बुटवल फुलवारीमा ‘ऐतिहासिक जीतगढी किल्ला बचाउ अभियान’ टोलीले फहरायो राष्ट्रिय झण्डा (फोटो सहित)

जनबाटो संवाददाता । माघ १६–माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले २०७३ फागुन १७ गते भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) का लागि भारतलाई स्वामित्व हस्तान्तरण गरेको विरोधमा “ऐतिहासिक जीतगढी किल्ला बचाउ अभियान”ले मंगलवार राष्ट्रिय झण्डा सहित बुटवल फुलवारी तथा जीतगढी क्षेत्रको अवलोकन कार्यक्रम गरेको छ ।

अभियानले टोलीले त्यस क्षेत्रको अवलोकन गर्दै जीतगढी अंग्रेज साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधिनताको लडाईमा ऐतिहासिक बिजय प्राप्त गरेको स्थान भएको भन्दै कुनै पनि अवस्थामा जीतगढीको छातीमा भारतीय झण्डा फहरिनु गम्भीर राष्ट्रघात भएको बताए । अवलोकनपछिको कार्यक्रममा बोल्दै नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य श्याम सेन्चुरीले जीतगढी राष्ट्रिय स्वाधिनताको प्रतीक भएको भन्दै दलाल सत्ताले गरेको राष्ट्रघाती सम्झौता तुरुन्त खारेज गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका नेताद्धय दीपक पौडेल र बाबुराम आचार्यले भारतीय विस्तारवादको हस्तक्षेप विरुद्ध संघर्ष आवश्यक भएको बताए । नागरिक समाजका अगुवा एवं बुद्धिजीवी पदम कार्कीले सरकारले स्थायी पेन्सन क्याम्पको नाममा भारतलाई स्वामित्व हस्तान्तरण गरे राष्ट्रिय स्वाधिनता विरुद्ध उभिएको बताए । बटौली संरक्षण तथा संवद्धन समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौलले जीतगढी ऐतिहासिक क्षेत्र भएको भन्दै वाह्य हस्तक्षेप असह्य भएको बताए ।

२०७४ भदौ १९ गते भारतीय राजदुत मञ्जिवसिंह पुरीले जीतगढी किल्लामा आएर स्थायी पेन्सन क्याम्पकोे शिलान्यास गरेका थिए । यसका विरुद्ध रुपन्देही जिल्ला स्थित नेकपा, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माक्र्सवादीको संयुक्त वैठकले “ऐतिहासिक जीतगढी किल्ला बचाउ अभियान” गठन गरी आन्दोलनको घोषणा गरेको छ । बुधवार प्रमुख जिल्ला अधिकारी र बुटवल उपमहानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउने अभियान टोलीले बताएको छ ।