प्रकाण्डको गिरफ्तारी विरुद्ध कालिकोटमा विरोध

कालिकोट/नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि उनको गृहजिल्ला कालिकोटमा विरोध सुरु भएको छ ।

नरहरिनाथ गाँउपालिका माल्कोटमा जन्मो नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि जिल्लाका स्थानीय नागरिक, सत्तरुढ र प्रतिपक्षी दलका नेता र तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय सरकारका प्रमूखहरुलेसमेत विरोध जनाएका हुन् ।

पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल र तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले सामाजिक सञल फेसबुकमार्फत प्रकाण्डको पक्राउको विरोध गरेका हुन् ।

तीनैजना तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाँउपालिकामा विजयी भएका हुन् । पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले प्रकाण्डको फोटो राखेर कडा प्रतिक्रिया दिएका छन् । ‘दुला भित्रको सर्पसँग जिस्किँदा राम्रो प्रतिक्रिया कुनै कालखण्डमा देखिएकै छैन’, उनले लेखेका छन्, ‘विनाशर्त रिहा गरेकै राम्रो ।’

तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले दमनले विस्फोट हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनी पनि नेकपा माओवादी केन्द्रबाटै नगर प्रमुखमा बिजयी भएका हुन् । यो समाचार अन्नपूर्ण डटकममा प्रकाशित छ ।