पाँच औँलाले देखाएको दशैँ दर्शन

दशैँ जतिबेला शुरु भयो त्योबेला मानव समाजमा वर्ग विभाजन भइसकेको थियो । दशैँ युद्ध चाहे धर्म रक्षाका लागि भएको होस्, चाहे राज्य रक्षाका लागि भएको होस् आदीम साम्यवादी युगको विस्थापन पछिको दास मालिक युग शुरु भएलगत्तै वर्ग विभाजन भएको देखिन्छ । दशैँ निकै पछिबाट शुरु भएको थियो । यो कृषि युग शुरु भएपछि नै अस्तित्वमा आएको थियो भनेर यसकारण पनि भन्न सकिन्छ कि यसमा टिका लगाउँदा भनिने श्लोकमा दशरथ, अश्वस्थामा, वलराम, दुर्योधन आदिलाई समेटिएको छ । जुन पात्रहरु कृषि युगका हुन् ।

-वसन्त पोखरेल
दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पापी छुट्टै बसौँला । पाँच औँलालाई देखाउँदै भनिएको यो भनाई दशैँको दर्शन हो । सिद्धान्त, मूल्य र मान्यता हो । यो दशैं बिम्बमा निकै ठूलो साहित्य, जीवन र जगत अटाएको छ । झट्ट हेर्दा औंला देखाएर गाइने बाल गीतजस्तो लाग्छ । तर, यसले खासगरी हिन्दु समाजको सिंगो सभ्यतालाई प्रतिनिधित्व गरेको छ । दशैं आयो भनेर कान्छी औंलाले गणित पस्कन्छ । खाउँला पिउँला भनेर पाइते औंलाले जीवन जिउनका लागि चाहिने आधारभूत आवश्यकताबोध गराएको छ । कहाँ पाउँला भनेर माझी औँलाले समस्या, अभावलाई उजागर गर्छ । चोरी ल्याउँला भनेर चोर औँलाले आवश्यकता पूर्तिको लागि चोरी गर्न पनि सकिन्छ भनेर बाटो पहिलाउँछ । उसको त्यो बाटोमा हिँड्न बुढी औंला सहमत हुँदैन, चोरी गर्नुलाई पाप कर्म मान्छ र धत् पापी म त त्यसमा सहमत छैन, बरु एक्लै बस्छु भनेर अलग्गिन्छ । कान्छी औँलाको गणित, पाइते औँलाको चाहना, माझी औँलाको आवश्यकता र समस्याबोध, चोरी औँलाले अघि सारेको समाधान र बुढी औँलाको सावधानी नै अहिलेको हाम्रो समाजको यथार्थ दर्पण हो । खुल्ला चित्र हो ।

दशैँ जतिबेला शुरु भयो त्योबेला मानव समाजमा वर्ग विभाजन भइसकेको थियो । दशैँ युद्ध चाहे धर्म रक्षाका लागि भएको होस्, चाहे राज्य रक्षाका लागि भएको होस् आदीम साम्यवादी युगको विस्थापन पछिको दास मालिक युग शुरु भएलगत्तै वर्ग विभाजन भएको देखिन्छ । दशैँ निकै पछिबाट शुरु भएको थियो । यो कृषि युग शुरु भएपछि नै अस्तित्वमा आएको थियो भनेर यसकारण पनि भन्न सकिन्छ कि यसमा टिका लगाउँदा भनिने श्लोकमा दशरथ, अश्वस्थामा, वलराम, दुर्योधन आदिलाई समेटिएको छ । जुन पात्रहरु कृषि युगका हुन् । त्यसबेला कृषि, बाणिज्य, गुरुकुल शिक्षा, जातपात, शासक, शासित सबै विभाजन भएको देखाइएको छ । औँलाहरुले संकेत गरेका जुन भनाइहरु छन् ती सबै त्यस अबधिमा पनि विद्यमान थियो । लूटेराहरुको हातमा सत्ताको लगाम थियो । उनीहरुले लूट्तन्त्रलाई जनताले बैधानिक मान्नुपथ्र्यो । आफ्ना बस्तुहरु, श्रीसम्पति लुटाउनु पर्ने वाध्यता थियो । सम्पति विहीन भएपछि के खानु ? कहाँ बस्नु ? श्रम गरेर पनि खान नपुग्ने अवस्था आएपछि चोरेर पनि मानिसलाई बाँच्नुपर्ने वाध्यता थियो । जुन अहिले पनि विद्यमान छ । हुने खानेहरुको लागि दशैँ सधैँ चलिरहन्छ । हुँदा खानेहरुको लागि दशैँ दशा बनिदिन्छ । हाम्रा औँलाको दशैँ दर्शन पनि त्यहि नै हो ।

जेजस्तो भए पनि दशैँ हिन्दुहरुको लागि प्रिय पर्ब बनेको छ । सरकारले कर्मचारीहरुलाई लामो विदा र दशैँ पेश्की भनेर एक महिना बराबरको रकम दिने गरेको छ । त्यसले पनि बताउँछ कि दशैँ खानपान गर्ने, रमाइलो गर्ने पर्व हो भनेर । दशैँमा मानिसहरु दौडादौड गरेर गृहजिल्ला पुग्छन् । बुढा भएका बाबु, आमा, बाजे बज्यैसँग टिका जमरा थाप्छन् । मीठो मसिनो खानपान चल्छ । सरकारले कर्मचारीलाई त एक महिना बराबरको दशैँ पेस्की दिन्छ । त्यसरी नै बृद्ध बृद्धालाई दिइने भत्तामा एक महिना बराबरको भत्ता थपेर दिनुपर्ने हो । तर, दिँदैन । किनभने सरकार नागरिक मैत्री छैन । बृद्धबृद्धा मैत्री छैन । जनपक्षीय नहुनुको यो एउटा खुला प्रमाण हो ।
दशैँ मासुमय त भएकै थियो, आजभोलि ब्यापकमात्रामा मदिरामय बनेको छ । जुवामय बनेको छ । यसले दशैँलाई विकृत तुल्याएको छ । केही दशक अघिसम्म मादक पदार्थ सेवन गर्नेको संख्या निकै कम थियो । निश्चित समुदायमामात्र मादक पदार्थलाई मान्यता दिइन्थ्यो । तर, अहिले मादक पदार्थ सेवन गर्नु सबैजसोको लागि गर्वको विषय बनेको छ । मादक पदार्थको नसामा अनेकथरी हर्कत भइरहेका छन् । आपराधिक गतिविधि बृद्धि भएका छन् । यस्ता कार्यले समाजलाई कहाँ पुराउने हो त्यो भन्न सकिन्न । त्यसै त मुलुकको सुरक्षा प्रणाली कमजोर अबस्था छ, यी गतिविधिले असुरक्षा बढाउन सक्छ । सरकारले सुरक्षा प्रणालीलाई चुस्त बनाएको कुरा त निकै फलाक्छ तर, ब्यवहारमा त्यो चुस्त भएको पाइएको छैन । हत्या, बलात्कार, बेश्याबृत्तिले भिषण रुप लिँदै गएको छ । मादक पदार्थको तालमा सडकमा जथाभाबी गाडीहरु गुडाउँदा दुर्घटना बृद्धि भइरहेका छन् । यसले दशैँको महिमालाई वदनाम गराइरहेको छ । यस्ता कार्यलाई रोक्नु नितान्त जरुरी छ ।

कुनै समय यस्तो पनि थियो जसलाई मैले आफै अनुभव गरेको छु । दशैँमा टिका थाप्नको लागि गुरु बा भनेर हाम्रो घरमा आउनेहरुको ताँती नै लाग्थ्यो । उनीहरुले काँधमा एक घरी केरा हुन्थ्यो हातमा एक ठेकी दही उचालेका हुन्थे । घरमा झण्डै एक मुरी धानको च्युरा कुटिएको हुन्थ्यो । टिका थाप्ने जेजमानहरुलाई आमाले हरियो सालका पातको टपरीमा च्युरा, बौतो भरेर चिनी मिसाएको दही, काँक्राको चाँपेको अचारलगायतका परिकार खान दिनुहुन्थ्यो । घैंटामा चाँपेको काँक्राको अचारको प्रशंसा गर्थे खानेहरुले । च्युरा दही खान नचाहनेहरुले सेल, अर्सा, फिनी रोटी खान्थे । गुरुआमाले कति जाँगर गर्न सकेको होला भन्थे । दशैँमा हाम्रो घरमा न कहिले खसी काटिए न त कहिँबाट एक धार्नी मासु नै आयो । नितान्त साकाहारी दशैँ मनाइन्थ्यो । त्यसैमा हामी रमाउँथ्यौँ । नयाँ कपडामा सिंगारिएर आँगनमा खेल्थ्यौँ । पेट घट्न पाउँदैनथ्यो । अलिकति भोक लाग्यो कि दही केरा वा रोटी आफ्नै हातले निकालेर चाहेजति खान्थ्यौँ । झिगट (दबदबे) का हाँगालाई तरबारजस्तो बनाई मालती फूलले रंगाएर ओख्खै गथ्र्यौं । लिंगे पिंग जताततै हालिएको हुन्थ्यो । त्यसमा चढेर पिंग खेल्थ्यौँ । त्यो उतिबेलाको सात्विक दशैँ थियो ।

अहिलेको कुरा गर्ने हो भने मेरो घरमा जमरा राखेको दिन देखि नै चाहे बोइलरको आधा किलोमात्रै किन नहोस्, मासु पाकिरहेको छ । आफूलाई नचाहिए पनि छोरा नाति मासु नभए भागै बस्दैनन् । दशैँमा पनि दाल भात भनेर मुख बिच्काउँछन् । सादा खाना खाना नै हैन भन्ने मान्यता बनेको छ । साँझपख आक्कल झुक्कल सस्तो खालको किन नहोस्, मदिरा पनि चल्छ । कहाँ गयो त्यो पहिलेको सात्विक दशैँ ? दही च्युराको दशैँ एकादेशको कथा भयो । सेल, अर्सा, फिनी रोटी खान फेरि पहाडै चढ्नुपर्ने जस्तो भइसक्यो । रोटी पकाउने ढंग पहाडमै छाडियो । सम्झँदा भोग्दा अहिले अचम्म लाग्छ । तै पनि दशैँ सबैका लागि शुभ होस् । मंगलमय बनोस् । हार्दिक शुभकामना ।