलिङले आदिकवि भनाउन धेरै ठूलो भूमिका खेलेको छ । नेपाल बाहिर दार्जिलिङ, देहरादुन, भाक्सो लगायत ठाउँमा बस्ने मान्छेहरूको समस्या के छ भने उनीहरू नेपाली भएर बाँच्नुपर्ने हुन्छ । त्यही भएर उनीहरूले हामी यस्ता हौं भन्दै नेपाली पहिचानको कुरा गर्न जरुरी छ । खासगरी दार्जिलिङ क्षेत्रमा त्यति बेला सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान नेपाली भाषाको निम्ति लडिरहेका थिए । उनीहरूले दार्जिलिङबाट भानु स्मारक ग्रन्थ निकाल्न खोजे । त्यसका निम्ति राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई निवेदन लेख्दै भानुभक्तलाई आदिकविको पगरी दिए धेरै ठूलो कुरा हुन्थ्यो भन्ने कुरा राखे ।

जुद्ध शमशेरले रामराज्यको प्रचार गर्ने भानुभक्तलाई आदिकवि मानिदिए हुन्छ भनिदिए । त्यसरी आदिकविको सुरुवात भएको हो । त्यतिखेरैदेखि भानुलाई मान्नुपर्छ र मान्नु हुन्न भन्नेहरू छन् ।

भानुभक्तलाई आदिकवि मान्ने दृष्टिकोणको बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, आनन्ददेव भट्ट, ताना शर्मा लगायत साहित्यकारहरुले खण्डन गरिसकेका छन् । र, पनि मानिसहरूले आदिकवि मानिरहेका छन् ।
हामीकहाँ के सही र के गलत भनेर छुट्याउने सोच छैन । साहित्य क्षेत्रका अहिलेकै व्यक्तित्वहरूले तथ्य बाहिरका कुरा फैलाउँदा मानिसहरूमा गलत मान्यता कायम छ ।
स्रोत–अनलाइनखवर