पुरा होलान् सहिदका सपना ?

सुमन नेपाली-नेपालमा परिवर्तनको आन्दोलन जारी छ । २००७ सालदेखि चलेको आन्दोलन, ०२८ सालको झापा विद्रोह, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन, २०५२ फागुन १ गते माओवादी जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन, आदिवासी जनजाति, मधेश आन्दोलन हुँदै संसदीय निर्वाचन प्रतिरोधी अभियानसम्म आइगुग्दा हजारौंको संख्यामा नेपाली जनताका वीर योद्धाहरुले वलिदान गरेका छन् ।

संसदीय गणतन्त्रको घोषणासम्म आइपुग्दा राष्ट्र, मुक्ति र परिवर्तनका खातिर बलिदान गर्ने सहिदहरुको सपना भने अलपत्र परेका छन् । हरेक दशकमा हुने आन्दोलनको तुलनामा ०५२ सालमा सुरु भएको महान जनयुद्ध सवैभन्दा युगान्तकारी अभियान थियो । यो अन्य मुक्ति आन्दोलन भन्दा भिन्न प्रकारको आन्दोलन बन्यो । यस आन्दोलनमा मात्रै १७ हजार नेपाली होनहार योद्धाहरुले जीवन आहुती दिए ।

अहिलेसम्म हजारौं वेपत्ता छन् त्यत्तिकै संख्यामा घाइते अपाङ्ग छन् तर जसको जगमा नेपालमा लामो समयदेखि नेपाली जनतामाथि शासनसत्ता थोपरिएको राजतन्त्र अन्त्य भयो र गणतन्त्र घोषणा गरियो । तर ती महान सहिद तथा लाखौं नेपाली मजदुर किसान तथा उत्पीडित वर्ग भने निरन्तर ठगिदै आएका छन् । सहिदहरु अपमानित हुँदै आएका छन् र उनीहरुको सपनाहरु अलपत्र परेका छन् ।  आखिर यस्तो किन भयो ? के संसदीय व्यवस्थाबाट सहिदहरुको सपना पुरा हुन सक्छ ? यी गम्भीर प्रश्नहरुको जवाफ आज हामीले खोज्न जरुरी छ । ती सहिदहरुलाई स्मरण गर्नु र क्रान्तिकारीहरुले नयाँ शिराबाट दृढ सोंच र अठोटका साथ उनीहरुको सपना पुरा गर्न क्रान्तिलाई नयाँ उचाइँमा पुर्याउन आवश्यक छ ।

सहिद, सपना र आदर्श
यो संसारमा आम मान्छेहरुको प्रिय चीज भनेको उसको भौतिक शरिर अर्थात् जीवन हो । जीवनभन्दा मूल्यवान अरु हुन सक्दैन । हो, संसारमा एकथरी मान्छेहरु भौतिक सुख सुविधाका निम्ति हददर्जाको घृणित काम गर्न समेत तयार हुँदारहेछन् । जसले सिंगो आन्दोलन र सहिदका रगतलाई कुल्चेका छन् । तर समाजमा अर्को यथार्थता पनि छ । खास खास मान्छेले जीवन त्यागेर आदर्श रोज्छ । आदर्श प्राप्तिको निम्ति उसले भौतिक जीवन वलिदान गर्न तयार हुन्छ । वास्तवमा मृत्यु सवै मान्छेलाई अत्यधिक त्रास हुने गर्छ । तर कहिलेकाँही मान्छेलाई मृत्यु सामान्य लाग्छ । बरु उसलाई त्रास मृत्युको होइन आदर्श र विचारको हुन्छ । मूलतः जनयुद्धमा त्यही कुरा सुन्दर ढंगले लागु भयो ।

हो, देश दशबर्षे जनयुद्धमा हजारौं होनहार क्रान्तिकारी योद्धाहरुले आफ्नो जीवनलाई भन्दा मृत्यु र बलिदानलाई प्रिय वस्तुको रुपमा रोज्न पुगे । किनकी जनयुद्ध आफैमा सपना थियो, आदर्श थियो । जनयुद्धमार्फत नेपालमा जनवादी क्रान्ति पुरा गर्ने नेपाली क्रान्तिकारी योद्धाहरुको महान आदर्श र लक्ष्य थियो । त्यसैले हजारौं मान्छेले जीवनको सवैभन्दा प्यारो वस्तु जीवन भन्दा मृत्यु नै रोज्न पुगे । किनकी त्यो मृत्युले लाखौं जनताको जीवनमा खुशी र सुख ल्याउनु थियो । बिडम्बना ! आज जीवन र मृत्युको परिभाषा पुनः बदलिएको छ । जनता र क्रान्तिको पक्षमा लड्ने, जीवन र मृत्युको परिभाषावारे नयाँ प्रयोग गर्न खोज्ने प्रयोगकर्ताहरु आज विपरित दिशातिर हिडिरहेका छन् ।

२० औं शताव्दीका महान् क्रान्तिकारी योद्धा चे ग्वेभाराले आफ्ना सहयोद्धा मित्र फिडेल क्यास्ट्रोलाई लेखेको अन्तिम पत्रमा भनेका थिए, “क्रान्तिमा कि मुक्ति हुन्छ कि त मृत्यु ।” तर बिडम्बना ! नेपाली क्रान्तिमा न विजय भयो, न त मुक्ति । दशक जनयुद्धमा लाखौं नेपाली क्रान्तिकारी योद्धाहरुले मुक्ति या मृत्युको सपथ खाएर ठूलो बलिदान गरे । क्रान्तिको लागि धेरै मान्छेहरुले रगत, पसिना र श्रम खर्चे । तर उनी र उनका परिवारले के पाए ? आजको ज्वलन्त प्रश्न यही बनिरहेको छ । चे ग्वेभाराको भनाई अनुसार नेपाली क्रान्तिमा जनताले न मुक्ति पाए न त बिजय । बरु निराशा र अन्यौलताको थुप्रो पो देख्न पाए । आज अलमलमा परेको क्रान्तिले सहिदका सपनालाई अलपत्र परेको छ । क्रान्तिको नेतृत्व गरेको मूल नेतृत्व नै दक्षिणपन्थी फोहोरी संसदीय आहालमा डुवेपछि सहिदका सपनाहरु अलपत्र त पर्ने नै भयो । तर क्रान्तिकारीहरुले सहिदका सपना पुरा गरेर देखाउनु परेको छ । यथार्थमा सहिदका सपना पुरा गर्नु भनेको क्रान्तिलाई पुरा गरी छाड्नु हो । क्रान्तिलाई पूर्णतामा लैजानु भनेको सहिदका सपना पुरा गर्नु हो ।

सत्ताको भर्याङ सहिद
रुपन्देही रुद्रपुर निवासी सहिद बालकृष्ण काउचा मगरककी जीवन संगिनी माया काउचा मगरको पीडा सुन्ने हो भने “आज माओवादीका नेताहरु कुर्सी र सत्ताको निम्ति हानथाप गरिरहेका छन् । उनको पीडादायी भनाई छ, सहिदलाई भर्याङ बनाएर माओवादी नेताहरु बुर्जुवा सत्तामा लुछाचुडी गरिरहेका छन् ।” हुन पनि त आज माओवादी केन्द्र बुर्जुवा सत्तामा जानका लागि एमालेमा विलय हुन तयार भएको छ । पुराना मूल्य मान्यता र आदर्शलाई बेचेर उनीहरु सहिदका चिहानहरुमाथि सिंगौरी खेलिरहेका छन् । त्यसैले सहिद र सहिद परिवारजनको चित्कार र रोदनले आज विश्वासघातीहरुलाई धिक्कारी रहेको छ र खवरदारी गर्दै क्रान्तिको नयाँ झण्डा उठाएका छन् । तर ती बुर्जुवा सत्तामा विराजमान नेताहरुलाई सहिद र उनका परिवारको रोदन र चित्कारप्रति कुनै सरोकार छैन । उनीहरुको सरोकारको बिषय छ भने आफूलाई केन्द्रमा राखेर सत्ताको दुरुपयोग गर्ने । नीजि स्वार्थका लागि उनीहरु जे गर्न पनि तयार छन् । कसैले भनेको यियो, क्रान्तिकारी आन्दोलनले क्रान्तिकारी योद्धा जन्माउँछ भने बुुर्जुवा सत्ताले दलाल पैदा गर्छ । आज यसको उदाहरण माओवादी केन्द्र हो । हिजो क्रान्तिकारी आन्दोलनले हजारौं क्रान्तिकारी योद्धाहरु जन्माएको थियो । ती मध्ये केही नेताहरु वुर्जुवा सत्तामा प्रवेशसंगै दलाल बनिरहेका छन् जसको राजनीतिक नेतृत्व माओवादी केन्द्र एमालेले गरिरहेको छ । हामी यो इतिहासको नकरात्मक शृंखला देखिरहेका छौं ।

मूल्यहीन बन्दै सहिद
यतिखेर सहिद, घाइते तथा वेपत्ता परिवार र कार्यकर्ताको मन नराम्रोसंग कुँडिएको छ । कति आजित छन् सहिद परिवार, घाइते तथा वेपत्ता परिवार र जनता ! आज सहिदको मूल्यवोध छैन । अर्थात् मूल्यहीन बनाइदैछ । महान जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गरी संसदीय गणतन्त्रको घोषणा त भयो तर जनताको आधारभूत जीवनमा कुनै परिवर्तन भएन । गणतन्त्रको घोषणा सम्म आइपुग्नु महान सहिदहरुको त्याग र बलिदानको मुख्य भूमिका रह्यो तर गणतन्त्र मुटिठभर दलाल पूँजीवादीहरुको हातमा पुग्यो । अझैसम्म जनयुद्धमा सहादत प्राप्त गर्ने महान सहिदहरु राज्यको सहिद हुन सकेका छैनन् । नेपाल सरकारले उनीहरुलाई सहिद भनेर सम्मान दिन सकेको छैन । द्धन्द्धपीडितको नाममा अपमानित गरिरहेको छ । जब कि प्रचण्ड स्वयं दुईपटक देशको प्रधानमन्त्री भइसके र उनले नेतृत्व गरेको माओवादी केन्द्र ४ पटक सत्तामा पुगिसकेको छ र अव फेरी ओली नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

पूरा हुन बाँकी छन् सपनाहरु
महान जनयुद्धका सपनाहरु पुरा हुन बाँकी छन् । सहिदका सपना र तिनका अभिभाराहरु पुरा गर्नै बाँकी छन् । त्यो सपना पुरा गर्ने अभिभारा क्रान्तिकारीहरुको जिम्मामा छ । क्रान्तिलाई वेचेर खाने, जनयुद्धका मूल्य मान्यता र आदर्शलाई भुल्ने ती कुनै पनि माओवादीले सहिदको सपना पुरा गर्न सक्दैनन् र ती त क्रान्तिका खलनायक हुन्, जनयुद्धका अपराधी हुन् । क्रान्ति र जनयुद्धलाई घात गर्ने ती कुनै पनि माओवादी नेताहरु क्रान्तिकारी इतिहासको कठघरामा एकदिन जरुर उभिनुपर्नेछ । प्रत्येक जन जनका मनले सहिदका चित्कारले घाइते योद्धाहरुले रोदनले आखिर त्यही त भनिरहेको छ ।