बालुवाटारको शुभकामना !

-मोदनाथ मरहत्ता-

परार जस्तै, पोहोर जस्तै
यो बर्ष पनि
उनै बासी बर्षहरुको गुच्छा
आयो बालुवाटारबाट
आयो शितल निवासबाट
राताघरबाट सेताघरबाट
भन्दै दशैंको शशुभकामना ।
सुन्छन् कानहरुले छुट्टिनेगरी
रेडियोले आफैँ पड्किने गरी
रुन्छन् दुर गाउँ घाँटी कोक्किने गरि
के दशैं के तिहार
आउँछन् मुटु भक्किने गरि
शुभकामना औषधि हो कि सान्त्वना
उपदेश हो कि शुभभावना ?
हुम्लामा अक्षता नपाएर दशैं आएन
डोेल्पामा जीबनजल नगएर दशै भएन
प्रश्न मेरो मैलाइ
बालुवाटारको शुभकामनाले
बाजुराकी पुतली जुइसीको रोग मार्छ ?
दार्चुलाकी पार्वती बिष्टको भोक टार्छ ?
जलेस्वरमा कालाज्वरले थलिएका
ललन सदा तङ्ग्रिन्छ ?
कि कन्चन्पुरकी निर्मला बौरिन्छिन् ?
लौजाउ तिम्रो शुभकामना आफैं ।
दशैं आउँछ हरेकदिन बालुवाटारमा
तिहार आउँछ हरेकदिन सिँहद्वारमा
त्यो शुभकामना त्यतैतिर घुमोस्
त्यो शुभभावना त्यतैतिर घुमोस्
इतिहासमा जङ्गेका भाइछोराले
भित्ताको पन्जाछाप माग्थे
शाहका छोरा नातिले पशुपति भाक्थे
सुसेल्थे एउटा लय
रैतान तर्सेन्थे जिम्माली भय
युगले राणाकालिक जिम्मल अन्मायो
गणकालिक जिम्माल जन्मायो
त्यो शुभकामना उनै नयाँ जिम्माललाई ।
त्यो बासी शुभकामनाले
जेद्दा पुगेकी मेरि छोरीको
मुटुमा शक्ति हुँदैन
कुवेतमा थुनिएकी बहिनीको
दशैंले मुक्ति हुँदैन
भो बालुवाटार तिम्रो शुभकामना
तिमी आफैं राख ।

रत्ननगर–३, चितवन