प्रगतिशील साहित्यमा देखिएको बैचारिक विचलन

कुनै दिन यो स्तम्भकार नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने कविता प्रतियोगितामा भाग लिन नाम लेखाउन प्रज्ञा प्रतिष्ठानको दर्ता कक्षमा पुगेको थियो । त्यहाँको कर्मचारीले मसित नागरिकता मागे । कविता सुनाउन मात्रै पनि नागरिकता पाइने कस्तो ठाउँ होला भनेर म फर्किएँ ।

-मीन राना
हामी विदेशमा कुनै कवि अन्यायमा पर्दा यहाँ चिल्लाउन थाल्छौँ । कुनै विदेशी अतिथि भएर आउँदा सडकमा कालो झण्डा बोकेर खडा हुन्छौँ । तर आफ्नो बैचारिक धरातल कहिल्यै खोज्दैनौँ । आफ्नै साथीमा भएको बिचलनप्रति आँखा चिम्लन्छौँ । आफ्नै क्षेत्रमा भएका गलत काममा बेखबबर हुन्छौँ ।

विचलन पनि कतिसम्म भएको छ भने हाम्रा साथीहरू इमान भन्ने नै छैन । घरबाट प्रलेस केन्द्रकोे सम्मेलनमा हिँड्दा एउटा पार्टीमा भएको मान्छे सम्मेलनमा प्रतिनिधित्व अर्कै पार्टीबाट गर्छन् । र केन्द्रीय समितिमा अर्कै पार्टीबाट निर्वाचित हुन्छन् र घर आइपुग्दा अर्कै पार्टी भईसक्छन् । अनि यस्ताले फेरि प्रज्ञा प्रतिष्ठानको आँगनमा भेटेर हामीसित क्यार–क्यार गरेर हैरान पार्छन् । हैन ! यस्ता पातपातैमा हिँड्नेहरूले चर्को बोल्दैमा भाऊ दिन थालियो भने प्रलेस कस्तो संगठन बन्ला ?
हाम्रोमा समय र परिस्थितिलाई हेर्ने आँखा कतिसम्म गलत छ ? त्यसमा कहिल्यै बिचार गर्दैनौं । आफूमा भएको बिचलन कहिल्यै देख्दैनौँ । अरुलाई इमान्दार बन्न सिकाउँदै हिड्ने हामी आफू कत्तिको इमान्दार छौँ भनेर आफैलाई मूल्याङ्कन गर्न खोज्दैनौँ । के बिचार र सिद्धान्तका कुरा अर्कालाई सिकाउन मात्र हो ? वा आफ्नो दुनो नसोझिंदासम्म मात्र हो ? भनाई र गराईमा एकरूपता हुनपर्ने सानामा मात्र हो वा ठुलामा पनि त्यो आचरणको खाँचो पर्छ ? बिचार अरुलाई पढाउने विषयमात्र हो वा आफ्नो जीवनमा पनि लागु हुन्छ ? सिद्धान्त मञ्चमा फलाक्ने विषय हो वा आफ्नो जीवनमा पनि लागु हुन्छ ? मञ्च अनुसार भाषणको बैचारिक गन्ध फर्ने छेपारे प्रवृति हावी हुँदै जाने हो भने भोलिको प्रगतिशील आन्दोलनको रूप कस्तो होला ? अरुलाई शिक्षा दिंदै हिड्नेहरूले के त्यो शिक्षा आफूले लिनु पर्दैन ?

हो, सिद्धान्त जीवनको लागि हो । सिद्धान्तको लागि जीवन होइन । मान्छेले आफ्नो जीवन कस्तो बनाउने ? भन्ने निर्णय गर्छ र त्यही अनुसार सिद्धान्त बनाउँछ । आफ्नो देखेको र चाहेको संसारलाई विचारेर दर्शनको विकास गर्छ । त्यही दर्शनले नै बिचारको निर्माण गर्छ । आफूले बनाएको बिचारमाथि हुने हमला आफैमाथि भएको ठान्छ । बिचार आफैमा स्थायी पनि हुँदैन तर सधै अग्रगमन तर्फ बढिरहन्छ । सधै नयाँ जीवनको खोजीमा रहेको मान्छेले प्रतिगमनकारी बिचार अंगाल्नु भनेको आत्महत्या नै हो । त्यो नै पश्चगमन हो । त्यसैलाई पतन भनिन्छ ।

प्रसङ्ग रुपन्देहीका साहित्यकारहरूमा आएको बैचारिक बिचलनको हो । यतिबेला देशमा लोकतन्त्र आएको छ । जस्तो भएपनि प्रगतिशीलहरूको सरकार छ । राजनीतिक परिवर्तनले कोल्टे फेरेको छ । बिचार रक्षाको लागि कसैले भुमिगत हुनु परेको छैन । भन्नमा भुमिगत भनिए पनि उनीहरूको अवस्था खुला नै छ । सामाजिक रूपमा पनि धेरै परिवर्तन भएको छ । भलै हामीले चाहेजस्तो नभएको होला तर केही न केही त अवश्य भएको छ । जनयुद्धकालको जस्तो असहज अवस्था कल्पनासम्म गर्न नपर्ने अवस्था आउनु पनि नेपाली समाजको ठुलै उपलब्धि मान्नु पर्छ । यस्तो अवस्था पनि रुपन्देहीका स्रष्टाहरूलाई कस्तो परिस्थिति आइलाग्यो र उनीहरूले पश्चगमनको यात्रा गर्नुप¥यो ? यो त्यस्तो विपद्को घडी त होइन । कुनै असहज परिस्थिति पनि होइन । यस्तो सहज परिस्थितिमा पनि आत्मसर्मपणवादी चिन्तन हावी भएपछि समाज कुन बाटोमा जाला ?

कुनै समय यस्तो थियो एकजना कविले जनयुद्धकालमा आफ्नो ज्यान बचाउन सि.डि.यो. कार्यालयमा एउटा कागज गरेर आएछन् । यहाँका साहित्यकार महानुभावहरूले उनको उछित्तो काढेर हैरान पारे । तर कसैले उनको रिहाइको लागि पहल गरेनन् । युद्धको ती अँध्यारा दिनमा निशाचरहरूले झण्डाको सिकार खेल्न निस्केको समयमा, जसले जे गरे पनि हुने त्यो बेला एउटा कविको अगाडी ज्यान बचाउने त्यो भन्दा अर्को उपाय केही भएन । क्रान्ति जीवनको लागि हो, जीवन क्रान्तिको लागि होइन । पछिको क्रान्तिलाई अगाडि बढाउन पनि बाँच्नु पर्ने खाँचो छ । आफू रहे समय फेरिएला, आफ्नो दिन फर्केला, अनि लेखौँला भनेर उनले कालको मुखबाट फुत्केर आउँदा आत्मसर्मपण भयो । निरङकुश सत्ताको अगाडि घुँढा टेकेको भयो । प्रगतिशील आन्दोलनलाई तिलाञ्जली दिएको भयो । बैचारिक बिचलन भयो । कलम बेचेको भयो । कसैले पनि त्यो ठाउँमा आफूलाई राखेर हेरेनन् । प्रतिक्रियावादी सत्तालाई कलम बेचेको भनेर कत्रो पानी बाराबार भयो । ०६२÷६३ को आन्दोलनमा समेत उनीसित एउटै मञ्चमा कविता सुनाउन चाहेनन् । छुट्टै मञ्च समेत बनाउन पछि परेनन् । यतिबेला त्यसको हिसाब किताब खोज्ने बेला आएको छ । हाम्रो बिगतको मूल्याङ्कन गर्ने बेला आएको छ । आफ्नो बिचारको उग्रताको खेती मौलाउँदै गर्दा साथीलाई सहानुभुति र ढाडस दिने बेलामा पानी बाराबार गरेर काटेको घाऊमा नुनचुक दल्ने काम पो भयो कि ? हामी अन्त कतै कुनै लेखकलाई कुनै सजाय हुन लागेको समाचार सुन्ने वित्तिकै प्रसङ्ग पनि राम्ररी नबुझेर रिहाइको आवाज उठाउनेहरूले कविको रिहाइको लागि कुनै आवाज उठायौँ कि उठाएनौँ ?

कुनै बेला एक जना कविले कवि माधव घिमिरेको अभिनन्दन गराए । त्यति बेला म विद्यार्थी थिएँ । मलाई त्यो कवि माधव घिमिरेलाई देख्ने इच्छा थियो । तर हाम्रा बिचारका ठेक्का लिएकाहरूले त्यो कार्यक्रममा जान रोके र भैरहवामा छुट्टै अर्को कार्यक्रम गरेर हामीलाई घुमाउरो पाराले थुन्ने काम भयो । ती आयोजक कविको सार्वजनिक रूपमा ठुलो आलोचना गरियो । अझै पनि उनीप्रति कसैकसैको त्यतिबेलाको दृष्टिकोण फेरिन सकेको छैन । जबकी उनी एक प्रगतिवादी कवि हुन् । जेलनेल सहेका कवि हुन् । उनको साहित्यिक योगदानलाई कसैले नकार्न सक्दैन । कवि माधव घिमिरे हाम्रा नभए पनि राम्रा कवि भने अवश्य हुन् र यहाँका प्रगतिशीलहरूले मदनमणी आएर गरेको प्रस्तावित राष्ट्रकविको कार्यक्रममा समर्थनमा ताली ठोकेको पनि सम्झने कि ?

उनीहरूको तर्क छ “तिमी पनि त पहिले यो लुम्बिनी वाङ्मयमा बसेका थियौँ नि ?” त्यसमा मैले स्पष्टिकरण दिनैपर्छ र आत्मालोचना गरिसकेको छु । जहाँ पनि मैले यस विषयमा आत्मालोचना गर्न पछि पर्नहुन्न भन्नेमा पनि म प्रष्ट छु । तर मलाई यस्ता मान्छेहरूसित सम्पर्क गराउने प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष हिरण्यलाल ज्ञवाली हुन् । उनले सबै कुरा बुझेर पनि हामीलाई नबुझउनु उनको गल्ती हो । र यहाँका सबै पाका पुस्ताले उनलाई चिनेर पनि नचिनाउनु पनि गल्ती नै हो । किन हामीलाई सत्य कुरा भनिएन र आफैपछि लागेर हिड्न थाल्नुभयो ? किन यहाँका वरिष्ठहरूले त्यस्ता भ्रष्टहरूले दिएको सम्मान र पुरस्कार थाप्न लाइनमा बसे ? किन यसरी लम्पसार परेर आफ्नै इतिहासको वलिदानी चढाउँदै हुनुहुन्छ ? उनीहरूले पनि स्पष्टिकरण दिनुपर्छ कि पर्दैन ? यस्ता हाम्रा गुरुहरूले हामीलाई सिकाउन छाडेर हामीलाई पनि भ्रष्ट पार्ने कार्य गरेकोमा जतिसुकै खेद प्रकट गरेपनि थोरै हुन्छ । मलाई आशा छ उहाँहरूले यसमा केही मूल्याङ्कन गर्नुहुनेछ । डाहा र इश्र्या गरेर प्रगतिशील आन्दोलनको विरुद्धमा लागे हामीलाई प्रतिरोधमा उत्रन बाटो खुल्ने छ ।

कसै–कसैले भन्नुहुन्छ–“हामीलाई यस्तो दिएकाछन् । हामीले यो पायौँ त्यो पायौँ ।” जब प्रगतिशीलहरूले आफ्नो बाटो छाड्न तयार हुन्छन् उनीहरूको लागि संसारका सबै चिज प्राप्त हुनसक्छ । मात्र प्रगति मिल्दैन । क्रान्ति मिल्दैन । त्यसैले केही भौतिक वस्तु प्राप्त गर्नु, कुनै पुरस्कार वा सम्मान भन्ने कुरा त चारो मात्र हुन् । सस्तो प्रचारवाजी गरेर, सस्तो लोकप्रियताको बजारमा आफूलाई प्रस्तुत गर्न पनि खोज्ने र प्रगतिशील प्रगतिवादी पनि बन्ने प्रवृति त्याग्नुपर्छ । अब हाम्रो युग सुरु भएको छ तसर्थ प्रगतिशीलहरूको नेतृत्वमा नयाँ कामको सुरुवात हुनुपर्नेमा हाम्रा प्रगतिशील साथीहरू प्रतिगामीहरूको छत्रछाँयामा रमाउन थालेपछि अहिलेसम्मको संघर्ष खेर गएन र ? हिजो लोकतान्त्रिक आन्दोलनको विरुद्धमा लागेकाहरूलाई आज साधन र स्रोत भएका भन्दै मान्न थाल्यौँ भने हाम्रो विजयको के अर्थ ? कुनै नाता सम्बन्ध र बिचारलाई छुट्याएर व्यवहार गर्न नसके हामी आफ्नो विचारको रक्षा कसरी गर्न सक्छौँ ? कसैले आफ्नो पैसाको बलमा पैँतिस पेज कबिताको बहत्तर पेज भूमिका लेखाउँदैमा कवि बन्छ ? अनि त्यस्ताको भजन गाउन रुचाउनेहरू कसरी प्रगतिशील होलान् ?

तर यति बेला तिनै आलोचक कविहरू समाजका भ्रष्टको नामले परिचितको निस्तो चारोमा रमाइरहेका छन् । राजावादीहरू र प्रतिगामी खेलमा संलग्नहरूका काखीमा च्यापिएर आफूलाई सच्चा क्रान्तिकारी ठानी रहेका छन् र हामी बिचारको कुरा गर्नेहरूसित जोरी खोज्दैछन् । बैचारिक प्रश्न उठाउँदा ठट्टा गरे जस्तो गर्न थाल्नु हुन्छ ? के हामीलाई नपत्याएको ? यतिबेला लोकतन्त्रकै खिल्ली उडाउनेहरूको शरणमा पर्ने कस्तो परिस्थिति आयो र उनीहरूले त्यसरी बैचारिक आत्मसर्मपण गर्दैछन् ? यसमा उनीहरूले यस्तो सम्झौता गर्नु किन प¥यो । यस्ता बिचलितहरूले आलोचनाबाट बच्न अनेक बिचारका तानाबाना बुन्न थालेका छन् । अनौठा समन्वयवादी बन्न थालेका छन् । आफ्नो अक्षम्य गल्ती स्वीकार्न नसकेर सच्चा राष्ट्रभक्त र क्रान्तिकारी सहयात्रीहरू सित दन्तबझान गर्न थालेका छन् । आफ्नो आफ्नो बाटो हिड्नुस् भन्न थालेका छन् । ठिक छ, आफ्नो–आफ्नो बाटो गरौँ तर तपाईँहरूले क्रान्तिकारी चित प्रयोग गर्नुहुन्न भने मात्र । जोगी पनि बन्छु भोगी पनि बन्छु भनेर पनि हुन्छ र ? तपाईँहरू आफूलाई कि त भाले भन्नुस् कित पोथी भन्नुस् ।

जुन मान्छे आफ्नै बिचारमा इमान्दार छैन ? जसले आफूले के गर्दैछु भन्ने पनि थाहा पाउँदैन । जसले कस्तो संस्थामा बसेको छु भन्ने पनि चाल पाउँदैन । आफ्नो बिचारले के भन्छ ? आफ्नो बैचारिक धर्म के हो ? भन्ने थाहा पाउँदैन । जसले कस्तो समयमा बाँच्दैछु भन्ने होस् पाउँदैन । त्यस्तो मान्छे कसरी स्रष्टा हुन्छ ? स्रष्टा भनेको त द्रष्टा हो । आफ्नै युगलाई सहि तरिकाले नदेख्नेले भविष्य देख्ला ? आफैलाई नचिन्नेले अरुलाई नचिन्नु त स्वभाविक हो तर त्यस्ता स्रष्टाले समाजमा पार्ने प्रभाव भने ज्यादै खतरनाक हुन्छ ।

पद, प्रतिष्ठा र पहुँचको पछि लाग्ने, कसैको पैसाको पछि लाग्ने, युवाहरूमा बैचारिक विचलन ल्याउने प्रवृत्तिहरू बढ्दै गएको छ । कसैको फुक्लो सम्मान र पुरस्कारको पछि लागेर यहाँका साहित्यका तीर्थहरूलाई अपमान गर्ने र यहाँका स्रष्टाहरूलाई पुरस्कारको लोभमा पारेर भ्रष्टीकरण गर्ने काम समेत हुन थालेको छ । प्रगतिशीलहरूमा फाटो पार्ने प्रयास भइरहेको छ । यसप्रति हामीले बेलैमा सोँच्नुपर्ने भएको छ । जुठा मान्छेहरूले कि त इमान्दार पूर्वक हामीले प्रगतिशील आन्दोलन छाड्यौँ भन्नु प¥यो कि त आफ्नो कर्तव्य पालन गर्नुप¥यो । बैचारिक स्पष्टता नभएका मान्छेहरूको कुनै विश्वास गर्ने ठाउँ नै हुँदैन । त्यसैले स्पष्ट भएर आउनु प¥यो होइन भने छद्मभेषीहरूलाई प्रगतिशील संगठनहरूमा पस्ने बाटाहरू बन्द गरिनु प¥यो । एउटै खोरमा बाघ र बाख्रासँगै कसरी बस्न सक्छ ? कसैले पनि धामी पनि मै र बोक्सी पनि मै भन्न मिल्छ ? कसैले एकै चोटी हिन्दु पनि मुस्लिम पनि हुन्छु भनेर मूर्खता गर्छ । कति कुरा विश्लेषणका हुन्छन् र कति कुरा संश्लेषणका हुन्छन् । बिचार के हो भनेर नबुझ्नेलाई बुझाउने उपाय पनि नहुने रैछ । उहाँ बिचार कुन चराको नाम हो ? भन्ने पनि थाहा नभएका प्रगतिशीलहरू छन् तिनैले हामीलाई पढाउन थाल्छन् । सिकाउन थाल्छन् । त्यस्ता गनाएकाहरूबाट के सिक्ने ? उस्तै गनाउन सिक्ने ?

यहाँ भ्रमका खेती पनि अनेक गर्न थालिएको छ । यही लुम्बिनी वाङमय प्रतिष्ठानलाई नै प्रादेशिक प्रज्ञा प्रतिष्ठान बनाउने रे ! कुनै ऐरे गैरेले खोलेको कुनै गैर सरकारी संस्थालाई सरकारले आफ्नो अङ्ग मानेको कुनै एउटा उदाहरण देखाउनुस् त ! कार्यक्रम दिन सक्छ तर आफूमा गाभ्ने कुरा भ्रम मात्र हो भन्ने लाग्छ । उता प्रज्ञा प्रतिष्ठानबाट कपिलवस्तुमा शिलान्यास भएको भवन निर्माणार्थ पचास लाख दिने भएको छ रे ! पचास हजारको कार्यक्रम दिनलाई पचासै हजार कागजपत्र माग्ने प्रतिष्ठानले अर्काको स्वामित्व भएको जग्गामा किन लगानी गर्ने ? कपिलधामको धार्मिक वन यसरी बिघाको बिघा पुर्वपञ्चहरूको सेवामा सुम्पन थालेपछि त्यहाँ वन रहला ? सार्वजनिक सम्पत्ति हिनामिना गर्ने कपिलधामका वर्तमान समितिलाई कुनै दिन यही विषयले अप्ठ्यारो नपार्ला ? यहाँका लाटाहरू त्यस्ता कुरा पत्याएर मख्ख छन् । यसरी सिधै झुक्याउनेको पछि लागेर हिड्नु कतिसम्म मूर्खता होला ?

“केही साथीहरू सित कुरा गर्दा उनको पछाडिमात्र कुरा गरेर के काम ? उनकै अगाडि किन कुरा गर्नुहुन्न ?” भने । मैले यही प्रश्न लुम्विनी वाङमयका अध्यक्षसित पटक–पटक सार्वजनिक कार्यक्रममा राखेको थिएँ । उहाँको एक कार्यक्रममा उन्नाइस मिनेटको भाषणमा दिएको जवाफ “कसैको विचार म¥यो भनेर त्यसको मलामी जान सकिन्न … यस्तो नराम्रो सोच्नेलाई टाइफइड लागोस् … ।” अरुको विचारको सम्मान गर्न नसक्ने र तथ्यपूर्ण जवाफ पनि दिन नसकेको त प्रष्ट देखियो । हाम्रो भावनामा खेलेर राम्रो काम गरेको देखाएर प्रगतिशीलहरू माथि उनी हावी भएको प्रष्ट हुन्छ र उनले त्यो मन्तव्यमा आफूलाई साझा व्यक्तिको रूपमा प्रस्तुत गरे । आफू कुनै पार्टीमा नरहेको समेत कुरा गरे । उनी कुन पार्टीका हुन् भन्नेसम्म यहाँका लण्ठुहरूलाई थाहा छैन ? कसैको विचारको सम्मान गर्न नसक्ने क्रुरले मञ्चमा भाषण गरिरहँदा हाम्रा कर्मकाण्डी प्रगतिशीलहरू तल बसेर किच्च दाँत देखाउँदै ताली बजाइरहेका थिए । त्यस्ताको पछाडि लाग्नेहरू कसरी प्रगतिशील हुन्छन् ?
मान्छेमा परिर्वतन हुन्छ । मान्छेले अपराध नै गरेको भएपनि सुध्रने अवसर पाउँछ । कुनै भ्रष्ट मान्छेलाई पनि सुध्रने मौकाबाट कसैले रोक्न सक्दैन । हो, हामी यदि प्रगतिशील हौँ भने हामीले आफ्नो मात्रै बिचार राम्रो, आफूमात्र राम्रो, आफूमात्र ठुलो भन्ने सोँच त्याग्नुपर्छ । त्यसमा कुनै दुईमत छैन । त्यसो त रूपन्देहीमा हामीले आफ्नो बिचारभन्दा विपरीत बिचार राख्नेहरूलाई पनि उत्तिकै सम्मान गरेका छौँ । तर उनीहरूलाई साहित्यकोे तीर्थ मान्न कत्ति सक्दैनौँ । उहाँहरू सित उस्तै हार्दिकतासाथ संगत गरेका पनि छौँ । हामी इमान्दार छौँ र त उहाँहरूले पनि हामीसित संगत गरिरहनु भएको छ ? तर के लुम्बिनी वाङमयका केन्द्रीय अध्यक्ष कवि हुन् ? के उनी कलाकार हुन् ? के उनले द्धन्द्धात्मक भौतिकवाद मान्छन् ? के उनको चरित्र बिगत र वर्तमानमा सफा छ ? उनी लोकतान्त्रिक आन्दोलनको विरुद्धमा लागेका मान्छे होइनन् ? उनले पञ्चायतकालदेखि के गर्दै आएका छन् ? के यहाँका वरिष्ठहरू वेखवर छन् ? के उनी परिवर्तन भएका हुन् ? के उनी हाम्रो बिचारको सम्मान गर्छन् ? के उनी देश, गणतन्त्र र लोकतन्त्रप्रति श्रद्धा राख्छन् ? हाम्रै बिचार मान्नुपर्छ भन्ने केही छैन रे ल, के उनी आफ्नै बिचारमा इमान्दार छन् ? के उनको परिचय यहाँका वरिष्ठहरूलाई थाहा नभएकै हो र ? के लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्षले हाम्रो विचारको नेतृत्व गर्न सक्छन् ? यति छिट्टै रुपन्देही पतन होला भनेर कसैले सोँचेको थिएन होला तर आज रुपन्देहीमा बैचारिक खडेरी लागेको छ ।

कुनै दिन यो स्तम्भकार नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने कविता प्रतियोगितामा भाग लिन नाम लेखाउन प्रज्ञा प्रतिष्ठानको दर्ता कक्षमा पुगेको थियो । त्यहाँको कर्मचारीले मसित नागरिकता मागे । कविता सुनाउन मात्रै पनि नागरिकता पाइने कस्तो ठाउँ होला भनेर म फर्किएँ । यस्तो त म जस्ता सामान्य कवि अरुमाथि पनि कति भयो होला ? तर यतिबेला त्यही प्रज्ञा प्रतिष्ठानले यस्ता भ्रष्टहरूलाई पचास लाख रुपैयाँ भवन निर्माणार्थ दिने भन्ने प्रचार गरिएको छ । सामान्य मान्छेहरूलाई त्यो समाचारले खुसी लाग्नु स्वभाविक हो तर यसको अर्थ सामान्य छैन । बेलै माथि सोच्ने कि ?

स्रोत–प्रलेस रुपन्देही, पूर्णाङ्क–३, साउन २०७५