फागुन १ : सपनाको नयाँ दिन

महान जनयुद्धको २४ औं बार्षिकोत्सव मनाईरहँदा हामीले जनयुद्धका प्रतिवद्धताहरुलाई स्मरण गर्नुपर्दछ र क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्न सङ्कल्प गर्नुपर्दछ । कमरेड लेनिनले १९०५ को अक्टोवर क्रान्ति असफल भएपछि भनेका थिए– ‘अधुरो क्रान्ति, क्रान्ति नहुनुभन्दा भयानक खतरनाक हुन्छ ।’ आज हामी यही भयानक अवस्थामा गुज्रिएका छौं ।

-सुमन नेपाली

मान्छेभित्र जब सपना व्युझिन्छ
दलालका मञ्जिलहरु भत्किन थाल्छ
ओ हली ! ओ मजदुर ! ओ कमरेड !
के तिमी सपना देख्छौं ?
सपना देख्नु भनेको आँधिको लय सुसेल्नु हो
सपना देख्नु भनेको क्रान्तिको भाका गाउनु हो ।

सपना देख्नु सबैभन्दा ठूलो कुरा रहेछ । सपना देख्नु क्रान्तिको लय गाउनु । आँधिको लय सुसेल्नु । सपना देख्नु जिन्दगीको ठूलो जोखिम मोल्नु । प्रतिक्रान्तिको विसंगत झोलुङ्गोमा सपना देख्नु सवैभन्दा ठूलो आताङ्क । सपनाको तस्करी हुनु अझ उत्तिकै पीडादायक । हो, फागुन १, सपनाको नयाँ दिन थियो र हो । सपनाहरुको तस्करी भएको पीडालाई क्रान्तिमा कार्यानुवाद गर्न प्रतिबद्ध हुनु फागुन एकलाई स्मरण गर्नु हो । त्यसकारण फागुन एक नयाँ प्रतिबद्धता, सङ्कल्प र सपनाको दिन हो ।

इतिहासको पानामा फागुन १ कहिल्यै विर्सन नसकिने दिन हो । श्रमजीवि जनताका लागि ऐतिहासिक दिन हो । सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुुँजीवादका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य सहित २०५२ फागुन १ गते नेकपा (माओवादी)ले महान जनयुद्धको घोषणा गरेका थियो । अहिलेसम्म आइपुग्दा माओवादी आन्दोलनको उमेर २४ वर्ष पुगेको छ । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहेपनि शान्ति प्रक्रियाका बाँकी वर्ष विघटन र पराजयका वर्ष बन्यो । यद्यपी यो फेरि निर्माणको चरणमा जुटेको छ ।
महान जनयुद्ध सुरुको २४ औं बर्षसम्म आइपुग्दा माओवादी आन्दोलनको ठूलो हिस्सा आज संसदीय पुँजीवादमा विसर्जन हुन पुगेको छ भने एउटा ठूलो क्रान्तिकारी हिस्सा दश वर्ष लामो महान जनयुद्धका लक्ष्यलाई भिन्न शिराबाट पुरा गर्ने उद्देश्य सहित अगाडी बढिरहेको छ ।
दश बर्षे महान जनयुद्धले नेपालको सामन्ती संरचनालाई जरैदेखि हल्याइदियो र राजतन्त्रको अन्त्य गरि संसदीय गणतन्त्रको घोषणा ग¥यो । हजारौंको संख्यामा जनमुक्ति सेना निर्माण गर्दै गाउँ–गाउँमा स्थानीय जनसत्ताबाट जिल्ला जनसरकार हुँदै केन्द्रीय जनसरकारको घोषणा ग-यो । आफ्नै जनअदालत र जनकम्युनहरु निर्माण ग¥यो । गाउँदेखि शहरसम्म आउँदा करिब ७५ प्रतिशत भुभाग माओवादी नियन्त्रणमा रहेको भनी इन्टरनेशनल क्राइसिस गु्रप लगायत दर्जनौं अन्तर्राष्ट्रिय शक्तिहरुले तथ्याङ्क सार्वजनिक ग-यो । यसो हुनु सामान्य कुरो थिएन ।

माओवादी आन्दोलनले विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पा¥यो । माओवादीको आव्हानमा सामन्तका सयौं बिघा जमिन खोसेर हलिया र मुक्त–कमैयाहरुलाई बिनामुआब्जा बितरण गरिदिदा हजारौं किसान, हलिया र मुक्त–कमैयाहरु सामन्त÷जमिनदारका विरुद्ध आन्दोलनमा माओवादीसँगै हेलिए । उनीहरुले माओवादी आन्दोलनबाट आफ्नो भविष्य देखे । मध्ययुगीन छुवाछुत र भेदभाव विरुद्धको माओवादी क्रान्तिले उपेक्षित हजारौं दलित समुदायहरु जनयुद्धमा सरिक हुन पुगे । आधा आकाश ओगटेका महिलामाथिको विभेद विरुद्ध हजारौं उत्पीडित महिलाहरु माओवादी आन्दोलनमा सहभागी बने । त्यसैगरी जनजाति, मधेशी र कर्णाली क्षेत्रजस्ता उपेक्षित समुदाय र क्षेत्रहरुको पनि दश वर्षे जनयुद्धमा अत्याधिक ठूलो सहभागिता रहन पुग्यो । तिनै उत्पीडित र उपेक्षित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायको मुक्ति र परिवर्तनको आवाज माओवादीले उठाएका कारण जनयुद्ध छोटो समयमा नै उत्कर्षमा पुग्यो ।

देशैभर फैलिएको माओवादी आन्दोलन जब चुनबाङ बैठकमा आइपुग्यो, त्यसपछि नयाँ ‘टर्निङ’ लियो । चुनबाङ बैठक प्रतिक्रान्तिको नयाँ ‘टर्निङ पोइन्ट’ बन्यो । माओवादीका धेरै नेताहरु संसद भवनमा पुगे । इमान्दार कार्यकर्ताहरु क्रान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि अरबतिर लागे । माओवादी आन्दोलन विस्तारै ओरालो लाग्यो । संसद्वादीहरुसँगको सम्झौताका कारण जनसेना क्यान्टोनमेन्टमा खुम्चिदै तत्कालीन शाही सेनामा विलय हुन पुग्यो । जनसत्ता, जनअदालत र जनकम्युनहरु विघटन गरियो । जनसत्ताले कब्जा गरेका सामन्त जमिन्दारहरुको जग्गा उल्टै माफियाहरुसंग मिलेर केही नेताहरुले बेचेर खाए । त्यसपछि माओवादी आन्दोलनभित्र लामो समय अन्तरसंघर्ष, दुईलाईन संघर्ष चल्यो । दशवर्षे जनयुद्धका लक्ष्यहरु सम्पूर्ण रुपले गुम्ने स्थिति पैदा भएपछि माओवादीभित्रबाट क्रान्तिकारी नेता÷कार्यकर्ताहरुले पार्टीभित्रबाटै विद्रोहको झण्डा उठाए । ०६९ को बौद्धबाट माओवादी पार्टी घोषित रुपले विभाजित हुन पुग्यो । कमरेड किरणको नेतृत्वमा नेकपा–माओवादी बन्यो ।

कमरेड विप्लवको नेतृत्वमा भएको कपिलवस्तु भेलाले माओवादी आन्दोलनमा नयाँ तरङ्ग ल्याइदियो । माओवादी आन्दोलनमा देखा परेको प्रचण्ड–बाबुरामको दक्षिणपन्थी नवसंशोधनवाद र किरण–बादलको छद्म संशोधनवाद विरुद्धको लडाइँमा यो भेला ऐतिहासिक भएको निष्कर्ष निकाल्यो । रोल्पाको थबाङमा आठौं महाधिवेशन सम्पन्न गरी मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्दै एकीकृत जनक्रान्तिको कार्यदशिा सहित नेपाल कम्युनिष्ट पार्टी निर्माण ग-यो । त्यसपछि राज्यले घोषणा गरेको तीनै तहको चुनावी खारेजी अभियान हुँदै अहिलेसम्म आईपुग्दा नेपालमा नयाँ शिराबाट क्रान्तिको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ ।

यहाँ स्मरणीय कुरा के छ भने आज गाउँ र शहरबीचको दुरी घट्दै जानु, सूचना र प्रविधिको क्षेत्रमा तीव्र विकास, राजनीतिक सत्ताको केन्द्रमा दलाल पुँजीवादको उपस्थिति, मध्यम वर्गको उदय, भौगोलिक रुपमा सानो र भुपरिवेष्ठित देश हुनु, जातीय क्षेत्रीय उत्पीडन कायम रहनु लगायतका भुयथार्थका कारण क्रान्तिको चरित्र पनि फेरिएको छ । नेपाली समाजका अन्तरविरोधहरुमा आएको कयौं परिवर्तनलाई पकडेर त्यही अनुरुपको संघर्षको मोडल विकास गर्न सकिएन भने क्रान्तिको बाँकी कार्यभार पुरा गर्न सकिदैन ।

विश्वक्रान्तिको अध्ययन गर्दा पनि पेरिस कम्युनको पुनरावृत्ति रसियन क्रान्तिमा भएन, रसियन क्रान्तिको पुनरावृत्ति चिनियाँ क्रान्तिमा भएन । न त रुसी र चिनियाँ क्रान्तिको पुनरावृत्ति नेपाली माओवादी जनयुद्धमा हुबहु भयो । त्यसकारण अव नेपालमा हुने क्रान्ति पनि नेपाली समाजको अहिलेको अन्तरविरोध र विशेषतामा आधारित हुनुपर्छ र राजनीतिक कार्यदिशालाई त्यहीअनुसार अझ थप विकास र समृद्ध गर्दै जानुपर्दछ ।

एमाले र माओवादी केन्द्रवीच ‘एकता’ भएर बनेको डबल नेकपासित कम्युनिष्ट नाम जोडिए पनि, वैचारिक पक्ष खास गरेर क्रान्ति र राज्यसत्ता सम्बन्धी गलत धारणाका कारण उक्त पार्टी अब कम्युनिस्ट पार्टी रहेन । उतिबेलै प्रचण्डसँग सम्बन्ध विच्छेद गर्दा कमरेड किरण–विप्लवले वैचारिक विचलनका १८ ओटा बुँदा अघि सारेका थिए र अहिले त्यसको संख्या तीन दर्जनभन्दा बढी पुगेको छ । अहिले विप्लव र किरणलाई ठीक पार्ने नाममा पार्टीलाई एमालेमा विलय गराएका छन् । अब संसदीय धारभन्दा बाहिरका क्रान्तिकारीहरु वीच एकता र धु्रवीकरणलाई जोड दिनुपर्छ र श्रमजीवि जनताले चाहेको वैज्ञानिक समाजवादी स्थापनाका लागी सङ्घर्ष गर्नुपर्दछ ।

महान जनयुद्धको २४ औं बार्षिकोत्सव मनाईरहँदा हामीले जनयुद्धका प्रतिवद्धताहरुलाई स्मरण गर्नुपर्दछ र क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्न सङ्कल्प गर्नुपर्दछ । कमरेड लेनिनले १९०५ को अक्टोवर क्रान्ति असफल भएपछि भनेका थिए– ‘अधुरो क्रान्ति, क्रान्ति नहुनुभन्दा भयानक खतरनाक हुन्छ ।’ आज हामी यही भयानक अवस्थामा गुज्रिएका छौं । लेनिनकै भाषामा क्रान्तिकारीहरुले हरदम सपना देखिरहनु पर्दछ र फागुन १ श्रमजीवि जनताले नयाँ सपना देखेको र देख्ने दिन हो ।