पूँजी निर्माणतिर लागुन् नेताहरु, ब्याजले जीवन धानिने छैन

विप्लव नेतृत्वको नेकपाका प्रबक्ता खड्कबहादुर विश्वकर्मा  ‘प्रकाण्ड’ले होटेल मेरी गोल्डमा पत्रकार सम्मेलन गरेर पार्टीका धारणाहरु सार्वजनिक गरे । धारण सार्वजनिक गर्नेक्रममा उनले सत्ता सञ्चालक नेताहरुको चरित्र चित्रण गर्दै उपरोक्त दैनिकीहरु पनि सार्वजनिक गरेका हुन् । विशेषगरि नेकपाका दुई मध्ये एक अध्यक्ष प्रभण्डसंग कुनै समय विश्वासपात्रको रुपमा नजिक रही सहकार्य गरेको कारणले प्रचण्डको दिनचर्या उपर माथि उल्लेखित् दिनचर्याको बेलिबिस्तार गरेका हुन् । नेताहरुको दैनिकी, उद्घाटन, भाषण, घुमफिर, महिनौ चल्ने पार्टीको आन्तरिक बैठक, स्वास्थ्य उपचारको लागि विदेशी अस्पताल धाइरहने प्रबृत्ति आदि देख्दा र समाचार सुन्दा प्रकाण्डका भनाई सोह्रैआना सही जस्तो लाग्न थालेको छ, आमजनसमुदायलाई ।

-दीपक विश्वकर्मा
अनिद्रा, चिन्ता, अजिण, छटपटाहट आदि कारणले राती अबेरसम्म निद्रा लाग्दैन । पुरा निद सुत्न नसकेपछि बिहानपखको निद्राले समयमा आँखा खुल्न दिँदैन । जति निद्राले च्यापेपनि बिहानको कार्यसूचिलाई फेलापार्न जसरी तसरी उठ्नै प-यो । अवेर लर्खराउँदै उठेपछि नित्यकर्ममा केही समय खर्च हुने भयो । नित्यकर्मपछि बिहानको ब्रेकफास्ट, पारिवारीक भलाकुसारी, आफन्त, इष्टमित्र संगको भेटघाट, स्वकीय सचिवसंग छलफल, समकक्षीसंग भेटघाट, उद्घाटन, भाषण, बैठकको तारतम्य, बैठकका एजेण्डा तय, सवालजवाफ, दिनको भोजन, केहीबेरको आराम, फेरि मिटिङ्ग वा भेटघाट, बेलुकाको नास्तापानी, पारिवारीक सहकार्य हाम्रा नेताहरुका दिनचर्याहरु हुन् । आजकालका बैठकहरुमा परापूर्वकालमा जस्तै आलोचना तथा आत्मालोचना भने हुन छाडेकाछन् । यतिबिघ्न ब्यस्त दिनचर्याको बीचमा स्वअध्ययनको समय कहाँनिर मिलाउन सक्लान् नेताहरुले ? अध्ययन भनेको एकाग्रता पनि हो । अध्ययन कितावी रटान मात्र पनि होइन, चिन्तन मनन पनि हो । चिन्तन मननले तर्क बितर्क खोज्दछ । तर्क बितर्कले निकास खोज्दछ । निकास भनेको कार्ययोजना हो । जो सर्बहिताय हुने गर्दछ ।

यी माथिका सम्पूर्ण कथनहरु आजका नेताहरुमा लागु हुने गर्दछ । यसमा देशविदेशको ब्यस्त आइजाइको त झन चर्चा नै गरिएको छैन । उपचारको नाममा विदेश यात्रा, सरकारी स्तरबाट गरिने भ्रमणको चर्चा पनि यहाँ गरिएको छैन । नेताहरुको सम्बन्धमा वैदेशीक यात्रा अपरिहार्य जस्तो भइरहेको छ । सरकार टिकाउन विदेशयात्रा, सरकार गिराउन विदेशयात्रा, वैदेशीक सहयोग भित्राउने नाममा विदेशयात्रा, सन्धिसंझौताको नाममा विदेशयात्रा, मानौ विदेशयात्राको लागि नै नेताहरुलाई जनताले चुनेर पठाएका हुन्, आजकाल नेताहरुको भ्रमणको तालिका हेर्दा त्यस्तै भान हुन थालेको छ आम सर्बसाधरणलाई ।

गत हप्ता विप्लव नेतृत्वको नेकपाका प्रबक्ता खड्कबहादुर विश्वकर्मा “प्रकाण्ड”ले होटेल मेरी गोल्डमा पत्रकार सम्मेलन गरेर पार्टीका धारणाहरु सार्वजनिक गरे । धारण सार्वजनिक गर्नेक्रममा उनले सत्ता सञ्चालक नेताहरुको चरित्र चित्रण गर्दै उपरोक्त दैनिकीहरु पनि सार्वजनिक गरेका हुन् । विशेषगरि नेकपाका दुई मध्ये एक अध्यक्ष प्रभण्डसंग कुनै समय विश्वासपात्रको रुपमा नजिक रही सहकार्य गरेको कारणले प्रचण्डको दिनचर्या उपर माथि उल्लेखित् दिनचर्याको बेलिबिस्तार गरेका हुन् । नेताहरुको दैनिकी, उद्घाटन, भाषण, घुमफिर, महिनौ चल्ने पार्टीको आन्तरिक बैठक, स्वास्थ्य उपचारको लागि विदेशी अस्पताल धाइरहने प्रबृत्ति आदि देख्दा र समाचार सुन्दा प्रकाण्डका भनाई सोह्रैआना सही जस्तो लाग्न थालेको छ, आमजनसमुदायलाई । राज्य मात्र होइन, कुनै पनि जिम्मेवार निकायको सञ्चालनको जिम्मा लिनु भनेको चानचुने कुरा होइन । नेता एकहिसावले देश र दुनियाँका हेक गतिविधिसंग अपडेट हुनु पर्दछ । विश्व परिस्थिति उपर जानकारी राख्नु पर्दछ । देश भित्र घटेका हरेका घटना संग साक्षातकार हुनु पर्दछ । विश्व अर्थब्यवस्थाको रुझानको बारेमा जानकारी राख्नु पर्दछ । जनताको जीवनस्तर उकास्ने मामलामा चिन्तन मनन् गर्नु पर्दछ । यी सब कामको लागि संभवतः हाम्रा नेताहरु स्वकीय सचिवको भर पर्दछन् जस्तो लाग्दछ । स्वकीय सचिवको सुगा रटाई वा यस मेन प्रबृति उपर भर परेर दिनभरको कार्यतालिका तय गर्ने नेताहरुले के साँच्चै देशको समृद्घिको खाका तैयार गर्न सक्लान् त ? सन्देह छ ।

बि.सं. २०२८ सालको झापा बिद्रोह तथा २०५२ सालदेखि चलेको माओवादीको दश वर्षे जनयुद्दको ब्याजले आजको सामाजिक परिवर्तको मार्गचित्र कोर्न सकिदैन । झापा बिद्रोह र दश वर्षे जनयुद्दको सारतत्व भनेको आजको डबल नेकपा बाहेक केही होइन । दुबै पार्टीले युद्द शुरु गर्नुभन्दा पहिले देखेका क्रान्तिका सपनाहरु भताभुंग भएका छन् । झापा बिद्रोहका नायकहरुका सन्तानहरु आत्मदाह गर्न विवस भएका छन् । एकाध नेताहरुको आलिशान जीवनशैली र सत्ताको सुख बाहेक क्रान्तिमा भाग लिएका सर्वसाधारणहरु उही सिमान्कृत जीवन जिइरहेका छन् । सामाजिक विभेद, आर्थिक असमानता, रोग, भोक र गरिवी जस्ताको तस्तै छन् । महिला माथि हुने विभेद, दाइजो, बोक्सी, छाउपडी, हत्याबलात्कारका रुपहरु झनपछि झन् विकराल बन्दैछन् । समग्रमा झापा बिद्रोहले के ग¥यो ? केही गरेन, मात्र केही थान नेताहरुले लामोसमय जेल बस्ने सुनौलो मौका मात्र पाएनन् जेल जीवनको बायोडाटा समेत बनाउन सफल भए । तिनै बायोडाको भरमा आज सत्ताको बुईं चढ्न पाएका छन् ।
जनयुद्दका उपलब्धी कहाँ गए ? सत्र अठार हजार होनहार देशका छोराछोरीले प्राणको आहुति त्यसै दिएका होइनन् । ०२८ सालको झापा बिद्रोह, ३६ सालको जनमत संग्रह, ४८ सालको बहुदलीय शासन ब्यवस्थाको पुनस्र्थापनले पनि गर्न नसकेका कामलाई फत्ते गर्न जनयुद्ध शुरु भएको थियो सायद । दश वर्षसम्म देश रक्तरंजित बाटोबाट गुज्रियो । हरेक बिहान, हरेक साँझ सरकारी वा युद्धरत पक्षको रगतको खोलो बगेको समाचार सुनेर बिते । जो मरेपनि गरिव जनताका छोराछोरी थिए । एकाध घटनामा बाहेक दुबै तर्फका उपल्लोस्तरका नेता वा कमाण्डरहरुको सहादतको खबर सुन्नु परेन । एउटा गरिब राज्यबाट एकआङ्ग न्यानो, एकओत बास र एकगास पाकोआटोको लागि मृत्युको मुखमा होमियो । अर्को गरिब सयो हजारौं वर्षदेखि राज गरिरहेको सामन्तको सुखको बचावटको लागि गोली थाप्न तयार भयो । बिडम्बना, समापन यस्तो भयो की आफ्नै गल्तीले नासको कगारमा पुगेको राजतन्त्रको अवसान बाहेक कुनै उपलब्धी हुन सकेन ।

जनयुद्धमा होमिएर शरिरभरी गोलीका छर्रा बोकेका योद्धाहरु आज मध्यपूर्वका देशहरुमा पसिना बगाइरहेका छन् । बन्दुकको नाललाई सिरानी बनाएर निदाएका छोरीचेलीहरु अरवी सेखका कामुक आउभाउ, बलात्कार, अपमान सहेर रेमिटान्स कमाउन बाध्य छन् । दैनिक दर्जनको हिसावले लासहरु एयरपोर्टमा आगमन हुन्छ । ती लासहरुमा कयौ जनयुद्धका योद्धाहरु समेत रहने गरेका छन् । सामाजिक सांस्कृतिक रुपान्तरण हुन सकेन । किनकी नेताहरुले यस सम्बन्धमा कुनै पहल नै गरेनन् । दर्शन, सिद्धान्तलाई कुम्लो पारेर नेताहरु भैसीपुजन र आरति उतार्दै हिँडे । भन्न सकिन्न अव, निकट भविष्यमै हाम्रा होनहार नेताहरु आखत हेराउन धामीझाक्रीकोमा जान पनि सक्छन् । वामपन्थीहरुको प्रचण्डमतबाट चुनिएकी सम्माननीय राष्ट्रपतिले आफ्नो हिलो तलवको रकम पशुपति मन्दिरमा चढाउनु सिद्धान्तप्रतिको गद्दारी बाहेक केही होइन । जनताहरुले नेताहरुबाट विकास र समृद्धिको मात्र आशा गरेका हुँदैनन्, तदनुसार आचरणको पनि आशा गरेका हुन्छन् । किनकी नेताको ब्यवहार, आचरणसंगसंगै जनताहरुको ब्यवहार, आचरण प्रतिबिम्बन भएको हुन्छ । राष्ट्रपतिले आफ्नो पहिलो तलव पशुपतिमै बस्ने बृद्धाश्रमलाई दान दिएको भए, एउटा दृष्टान्त बन्ने थियो । र आगामी पिडीलाई पनि मार्गप्रसस्त हुने थियो ।

जनताको जीवनस्तरको गुणात्कम उकास नै समृद्धिको पहिलो सर्त हो । यी सर्तहरु अनेक छन् । राजनीतिशास्त्रीहरुले यी सब सर्तहरुबारे जानकार हुनु पर्दछ । सहरका अग्ला घरमात्र समृद्धि होइनन् । नेताको दिमागमा सहरको पुछारमा झोपडी बनाएर चिडीमारहरु पनि बस्छन् भन्ने हेक्का हुनु पर्दछ । बिहान बिहान कोखिलामा हात च्यापेर सहरका साहुहरुको जुठेल्नामा भाडा मस्काउन आउने गरिवहरु पनि सहरका अंग हुन् भन्ने कुराको हेक्का नेतालाई हुनु पर्दछ । पाँचतारे होटेलमा नेताको थालीमा पस्किने रायको साग मौसमको भरमा तरकारी खेतीगर्ने किसनको पसिना हो भन्ने हेक्का नेतालाई हुनु पर्दछ ।

माथिका फेहरिस्तहरु मनन् गर्दा प्रकाण्डका कुरा सतप्रतिसत सही हुन जस्तो लाग्दछ । सत्तामा बिराजमान नेताहरु झापा तथा दश वर्षे जनयुद्धको रापमा यतिमग्न छन् की अध्ययन मनन गर्न छोडिसकेका छन् । उनीहरु किताव छुदै छुन्नन् । पत्रिकाको सम्पादकीय कहिल्यै हेर्दैनन् । पत्रिकामा छापिएका भित्री समाचार हेर्ने त झन् कुरै भएन । अध्ययन मनन गर्ने भए त, घामजस्तै छर्लङ्ग निर्मलाको बलात्कार र हत्याको घटना यतिलामो समय तन्किने थिएन । विकास र समृद्धिको फर्मुला सिंहदरवार वा बालुवाटाको बैठकको एजेण्डा उपर भन्दा पप्पु लगायत नेताका घरबेटी ठेकेदारका कर्तुतसंग जोडिएका छन् भन्ने कुरा नेताले बुझेको खै ?
यी सबै छिद्रहरुमा हावा भर्ने मौका विरोधीहरुलाई दिइरहेका छन् नेताहरुले । हावा मात्र हावा होइन । बल पनि हो । हावाको चापको बल बहुतै खतरनाक हुन्छ । नेताहरु कक्टेल छोडेर अध्ययन, मनन र चिन्तन तर्फ लागुन् । त्यो पनि समय रहँदै ।
साभारः लुम्बिनी दैनिक

Cartun:- kantipur daily