बुटवलमा प्रलेसको विचार गोष्ठी सम्पन्न

बुटवल । वाम लेखकहरुको साझा साहित्यिक संगठन प्रगतिशील लेखक संघ नेपाल रुपन्देही शाखाको आयोजनामा बुटवलमा “साहित्यमा प्रगतिशीलता र प्रगतिवाद” बिषय विचार गोष्ठी सम्पन्न भएको छ ।

विचार गोष्ठीमा बोल्दै प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरिले प्रगतिशील र प्रगतिवादको परिभाषालाई समकालीन सन्दर्भसंग जोड्नुपर्ने बताए । डा. गिरीले प्रगतिशील साहित्य आलोचनात्मक यथार्थवादी हुने भन्दै साहित्यमा देखिएको वैचारिक मतभेदलाई मैत्रीपूर्ण बहसद्धारा हल गर्दै जानुपर्ने बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको वैचारिक विचलनका कारण आन्दोलन कमजोर हुँदै गएकोले त्यसको प्रभाव कला साहित्यमा देखापरेपनि त्यसलाई सुधार गर्नुपर्ने बताए । अहिले नेपाली समाजलाई उपभोक्तावादले गिजोलिरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

कवि रामचन्द्र भट्टराईले द्धन्द्धात्मक भौतिवादलाई सौन्दर्यचिन्तनको आधार बनाएर लेखिएका सिर्जना प्रगतिवाद भएको बताए । माक्र्सवादी चिन्तक दिल साहनीले प्रलेस सामन्तवाद तथा साम्राज्यवाद विरोधी लेखकहरुको संगठन भएको भन्दै प्रगतिवादी लेखनमा वर्गीय दृष्टिकोण र ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादलाई सिर्जनाको आधार बनाउनुपर्ने बताए । माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले प्रगतिशील र प्रगतिवादको भेद मात्रात्मक र गुणको सम्बन्ध रहेको बताए ।

पूर्व जिल्ला अध्यक्ष डा. मुरारि पराजुलीले अवधारणा पत्र पेश गरेको कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य डा. घनश्याम परिश्रमी, ऋषिराम भुसाल, डा. कृष्णचन्द्र शर्मा, सिद्धिचरण भट्टराई, पुरन गुरुङ लगायतले बोलेका थिए । कार्यवाहक अध्यक्ष कविराज पौडेलको अध्यक्षता, जिल्ला सहसचिव सुवास रिजालको सञ्चालन, राष्ट्रिय पार्षद सदस्य मीन रानाको धन्यवाद र पूर्वसांसद एवं निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।