बुटवलमा सडक बालबालिका तथा असहायहरुको उद्वार

बुटवलका सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका बालबालिका तथा असहायहरुको उद्धार कार्य सुरु गरिएको छ । उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितीमा मानवसेवा आश्रमको सहकार्यमा उपमहानगरपालिकाको विभिन्न सडकपेटीमा कष्टकर जीवन विताईरहेका ८ जना सहयोगापेक्षी सडक मानवलाई गृह प्रवेश गराई कामको शुभारम्भ गरिएको छ । मानव सेवा आश्रम बुटवलले सुख्खानगरमा एउटा घर भाडामा लिएर त्यस्ता बालबालिकाहरुको उद्धार थालेको हो ।

शनिबार बुटवलका विभिन्न स्थानबाट बालबालिकाको उद्धार गरिएको र उक्त आश्रममा प्रदेश ५ का ४० सडक बालबालिकालाई आश्रममा आश्रय दिएर राखिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी गराउनुभएको छ ।

उद्धार कार्यको शुभारम्भका अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई मानवताको शहर बनाउने र सबै खालका हिंसा अन्त्यको नगर बनाउन नगरपालिकाले यस्ता संस्थालाई सहयोग गर्ने बताउनुभएको थियो । वहाँले अब बुटबल उपमहानगरका सडकपेटीमा कष्टकर जीवनयापन गर्ने मानिस नरहने बताउनुभएको थियो ।