बुटवलको सुकुम्बासी बस्तीमा जनप्रतिनिधिको नेतृत्वमा जबर्जस्ती घर भत्काइयो

रुपन्देही । लामो समयदेखि चुनावको बेला भोट वैंकको रुपमा प्रयोग गरिदै आएको सुकुम्बासी बस्तीमाथि जनप्रतिनिधि कै नेतृत्वमा एक दर्जन घर टहरा भत्काइएको छ । जाडोको चिसो मौसम बढिरहेको बेला टहराहरुमुनि बसेर जीविका चलाउँदै आएका सुकुम्बासीहरुको घर भत्काइएपछि उनीहरुको विचल्ली भएको छ ।

बुटवल १७ रानीगन्ज स्थित जग्गाको स्वामित्व बिवादका कारण अदालतमा मुद्दा चलिरहेको एक बिवादित बस्तीमा रहेका करिब १ दर्जन घरटहरा बुटवल उपमहानगरपालिकाले भत्काएको छ । स्थानीय वडाध्यक्ष सन्तबहादुर राना, कासिराम अर्याल र हरिलाल न्यौपानेको छोरा दिपक न्यौपानेको नेतृत्वमा आएको सो समुहले भत्काएको स्थानीयले बताएका छन् । सो बिवादित जग्गामा बिहिबार दिउँसो करिब १२ बजेतिर बुटवल नगरपालिकाबाट आएका नगर प्रहरी हौं भन्दै सेतो जीप र टेक्टर लिएर पुगेका एक समुहले ति घरटहरा भत्काएका हुन् । आफ्नो घरटहरामा बसेका स्थानियलाई सुचना नगरी एक्कासी आई उक्त समुहले हँसिया, भाला, खुँडा, खुकुरी र टेक्टर प्रयोग गरि जवरजस्ती भत्काएको स्थानीय बासिन्दा नवमी थारुले बताइन् ।

थारुका अनुसार एक्कासी नगरपालिकाको जीप माईकिङ गर्दै आयो र बाहिर निस्कन नपाउँदै घर टहरामा आक्रमण गर्दै स्थानीयहरु माथि समेत जाई लागेर भत्काइ दियो । अगाडी आए स्थानीयलाई हात खुट्टा काटिदिने धम्की दिँदै उनीहरुले टेक्टर चढाएर घर भत्काइदिएको र भित्र रहेका सामान र साना बालबालिकाहरु समेत निकाल्न नपाएको उनले बताईन् । यसअघि पनि सो स्थानमा उक्त समुहले पटक पटक धक्की दिने र पटक पटक आक्रमण गर्दै आईरहेको पनि थारुले बताईन् । थारु भन्छिन्–“आफ्नो दुःख पीडा सुन्ने र साथ दिने कोही छैनन् त्यसैले हेपेर स्थानीय भुमाफिया र गुण्डाहरुले हामीहरुलाई पटक पटक आक्रमण गर्दै आईरहेका छन् ।”
आफ्नो बाबु घुरई थारुको जग्गामा घर बनाई बसेको र केही जग्गा आफुले बिक्री बितरण गरेको केही जग्गामा घर टहरा बनाई बसेका अन्य मानिसको समेत घरजग्गा हडप्ने उद्देश्यले उनीहरुले पटक पटक दुःख दिएको र उक्त जग्गाको बिषयमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिरहेको अवस्थामा झगडिया एक पक्षले जोरजवरजस्ती गरेको र उक्त जग्गामा बसेकालाई जवरजस्ती हटाउन बुटवल उपमहानगरपालिकाले सहयोग गरेको उनीहरुको आरोप छ ।

स्थानीयहरु पीडितहरु भन्छन् – “हामी मुद्दा लडिरहेका छौं, नजितेसम्म लडिरहने छौं, नगरपालिका र वडाध्यक्ष सन्तबहादुर रानाको षडयन्त्र भण्डाफोर गरेरै छाड्छौं ।” यसबारेमा बुटवल उपमहानगरपालिकाका प्रबक्ता एवं छिमेकी वडाध्यक्ष रामप्रसाद रेग्मीले भने–“केही मानिसले अर्कैको जग्गामा घरटहरा बनाएको भन्ने सुचना प्राप्त भएको र हटाउन सहयोग गर्न भनि वडाबाट सिफारिस आएकोले नगरप्रहरीहरु बुझ्न र आवश्यक कार्य अघि बढाउनु भनि पठाइएको हो । उक्त जग्गा बिवादित अवस्थामा रहेको, कसको भन्ने टुंगो नलागिसकेको र अदालतमा सो बिवाद सम्बन्धी मुद्दा मामिला छ भन्ने थाहा नभएकोले उक्त कार्य भएको हुनसक्छ । एक पक्षिय झगडियाको गलत सुचनाको आधारमा बिवादित जग्गामा अदालतबाट टुंगो नलाग्दै घर टहरा भत्काउन मानिस पठाइएको स्थानियहरुले आरोप लगाएका छन । नगरप्रमुख शिवराज सुबेदीले पनि के कसो हो बुझी आवश्यक कारबाही गर्नु भनि पठाएको स्विकार गरे । उक्त स्थानमा रहेको सो जग्गा बिगत लामो समयदेखि बिवादित रहेकोले पटक पटक समस्या उत्पन्न हुने गरेको छ ।
फोटो– शिब डुम्रे