बाँकेमा कृषकद्धारा ‘मकै जोन’

बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ

आर्थिक वर्ष २०७३/७४ देखि सञ्ञ्चालित परियोजनाको प्रारम्भमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध किसानले ३ सय ५० हेक्टर जग्गामा मकै खेती गर्थे। तर अहिले ३५ कृषक समूहले ६ सय २१ हेक्टरमा मकै खेती गरिरहेका छन्।

बाँकेका कृषि आधुनिकीकरण परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार दुई वर्षमा परियोजनामा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका १ हजार ३ सय ४३ कृषक आबद्ध भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ। परियोजना कार्यक्रमअन्तर्गत कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा आगामी आवदेखि बर्खे मकै खेतीका लागि ४० कृषक समूह छनोट गरिएको छ।

‘मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले जिल्लालाई मकै जोनका रुपमा छनोट गरेको हो,’ मिश्रले भने।

जिल्लामा सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण उपलब्ध गराइँदै आएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानसमेत कार्यालयले प्रदान गर्दैआएको छ।

अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका- १५ को विजय नर्सरी फर्म, वडा नं २२ पुरैनीमा मौसमी कृषक समूह र डुडुवा गाउँपालिका-६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब ७५ लाख रुपैयाँ बराबरको तीन थान ट्रयाक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ।