प्रगतिशील र प्रगतिवादको भेद

प्रगतिवाद स्पष्ट दार्शनिकता बोकेर मानवतावाद र समतामूलक समाजको निर्माणका लागि चिन्तनशील साहित्यिक मान्यता हो । प्रगतिवादी साहित्य विश्वभरि श्रमजीवी जनताको सांस्कृतिक आन्दोलन भएर अगि बढेको छ । यो कतै स्वाधीनताको लडाइँका लागि हतियार बनेको छ; कहीँ वर्गीय, लिङ्गीय, वर्णीय, जातीय उन्मुक्तिको साधन बनेको छ । साहित्य साधनमात्र हो साध्य त स्वयं जनता हुन् र तिनले प्राप्त गरेको सम्पूर्णता हो ।

-डा. मुरारि पराजुली

१. शब्दगत व्युत्पत्ति र अर्थ
‘गम्’ धातुमा ‘ति’ प्रत्यय लागेर बनेको ‘गति’ शब्दमा ‘प्र’ उपसर्ग लाग्दा ‘प्रगति’ शब्दको व्युत्पत्ति हुन्छ । नेपाली बृहत् शब्दकोशअनुसार यसको अर्थ राम्रोसित अगाडि बढ्ने क्रिया; माथि उक्लने क्रिया; राम्रोसित अगाडि बढ्नाको भाव, क्रिया वा प्रक्रिया; उन्नति; विकास; उत्थान भन्ने हुन्छ । यही ‘प्रगति’ शब्दमा ‘शील’ प्रत्यय लगाउँदा बनेको ‘प्रगतिशील’ शब्दले समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने भन्ने अर्थ द्योतन गर्दछ भने त्यही प्रगति शब्दमा ‘वाद’ शब्दको सम्मिलनबाट बन्ने ‘प्रगतिवाद’ शब्दले साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्त्व दिने, माक्र्सवादबाट प्रभावित साहित्य–सिद्धान्त; यथार्थवादको प्रकृतवादी शाखादेखि भिन्न अर्को समानान्तर शाखा भन्ने अर्थ बुझाउँछ ।
कुवाको पानी एकै ठाउँमा जमेर रहने हुनाले फोहोर हुन्छ तर खोलाको पानी बहिरहने हुँदा त्यो सफा हुन्छ । प्रगतिशीलता भनेको त्यही खोलाको गतिबाट निःसृत सङ्लो पानीजस्तो अग्रगामी प्रवृत्ति हो भने प्रगतिवाद यही गुणात्मक गतिशीलताको दार्शनिक सिद्धान्त हो । जुन समाज बर्सौंपहिले निर्माण गरिएका विचार र पद्धतिमा झुन्डिरहेको हुन्छ त्यो यथास्थिति हो । प्रगतिशीलता यही यथास्थितिबाट माथि उठेको वा अगि बढेको विचार हो । यस खाले विचारलाई वैज्ञानिक तथा दार्शनिक भट्टीमा खारेर निकालिएको गतिशील सिद्धान्तविशेष प्रगतिवाद हो ।

२. साहित्यमा प्रगतिशील र प्रगतिवादबीचको भिन्नता
हामीकहाँ कतिपयले प्रगतिशील र प्रगतिवादी साहित्यलाई समअर्थमा राखेर हेरेको पाइन्छ । उनीहरूमा प्रगतिशील साहित्य भन्नु नै प्रगतिवादी साहित्य हो र प्रगतिवादी साहित्य भन्नु नै प्रगतिशील साहित्य हो भन्ने भ्रम रहेको देखिन्छ । नेपाली समाजमा प्रगतिशील र प्रगतिवाद शब्दलाई वामपन्थीहरूले प्रयोग गर्ने सन्दर्भमा हेरिएको छ । अन्ततः यी दुबै शब्द कम्युनिस्टलाई बुझाउने जार्गनका रूपमा नेपाली बुर्जुवाहरूले बुझेका छन् । प्रगतिशील साहित्यलाई जनसाहित्य, जनवादी साहित्य, जनपक्षीय साहित्य वा लोकतान्त्रिक साहित्य आदिका नामले पनि पुकारेको पाइन्छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि धेरै विषयक्षेत्रमा प्रगतिशील शब्दको प्रयोग भने हुने गरेको पाइन्छ । प्रगतिशील चिन्तनले समाजलाई प्रगति गर्न नदिने रूढ बनेर बसेको व्यवहार, मान्यता र पद्धतिको विरोध गर्दै तत्समयानुकूल नियम र मान्यताको स्थापनाका लागि आवाज उठाउँछ । साहित्यका सन्दर्भमा यिनै मान्यतालाई लिएर अगि बढेको साहित्यिक प्रवृत्ति प्रगतिशील धार हो ।

प्रगतिशील साहित्य भनेको यथास्थितिबाट माथि उठेको सुधारात्मक अग्रगमनकारी चिन्तनबाट प्रेरित साहित्य हो । समाजका सडेगलेका विचार, पद्धति र व्यवहारबाट विमुख भई यथास्थितिभन्दा माथिबाट अगाडि बढ्ने सोच प्रगतिशील साहित्यले राख्दछ । प्रगतिशील साहित्यमा जीवनप्रतिको प्रस्ट दृष्टिकोण नहुन सक्छ तर यो यथार्थको गतिशील चेतनाबाट उत्प्रेरित भइरहेको हुन्छ । यो आलोचनात्मक यथार्थवादको निकटतासम्म पुग्न सक्छ तर जीवनका आशा–निराशा, प्राप्ति–असफलता, संघर्ष–पलायनताका द्वन्द्वको सही निकास निकाल्न नसकेर समाजवादी यथार्थवादसम्म पुग्न जान्दैन । प्रगतिशील साहित्यमा वर्गको चित्रण हुन्छ तर वर्गीय चेत हुँदैन; यसले शान्तिको आवाज उठाउँछ तर सृजनात्मक शान्तिको बाटो चिन्दैन । यसले पनि उत्पादनका कुरा उठाउँछ तर न्यायोचित वितरणप्रणालीमा अनभिज्ञ हुन्छ ।

प्रगतिशील साहित्य भनेको प्रगतिवादी साहित्यचाहिँ होइन तर यो प्रगतिवादको आधार भने हो । यथार्थको विकासशील चेतनालाई समेल्नु, शोषण र अत्याचारको विरोध गर्नु एवं मानव कल्याणकारी भावको उद्बोधन गर्नुजस्ता प्रवृत्ति यसमा पाइने हुँदा प्रगतिशील साहित्य प्रगतिवादी साहित्यको एक चरणसम्मको पूरक साहित्य हो । यसर्थ प्रगतिशील साहित्य प्रगतिवादतर्फको यात्रामा एक खुड्किलो हुन सक्दछ । निनु चापागाईंका अनुसार यथार्थवादले जीवनलाई समग्रतामा प्रस्तुत गरेको हुन्छ । यसले जीवनका विविध पक्षलाई एकअर्कामा निर्भर एवं कार्यकारण भावहरूद्वारा निर्धारित सम्बन्धसूत्रहरूको रूपमा समग्रतामा चित्रण गर्दछ; जसलाई आलोचनात्मक यथार्थवाद भन्ने गरिन्छ । यही आलोचनात्मक यथार्थवादका प्रवृत्ति र अभिलक्षण नै प्रगतिशील साहित्यका विशेषता हुन् ।

प्रगतिशीलताको मूल्याङ्कन सापेक्षतामा हुने गर्दछ । सामन्तवादी विचारका अगाडि पुँजीवादी सोच र चिन्तन पनि प्रगतिशील हुन्छ । ईश्वरवादी हुँदाहुँदै पनि शोषण र अत्याचारको विरोध गर्ने मानवतावादी व्यक्ति एक चरणसम्म प्रगतिशील हुन सक्दछ । यसर्थ प्रगतिशील साहित्य प्रगतिवादी साहित्यजस्तो सुस्पष्ट दार्शनिक चिन्तनबाट परिचालित भने हुँदैन । प्रगतिशील साहित्य यथास्थितिको विरोधी, जीवन र जगत्प्रति विकासशील रचनादृष्टि राख्ने र समाजकल्याणका लागि परिवर्तन चाहने शक्ति हुँदाहुँदै पनि यो कुनै निश्चित दार्शनिक सिद्धान्तका मियोमा घुमेको देखिँदैन । यसले आलोचनात्मक यथार्थवादको परिधिलाई नाघ्न नसक्ने हुँदा सुस्पष्ट वैज्ञानिक निष्कर्ष पाइनसके पनि त्यसतर्फको यात्राका लागि यो प्रारम्भिक अभ्यास हो ।

शिवदान सिंह चौहानका अनुसार प्रगतिवाद साहित्यको धारा होइन बरु यो साहित्यको माक्र्सवादी दृष्टिकोण हो । प्रगतिवादी साहित्य कार्लमाक्र्सको द्वन्द्वात्मक ऐतिहासिक वस्तुवादमा आधारित हुन्छ । यसैले जीवन र जगत्प्रति यसमा प्रस्ट दृष्टिकोण पाइन्छ । यसले सामन्तवाद, पुँजीवाद र साम्राज्यवादका सबै रूप र विचारको विरोध गर्दछ । ईश्वरवादप्रति विश्वास नरहेको प्रगतिवाद सम्पूर्ण धर्मसम्प्रदायको विरोधी हुन्छ । समाजका सम्पूर्ण शोषण, अत्याचार, वर्गीय विभेद, अमानवीय व्यवहारको यसले विरोध गर्दछ । यसले अन्तर्राष्ट्रिय मानवतावादमा विश्वास गर्दछ । कलालाई श्रमजीवीको पक्षधरतामा राखेर हेर्ने प्रगतिवादले जीवनलाई संघर्षका रूपमा स्वीकार गर्दै सधैँभरि आशावादी हुन प्रेरित गर्छ । विनाशकारी सम्पूर्ण युद्धहरूको अन्त्य र समृद्ध मानवजीवनको उपासना यसले गर्दछ । व्यक्तिको सर्वाङ्गीण विकासमा चासो दिने प्रगतिवादले शोषण, सम्पूर्ण विभेद र वर्गविहीन समाजको परिकल्पना गर्दछ । यसले विकृति र विसंगतिको ध्वंस गरी नवीन र समतामूलक समाजको निर्माण गर्दछ । अन्ततः साम्यवादी समाजनिर्माणको गन्तव्य यसको मूल ध्येय हो ।

प्रगतिवादी साहित्य वैज्ञानिक समाजवादको पक्षधर हुन्छ । प्रगतिवाद शब्द साहित्यका क्षेत्रमा मात्र प्रयोग गरिएको देखिन्छ । प्रगतिवादी साहित्यले व्यक्ति र समाजको उत्थानका लागि बल प्रदान गर्दछ । यसले सामाजिक यथार्थको चित्रण गर्दै हामीले बाँचेको समाजका राम्रा र नराम्रा दुबै कुराको चित्रण गर्दछ । साहित्यमा असल कुराको मात्र चित्रण गरियो भने त्यो आदर्शवाद हुन्छ र खराब कुरामात्र चित्रित भयो भने त्यो नग्नयथार्थ हुन्छ । प्रेमचन्दका अनुसार यथार्थ भनेको केवल प्रकाशमात्र पनि होइन र केवल अन्धकारमात्र पनि होइन, यो त अन्धकारभित्र लुकेको उज्यालो पनि हो र उज्यालोका पछाडि रहेको अँध्यारो पनि हो । प्रगतिवादले हाम्रो समाजलाई अन्धकारग्रस्त तुल्याउने कारकहरूको पहिचान गराउँछ र त्यसबाट कसरी मुक्त हुने त्यसको बाटो सिकाउँछ । यसको प्रेरक विचार माक्र्सवादी सिद्धान्त हो । यसले शोषणका विरुद्ध शोषितहरूलाई चेतनशील गराउँदै संगठित गर्ने काम गर्दछ । यसबाट उनीहरूलाई आफ्ना अधिकारका निम्ति समवेत् शक्तिमा विश्वास गर्न बल पु¥याउँछ । प्रगतिवादले सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध लड्न उत्प्रेरित गर्दछ ।

निनु चापागाईंकै अनुसार समाजमा आमूल परिवर्तन ल्याउने सामाजिक शक्ति आम श्रमजीवी जनता हुन् भने आमूल परिवर्तनको प्रयत्नको मूल केन्द्रचाहिँ आर्थिक, राजनीतिक संघर्ष हो । यिनै सामाजिक शक्ति र संघर्षलाई बल पु¥याउने साहित्यिक मान्यता नै प्रगतिवादी साहित्य हो । माक्र्सवादले यही मान्यताको अन्वेषण र पृष्ठपोषण गरेको हुँदा डा. नगेन्द्रका अनुसार माक्र्सवादको साहित्यकरण नै प्रगतिवाद हो । यसैले प्रगतिवादमा ईश्वर, रहस्य, प्रकृतिको निरपेक्ष सौन्दर्य, वैयक्तिक प्रेम र विरहलाई कुनै स्थान छैन । शोषणका कारक तत्त्वहरूको पहिचान र तिनको विरोध गर्नु, समानताप्रति बल पु¥याउनु, मानववादप्रति आस्था जगाउनु, धर्म र ईश्वरप्रति अनास्था प्रकट गर्नु, यथार्थ दृष्टिसहित लोकजीवनको चित्रण गर्नु, श्रम सौन्दर्यको नवीन परिभाषा दिँदै भाषिक सरलता र सुस्पष्टता प्रस्तुत गर्नु प्रगतिवादका मुख्य प्रवृत्तिहरू हुन् ।

३. निष्कर्ष
प्रगतिशील साहित्य हिजोआजदेखि लेख्न सुरु भएको होइन । प्रत्येक युगको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक स्थितिको पृष्ठभूमिमा जुन साहित्यले गति दिन सक्यो त्यही नै प्रगतिशील साहित्य हो । आदिम साम्यवादी युगका तुलनामा दासप्रथा प्रगतिशील थियो, दासप्रथाका तुलनामा सामन्तवाद प्रगतिशील देखाप¥यो, सामन्तवादका तुलनामा पुँजीवाद धेरै प्रगतिशील छ । अब पुँजीवादलाई उछिनेर समाजवादमा जाने चिन्तन आजको प्रगतिशीलता हो ।

प्रगतिशील साहित्यकारका माझ प्रगतिवादी साहित्यकार अट्न सके पनि प्रगतिवादी साहित्यकारका वृत्तभित्र छिर्न प्रगतिशील साहित्यकार परिपक्व भइसकेको हुँदैन । बरु सचेत प्रगतिवादीहरूमा प्रगतिशीलहरूलाई क्रमशः प्रगतिवादतर्फ रूपान्तरण गर्ने उत्तरदायित्व रहन्छ । प्रगतिशील साहित्यकार जब माक्र्सवादी चिन्तनबाट अभिव्यक्त हुन थाल्दछ अनि प्रगतिवादी साहित्यकार हुन पुग्दछ । वाम अनुरागीहरू प्रगतिशील वृत्तको आरनमा खारिएर मात्रै प्रगतिवादी हुन सक्दछन् । यसप्रकार प्रगतिशील साहित्यिक वृत्त यस्तो एउटा चौतारी हो जहाँ साहित्यकारहरूले आफूलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी ज्ञानले दीक्षित तुल्याउन सके प्रगतिवादी राजमार्गमा फड्को मार्दै अगि बढ्न सक्दछन् ।

प्रगतिशीलता देशीय र कालीय हुन्छ तर प्रगतिवाद सार्वदेशीय र सार्वकालिक हुन्छ । प्रगतिवाद स्पष्ट दार्शनिकता बोकेर मानवतावाद र समतामूलक समाजको निर्माणका लागि चिन्तनशील साहित्यिक मान्यता हो । प्रगतिवादी साहित्य विश्वभरि श्रमजीवी जनताको सांस्कृतिक आन्दोलन भएर अगि बढेको छ । यो कतै स्वाधीनताको लडाइँका लागि हतियार बनेको छ; कहीँ वर्गीय, लिङ्गीय, वर्णीय, जातीय उन्मुक्तिको साधन बनेको छ । साहित्य साधनमात्र हो साध्य त स्वयं जनता हुन् र तिनले प्राप्त गरेको सम्पूर्णता हो ।

यसप्रकार प्रगतिशील र प्रगतिवादका बारेमा भ्रम देखिनुको कारण के हो भने दुबैले यथास्थितिको आलोचना गर्दछन् र सकारात्मक नवीनताको आग्रह राख्दछन् । प्रगतिशील साहित्य समाजवादी यथार्थवादनेर पुग्ने हैसियत नराखे पनि यसको गतिशीलतालाई प्रगतिवादले सहर्ष स्वीकार गर्दछ । सारमा के भन्न सकिन्छ भने सम्पूर्ण प्रगतिवादी साहित्य प्रगतिशील हुन सक्तछ तर सम्पूर्ण प्रगतिशील साहित्य प्रगतिवादीचाहिँ हुन सक्तैन ।

शब्दसिर्जना कुञ्ज
मणिग्राम–बुटवल
२०७५।९।१८
(यो अवधारणापत्र प्रगतिशील लेखक सङ्घ, नेपाल रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्र्रस्तुत गरिएको हो ।)