पराजितहरूका आँखाबाट !

-बलराम तिमल्सिना-

विजेताहरूको आँखामा नेपाल
भव्य छ , दिव्य छ सुरम्य छ
पूर्खाको आर्जन छ वीरताको चिनो छ
टिस्टा र काङ्गडाका कहानी भन्दै गर्दा
ढुकुरे छात्ती पनि नाङ्लो जत्रै हुन्छ
विजेताहरूको आँखाबाट हेर्दा
नेपाल स्वर्गको पनि स्वर्ग छ !

हामीले आजसम्म घोकेको इतिहास
विजेताहरूको हो
यही देशमा बस्छन
वहुमत पराजितहरू
तिनीहरूलाई नेपाल कस्तो लाग्दो हो ?

राजधानी नजिकै छ-किर्तीपुर
नकट्टाहरूको देश !
त्यो किर्तीपुरलाई के लाग्दो हो ?
जसले कहिलै सोचेन
गोर्खालीको कुभलो
कहिलै पानीको मुहान थुनेन
कैलै नून तेल रोकेन
एउटा कमिलो पनि मारेन उसले
गोर्खालीहरूको !

गोर्खा दुर्गम हुनु
र किर्तिपुर सुगम हुनु
या किर्तीपूर सहर छिर्ने गौंडामा हुनु
बस , एत्ति थियो उसको अपराध !

हात उठा भन्दा नउठाउँनु
र आइलाग्दा जाइलाग्नु
एही थियो उसको अन्तिम अपराध !

मुला काटेझैं नाक कान काटिएका
किर्तीलक्ष्मीका नागरिकहरू
के सोच्दा हुन यो वारे ?
अपसोच भनौं या आश्चर्य
आजसम्म गोर्खालीले
फेर्न सकेनन तिनको दिमाग
हो, त्यो दिमागले के सोच्दो हो ?

एउटा स्वतन्त्र देशमाथि
हस्तक्षेप गर्न आउँने
गोरा फिरङ्गी भए पनि
गोर्खे भिरङ्गी भए पनि
के फरक पर्यो उसलाई ?
टाढाको बाघ दुश्मन
नजिकको बाघ मित्र हुन्छ भनेर
कुन शास्त्रमा लेखिएको छ ?

मित लगाउँछु भनेर बेसी झरेको
रेन्जिन दोर्जेको के दोष थियो होला ?
मित लगाउँने वेला टाउको काट्ने
गोर्खालीहरू कति नैतिक थिए ?
त्यो भयानक घातमा परेका
रेन्जिनका सन्तानहरू के सोच्दा हुन
जसलाई युगौं मासिन्या बनाइयो ?

यो देश जित्नेहरूको मात्र होइन
हार्नेहरूको पनि हो
म सोच्दै छु
पराजितहरूको आँखाबाट
यो देश कस्तो देखिदो हो ?

आफूले ढालफाँड गरेको जमीन
जव कसैले एका विहानै मेरो हो भन्छ
जव आफ्नै जमीनमा हलिया हुनु पर्छ
जव आफ्नै जमीनमा
अर्को नाचिरहेको हुन्छ
ऊ फिरङ्गी भए नि के
ऊ भिरङ्गी भए नि के ?

पराजितहरूको आँखाबाट
सवै लुटेराहरूको अनुहार
उस्तै देखिदो हो
अर्थात एक लुटेरा देखिदो हो !

२०७५|०८|२९
सुवर्ण चोक, भक्तपुर